बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बनिनसक्दै भाइरल ‘ट्रिहाउस’

बनिनसक्दै भाइरल ‘ट्रिहाउस’

घरको फिनिसिङ भइनसक्दै पर्यटकको घुइँचो, समाजिक सञ्जालमा भाइरल ।


  • विनोद ढुंगाना
  • साउन १२ २०७८, मंगलबार
ट्रि हाउस घुम्न आएका आन्तरिक पर्यटक । तस्वीर : विनोद ढुंगाना

तनहुँ, १२ साउन– म्याग्दे गाउँपालिका २ ज्यानटाङ सामुदायिक वनस्थित थुम्काइलो डाँडो । पृथ्वी राजमार्ग नजिकैको डाँडोमा चिलाउनेको रुखमाथि बनेको चिटिक्क काठको घर । २ स्टेपमा बनाएको छानोसमेत काठैको भएको यो घरलाई नाम दिइएको छ, ट्रि हाउस ।
अहिले सामाजिक सञ्जाल फेसबुक र टिकटकमा ‘ट्रि हाउस’ भाइरल बनेको छ । हरित पार्कसहित बनेको ‘ट्रि हाउस’ पर्यटकीय गन्तव्यको रुपमा विकास भएको छ । देशका विभिन्न जिल्लामा रुखमाथि बनाइएका घर चर्चित बनेका छन् । म्याग्देमा बनाइएको यो ‘ट्रि हाउस’ तनहुँमा भने पहिलो हो । तसर्थ यहाँ घुम्न आउने पर्यटक बढ्दै गएको छन् ।
दैनिक २ सय बढी पर्यटक ‘ट्रि हाउस’ घुम्न आउने गरेको ज्यानटाङ सामुदायिक वनका अध्यक्ष ईश्वरबहादुरले रानाभाटले बताए । ‘घरको फिनिसिङ भएको छैन । उद्घाटन पनि नहुँदै घुम्न आउने पर्यटक बढेका छन्’, अध्यक्ष रानाभाटले भने । रानाभाटका अनुसार हालै निर्माण गरिएको ‘ट्रि हाउस’ घुम्न निशुल्क पाइन्छ । चाँडै उद्घाटन गरेर प्रवेश शुल्क लिने उनले जानकारी दिए ।
ट्रि हाउसमा रंगरोगन, बिजुली, पार्कमा रहेको पोखरीमा पानीको फोहोरा जडान भएपछि उद्घाटन गर्ने योजना बनाएको उनले जानकारी दिए । ‘ट्रि हाउस’ मा रेस्टुरेन्टसमेत सञ्चालन हुने उनले बताए । ‘रेस्टुरेन्ट सञ्चालन भएपछि सुरक्षाको प्रबन्ध गरेर यहीं बास बस्ने व्यवस्था पनि हुनेछ’, रानाभाटले भने ।
‘ट्रि हाउस’को निर्माण पूरा नहुँदै सामाजिक सञ्जालमा प्रख्यात भइसकेको छ । टिकटक र फेसबुकमा देखेपछि फुर्सद मिलाएर घुम्न आएको जामुनेकी ईन्दु श्रेष्ठले बताइन् । ‘अरुको देख्दा आफुलाई पनि यहाँ फोटो खिच्ने धोको थियो । त्यै भएर साथी मिलेर आयौं’, उनले भनिन् ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण ठाउँमा रुखमा बनाइएको घर नौलो किसिमको भएकाले धेरैको मन जितेको उनको भनाइ छ । साथीभाइ र परिवारसँग रिफ्रेस हुनलाई यो गन्तव्य उपयुक्त हुने उनको ठम्याइ छ । भर्खर सुरुआतमा ट्रि हाउस र पार्क बनेको यहाँ अझै व्यवस्थित तरिकाले विकास गर्न आवश्यक रहेको श्रेष्ठले जनाइन् ।
डिभिजन वन कार्यालय तनहुँको आर्थिक सहयोगमा हरित पार्क सहित रुखमाथि घर बनाइको हो । गत वर्षको बजेटबाट १५ लाख रुपैयाँ लगानीमा पार्क र वातावरमैत्री रुखमाथि घर बनाइएको सबडिभिजन वन कार्यालय म्याग्देका प्रमुख मनोज रानाभाटले जानकारी दिए ।
रानाभाटका अनुसार वन कार्यालयले १२ लाख ५० हजार रुपैयाँ लगानी गरेको छ । सामुदायिक वनले २ लाख ५० हजार रुपैयाँ व्यहोरेका छन् । पर्यापर्यटनसँग जोडेर सामुदायिक वनमा आबद्ध उपभोक्ताको आम्दानी बढाउने अवधारणाका साथ हरित पार्कसहित रुखमाथि घर बनाइएको रानाभाटले बताए ।
यो ठाउँलाई वनभोज ‘स्पट’ रुपमा विकास गर्ने जनाइएको छ । पृथ्वी राजमार्गबाट झण्डै २ सय मिटरको दूरीमा रहेको ‘ट्रि हाउस’सम्म पुग्ने सडकको अवस्था सुर्धानुपर्नेछ । पार्कमा खानेपानी, शौचालय र प्रतिक्षालयको आवश्यकता रहेको घुम्न आउने पर्यटकहरु बताउँछन् । पार्कलाई तारबार गरेर पर्यटकलाई सुरक्षित घुम्ने वातावरण मिलाउन सुरक्षागार्ड समेत खटाउने सामुदायिक वनले जनाएको छ ।
तस्बिर पनि छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->