लामो समयदेखि हङकङबस्दै आइरहेका पोखरा निवासी कुलप्रसाद गुरुङ छुट्टीमा नेपाल आएका थिए । छुट्टी सकिएर हङकङ फर्कनै लाग्दा उनी नेपालका यादहरुसँगै पोको पारेर कोसेली लग्दै थिए जेरी र लाखमरी । जहीँतहीँ पाइने जेरी र लाखमरी थिएनन् यी । यी त थिए, भीमसेन टोलको एकमीठाइ पसलमा पाइने विशेष खालको ‘भुत्तेको जेरी’ । उनलाई त्यहीस्वाद लिनु थियो, जुन उनको जिब्रोमा दशकौं अघि गडेको थियो । त्यसैले त उनको कोसेलीको पोकोमा कहिल्यै यहाँको जेरी र लाखमरी छुट्दैनन् ।
पोखरामा अवस्थित भीमसेन मन्दिर दुईचार घरमाथि दाहिनेपट्टि एउटा पुरानो दुई तलाको घर छ । बार्दली निकालिएको त्यस घरमा बिहानपख मान्छेको भीडभाड बाक्लै देखिन्छ । घरभित्र त्यति भव्य सजिसजावट छैन । छन् त केवलदुई–तीनवटा चुलाहरु, धुँवा बाहिर निस्कने चिम्नी र केही थान टेबल र कुर्चीहरु । मात्र त्यति ।
घरभित्र चुल्याजु परिवारका चार सदस्यहरु विभिन्न परिकारका मीठाइ तयार पार्न व्यस्त देखिन्छन् । सबैलाई भ्याइनभ्याइ छ । राजकुमार तेल तातेको ठूलो कराइमा फुलबुट्टै जेरी बनाउँदै छन् । उनका श्रीमती दयालक्ष्मी तयार पारेको जेरीमा चिनीको रस मिसाउँदै थिइन् भने छोराछोरी मीठाइ लिन आउनेहरुसँग व्यस्त थिए ।
अन्यत्रपनि पाइने विभिन्न परिकारका मीठाइहरु चाख्न यहीँ मात्र आउनुको कारण बुझ्न विगतमा फर्कनु पर्ने हुन्छ । राजुकमारका बुबा युवा अवस्थामा लाहुरे हुन भारत पुगेका थिए । भारतबाटै उनी म्यानमार अर्थात बर्मा छिरेका रहेछन् । चार– पाँचवर्ष त्यहीँ रहँदा उनले विभिन्न पाककलाहरु सिके । लाहुर हिँडेको केटोनेपाल फर्केर मीठाइ पसल थापे । यो कुरा १९९० सालतिरको थियो । बुबाले २७ सालसम्म त्यहीँ पसल चलाइरहेका थिए । बुबाबाट उनले ती पाककलाहरु सिकिसकेका थिए । बुबाको मृत्युपछि भने त्यो जिम्मेवारी उनले सम्हाले । र निरन्तर समालिरहेका छन् हालसम्म ।
उनका बुबा सिद्धिलाल चुल्याजुलाई सबै त्यसबेला भुत्ते साहु भनेर चिन्दथे । त्यहीभनेर नामै रहन गयो‘भुत्तेको जेरी पसल’। आज त यो नाम ब्रान्ड बनिसकेको छ । उति बेलै यी मीठाइहरुका स्वाद कति प्रसिद्ध थिए भन्ने बुझाउनउनी २०१५ को त्यो घटना सुनाउँछन्, ‘२०१५ सालमा राजा महेन्द्र पोखरा भ्रमणमा आएका थिए । राजाकै स्वागतका लागि विभिन्न स्वागतद्धारहरु बनाइएका थिए । एउटा स्वागतद्धार भने बुबाले बनाएका थिए । जसमा थिए, विभिन्न डिजाइनका मीठाइका परिकारहरुको झकिझकाउ । राजालाई यो औधी मन परेको थियो । मीठाइ चाखेर हेर्दा राजा यति प्रफुल्लित भए कि उनले पछि रत्नमन्दिरमा बुबालाई मीठाइ बनाउन समेत बोलाएका थिए । राजाकै हातबाट सम्मान स्वरुप बुबाले बक्सिस पनि पाएका थिए ।’
उनको बुबाको पालामा जेरीको जुन स्वाद गडेको थियो जिब्रोमा, आज पनि त्यहीँ स्वाद खोज्दै यहीँ आइपुग्छन् मान्छेहरु । पोखरा आसपासका मान्छेहरु मात्र हैनन्, घुम्न आउँदा अन्य जिल्लाका मानिसहरु पनि यहाँ पस्न छुटाउँदैनन् । अनि छुटाउँदैनन् रसिलो जेरीले मुकै रसमय बनाउन । आफू मात्र चाख्दैनन्, सँगै अरुलाई कोसेलो पोको पारेर लाने गर्दछन् ।
‘भुत्तेको जेरी’ ब्रान्ड हो । योसँगै भिन्न स्वादमा तयार हुन्छन्, लाखमरी, ऐठे, खस्ता, लालमोहन आदि मीठाइहरु । दसैं, तिहार जस्ता चाडपर्वमा मात्र हैन, बिहेबारी एवं नेवारीका विभिन्न पाठपुजामा यहीँबाट सेलरोटी, फिनी र अनरसा किनेर लान्छन् । चाडपर्वमा झन् भ्याइनभ्याइ हुन्छन् उनीहरु ।
‘पहिला पहिला त घिउमै पोल्थ्यौं जेरी,’ राजकुमार थप्छन्, ‘त्यसपछि खाटी महमा डुबाएपछि एक फरक स्वाद थपिन्थ्यो । अहिले त घिउ महंगो भयो । त्यसैले आजकल हामी तेलमै पोल्छौं,जेरी । महको सट्टा चिनीको रस नै थप्छौं तर स्वाद भने सकेसम्म उस्तै कायम गराएका छौं । अन्य ठाउँमा झैं रङहरु पनि मिसाउँदैनौं । यहाँको जेरी बनाउने पद्दति, विधि, त्यो फूलबुट्टे आकार र अरुको तुलनामा साइज पनि ठूलो नै हुन्छ । हेर्दै खाउँखाउँ लाग्ने । त्यसैले त ग्राहकहरु फर्कीफर्की आउँछन्।’
बिहानैबाट खटिन्छन् उनको सिंगो परिवार । कुनै सहयोगीहरु राखेका छैनन् । छोराछोरीले पनि केही सिकून् भनेर उनीहरुलाई यसैमा आवद्द गराएका छन् । ब्याचलर पढ्दै गरेका उनीहरु फुर्सद मिल्यो कि बाआमालाई काम सघाउन थाल्छन् । काम मात्र हैन, कामसँगै सीपहरु पनि सिक्छन्,उनीहरु ।
प्राय शनिवार मानिसहरुको भीडभाड बढी हुन्छ । कोभिड महामारीले भने उनको व्यापार केही खल्बलिएको छ । पहिला दैनिक १० हजारभन्दा बढी हुने व्यापार अहिले पाँच–छ हजारमा खुम्चिएको छ । तर पनि खुसी नै छन् उनको परिवार । पक्कै समय सहज बन्दै जाला, आशावादी छन्,उनीहरु ।
पसल चिनाउने कुनै साइन बोर्ड टाँसेका छैनन् उनीहरुले । न त कुनै ब्यानर नै झुन्डाएका छन् बाहिर । ‘हामीले साइन बोर्ड जानीजानी नटाँसेका हौं, ‘राजकुमारकी श्रीमती दयालक्ष्मीले थपिन्, ‘सबै खोजी खोजी आउँछन् । वरपरका घरहरुमा सोध्दै र खोज्दै यहाँ आइपुग्छन् । त्यसरी खोज्दै आएर जेरी चाख्न पाउँदा झन् छुट्टै सन्तुष्टि मिल्छ, उनीहरुमा ।’
व्यापारमा छोटो समयमै उपलब्धी मिल्नेहरु फुर्केर धरातललाई बिर्सेर माथि उफ्रन्छन् । व्यापारको क्षेत्रलाई फराकिलो बनाउँदा त्यो पुरानो स्वाद गुमेसँगै ग्राहकहरु गुमेका धेरै उदाहरणहरु छन् । चुल्याजु यहीँ एकसय वर्ष पुरानो पसलमै रमाइरहेका छन् । सन्तुष्टि छन् । पुर्खाहरुको थातथलोमै पौरख गरिरहेका छन् । त्यहीँ पुर्खाका पदछापहरु पछ्याउँदै छोराले पनि यहीँ पेशालाई निरन्तरता गरोस्, उनलाई लाग्छ । पहिला यहीँ ठाउँमा दुई तीन वटा यस्तै मीठाई पसलहरु थिए । अहिले केवल यहीँ एउटा मात्र बाँकी छ । त्यसैले उनी बाँचुन्जेल यसैमा लागि पर्ने संकल्प गरेका छन् ।
यस्तै पाककलाहरु अरुलाई सिकाउन पाए, उनी सधैं घोत्लिरहन्छन् । युवाहरु इच्छुक भए उनी सिकाउन सधैं तयार छन् तर रहर कसको ? उमेर पुगेपछि सबै विदेश भासिने चलन देख्दा उदेग लाग्दो हो उनलाई । त्यसैले त उनमा डर छ, यसरी नै सबै विदेश पलायन भए हाम्रो मौलिक पेशा, चालचलन र परम्परा पनि मासिदै जान धेरै लाग्दैन ।भुत्तेको जेरी पसलको भविष्य बारे पनि चिन्तित छन् उनी । छोराले यसैलाई निरन्तरता देओस्, उनलाई लाग्छ ।
परिवारको घरखर्ची, छोराछोरीका लागि पढाइ खर्च यसैले धानेको छ । उनीहरुले पसललाई मात्र निरन्तरा दिइरहेका छैनन्, सँगै जीवन्त बनाइरहेका छन् चुल्याजुको परम्परा । विन्ध्यवासिनी, भैरवटोल क्षेत्रहरुमा मौलिक घरहरु भत्काएर अग्लाअग्ला भवनहरु ठडाउने होडबाजी चलिरहँदा उनीहरु भने पुरानै घरलाई मर्मत गरेर त्यसैमा परम्परागत पेशालाई धान्दै छन् । उनको जस्तै सोच अरुमा पनि पलाएको भए विन्ध्यवासिनी, भैरवटोल र भीमसेन टोल क्षेत्रले आफ्नो मौलिकता जीवन्त बनाइरहन सक्थ्यो । र यो क्षेत्र बन्न सक्थ्यो, जीवन्त संग्रहालय ।





