शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

अक्सिजन बेलैमा नदिँदा छटपटाउँछन् बिरामी !

अक्सिजन बेलैमा नदिँदा छटपटाउँछन् बिरामी !

अस्पतालका निर्देशक भन्छन् – गल्ती बिरामीकै हो ।


  • विजय नेपाली
  • साउन १२ २०७८, मंगलबार

पोखरा, १२ साउन– स्याङ्जाकी ६० वर्षीया वृद्धालाई साउन ४ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याइयो । साउन ३ गते स्वास्थ्यमा समस्या आएपछि जिल्ला अस्पताल स्याङजा ल्याइएपनि उनलाई पोखरा रेफर गरियो ।
थाइराड, उच्च रक्तचाप र निमोनिया देखिएको ती महिलालाई अस्पतालले उपचार गर्न नसक्ने भन्दै पोखरा पठाएको थियो । पोखरामा उपचारका क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भयो । स्वास्थ्यावस्था गम्भीर भएपछि अक्सिजन दिनुपर्ने अवस्था आयो ।
निरन्तर अक्सिजन लगाउन पर्ने ती महिला आइतबार अक्सिजन नपाएर छट्पटाइन् । तर, अस्पतालमै अक्सिजनको अभावैले अक्सिजन नपाएकी भने होइनन् । उनलाई अक्सिन फेरिदिने कर्मचारी अभाव भएपछि उनी त्यसरी छटपटाउनु परेको हो ।
आफूलाई अक्सिजन अभाव भएपछि ती महिलाले त्यहाँ कार्यरत स्वस्थ्यकर्मीलाई खबर नगरेको भने होइनन् । तर, स्वास्थ्यकर्मीलाई बोलाउँदा पनि बेवास्ता गरेको उनको आरोप छ । ‘कोही केहि लेख्दै थिए । कोही मोबाइल चलाउँदै थिए त कोही यसै बसिरहेका थिए,’ उनी भन्छिन्, ‘कसैले लेख्दैछु, पिपिई लगाएको छैन भनेर पनि जवाफ दिए ।’
ती महिलालाई अक्सिजा अभाव भएर अवस्था गम्भीर हुन थालेपछि छेउँकै अर्को संक्रमितको अक्सिजन लगाउनु परेको थियो । अरुको अक्सिजन लगाएपछि ती संक्रमितका कुरुवाले विरोध गरे । हल्लाखल्ला मच्चिएपछि अर्का संक्रमितका कुरुवाले भिडियो नै बनाए । तर, स्वास्थ्यकर्मीले भिडियो फाल्न भन्दै थर्काए ।
‘स्याङ्जा अस्पतालमा बरु राम्रो उपचार भएको थियो । हामीलाई भित्रसमेत छिर्न दिएको थिएन । यहाँ त आफूले नगरी केहि हुँदैन,’ ती संक्रमितको महिलाले भनिन्, ‘हामीलाई केही आउँदैन । हिजो अक्सिजन सकियो सिस्टरलाई भनेको हामी त आउँदैनौ भने अनि उता पट्टिको दिदीको अक्सिजन लगाएर राख्यौं ।’ उनले अक्सिजन नपाएर सासु निकै आत्तिँदा पनि स्वास्थ्यकर्मीबाटै ‘भगवानको नाम जप्न’ भनेको बताइन् ।
तनहँुबाट पेटको समस्या भएर आएकी १८ वर्षीय किशोरीको अझै भिडियो एक्सरे हुन सकेको छैन । खाना खाएपछि पेट दुख्ने समस्या निस्किएपछि उनलाइ अस्पताल भर्ना गरिएको थियो । पहिले उनलाइ तनहुँकै अस्पतालमा राखिएपनि राम्रो उपचारका पोखरा ल्याइयो । उपचारकै क्रममा उनलाई पनि कोरोना संक्रमण पुष्टि भयो ।
ती किशोरीलाई अक्सिजनसहित राख्न पर्ने बाध्यताकै कारण आइसोलेसनमा राखियो । ‘बहिनीलाइ राम्रो इलाज गर्न ल्याएको थिए । अझै इलाज हुन सकेन,’ किशोरीका दाजुले भने, ‘पेटको भिडियो एक्सरे गर्न प¥यो भन्दा डाक्टरले सिफारिस नै गर्दैन । जतिबेला पनि सहन नसकेर कराउँछिन् । म केही गर्न सक्दिनँ अयाँ दुख्यो भन्छिन् हेरेर मात्र बस्छु ।’ डाक्टरले जाँच नगरेको कारण निकै समस्या हुने गरेको उनले बताए ।
बिरामीकै गल्ती : निर्देशक
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक भरत खत्रीले भने बिरामीहरुको गल्ती भएको बताएका छन् । उनले केही बिरामीले आफूहरुले भनेको जस्तो सुविधा नपाएपछि आरोप लगाएको दाबी गरे ।
‘आफूले भने जस्तो नभएर हो । सबै वार्ड राम्रो छन् के रे !’ निर्देशक खत्रीले भने, ‘सबै वार्डमा इन्चार्ज छन् । सबै ठिक छ भन्छन् । अनुगमन जादाँ राम्रै देखिन्छ । बिरामी आफैं जान्ने भएर अक्सिजन चलाउँछन् ।’

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->