बागलुङ, १३ साउन– कांग्रेसको केन्द्रीय पदाधिकारी बैठकले स्थगित नगरेको भए मंगलबार देशभरका वडामा अधिवेशनहरु हुनुपथ्र्यो ।
क्रियाशिल सदस्यता विवाद छानविन समितिले प्रतिवेदन दिन ढिला गरेकोले पदाधिकारी बैठकले महाधिवेशनको केन्द्रीय तालिका परिवर्तन नहुने गरी वडा र जिल्ला अधिवेसन स्थगित गरेको थियो । स्थगित भएको मिति कहिले तोकिन्छ त्यो केन्द्रीय समितिमा निहित अधिकार हो । तर यही गतिले कांग्रेस महाधिवेशन समयमा हुन्छ भन्नेमा आशंका छ ।
केन्द्रले नरोकेको भए वडा समितिको अधिवेशन संभव थियो त ? यो आम कांग्रेसी कार्यकर्ताको मनमा उठेको प्रश्न हो । निर्वाचनका लागि चाहिने मतदाता नामाबली नै केन्द्रीय समितिले दिन नसकेपछि अधिवेशनको बिषय गौण बनेको छ । ‘विवाह हुन्छ भन्ने थाहा छ, तर दुलही सिँगारेकै छैन, बेहुला आएकै छैन, कसरी पत्याउनु’ कांग्रेस बागलुङका सभापति दिपेन्द्रबहादुर थापाले भने, ‘अहिलेसम्म जिल्ला निर्वाचन अधिकृत को हो भन्ने पनि थाहा पाउन सकिएन ।’
वडा तहमा निर्वाचन हुनका लागि सबै वडामा मतदान अधिकृत चाहिन्छ । दुई निर्वाचन क्षेत्र र ४ प्रदेश क्षेत्रका अधिकृत पनि तोकिनु पर्छ । तर अहिलेसम्म जिल्लाकै अधिकृत नतोकिएकोले वडा तहसम्मको विषयमा प्रवेशै नभएको उनले बताए ।
क्रियाशिल सदस्यता वितरण विवाद मुख्यगरी ४ जिल्लामा मात्रै छ । सामान्य विवाद सबैतिर भएपनि केन्द्रले अधिवेशनका लागि सबै तयारी गर्न नसकेको थापाको टिप्पणी छ । बागलुङको पनि रायडाँडा, पाला र तंग्राममा सदस्यता विवादको मुद्दा परेको थियो । वडा अध्यक्षहरुले विज्ञप्ती निकालेर समस्या समाधान भएको दाबी गरेका छन् ।
विवाद नभएपनि अन्तिम नामाबली केन्द्रले नपठाएपछि बागलुङमा पनि अन्यौलता छाएको छ । अब तत्कालै अधिवेशनको मिति तोकेपनि जिल्ला निर्वाचन समिति गठन, ८५ वटै वडामा मतदान अधिकृत खटाउने र उनीहरु पुग्ने तथा नामाबली टाँस गर्ने समय आवस्यक पर्छ । ‘निर्विरोध भएको खण्डमा ठिकै होला, निर्वाचनमा जानु परेमा सबै प्रक्रिया पुग्ने समय पर्याप्त चाहिन्छ’ थापाले भने, ‘भान्छे नआएसम्म जन्तीका लागि विवाहको चुलोमा कसरी धुँवा पुत्ताउने ?’ व्यक्तिगत रुपमा आ–आफ्ना डम्फु बजाएपनि अधिवेसनको गुदीनै सुरु नभएको उनको टिप्पणी छ । उनले उखानकै शैलीमा भने ‘भत्केरु आएपछि मात्रै जन्ती र बेहुला आउँछन् भन्ने ठोकुवा गर्न सकिन्छ ।’
सामान्यतया कांग्रेसले जिल्ला तहमा वरिष्ठ अधिवक्ता वा राजनीतिक रुपमा उक्त उचाइ पुगेको व्यक्तिलाई निर्वाचन अधिकृत तोक्ने चलन छ । वडा तहमा शिक्षकहरुलाई तोक्ने चलन छ । तर अहिलेसम्म यो बिषयमा चासो र छलफल छैन । अधिवेशनका लागि नेताहरु आ–आफ्नो समूह भेट र प्रचारमा लागेका छन् । तर प्रक्रियागत काममा भने कोही लागेको देखिंदैन ।
सभापतिको उमेदवारी घोषणा गरेका पूर्व उपाध्यक्ष जगदिशचन्द्र उपाध्याय मंगलबार बिहान सहकर्मी र कार्यकर्तामाझ चिया पिउँदै थिए । उनले स्थानीय तयारी सुस्त भएको टिप्पणी गरे । ‘निर्वाचन सामग्री पठाउने, नियमाबली, नामाबली र निर्वाचन अधिकृतको टुंगो नभएकोले साथीहरुसँग छलफलमा छु’ उनले भने, ‘जिल्ला निर्वाचन अधिकृत समेत नतोएिकोले अझै शंका गर्ने अवस्था बन्यो ।’ केन्द्रले अधिकृत तोकेर जिल्लामा पठाएको भए केही प्रक्रिया र काम अगाडि बढिसक्ने उनले बताए । स्थानीय तहमा पनि तयारी सुस्त भैरहेको उनको टिप्पणी थियो ।
कांग्रेसले यो वर्ष क्रियाशिल सदस्यता बढाएको छ । झण्डै दोब्बर बनाएर देशभर ८ लाख क्रियाशिल सदस्यता पुगेकोले त्यसको अन्तिम नामाबली आउन नसकेको हो । असार मसान्तसम्म क्रियाशिलको काम चलिरहेकोले केन्द्रबाट टुंगो लगाउन ढिला भएको जानकारहरु बताउँछन् ।
‘जिल्ला र केन्द्रीय नेता भएका वडा र क्षेत्रमा सदस्यता विवाद भएको देखिन्छ’ क्षेत्रीय सभापति द्रोण कुँवर भन्छन्, ‘यो मानेमा नेतृत्व नै बढी असक्षम देखिए ।’ वडाका कार्यकर्तामा परिवर्तनको लहर र उर्जा देखिएको उनले दाबी गरे । अधिवेशनको बेला मात्रै क्रियाशिल थप्ने कामले यस्ता लफडा आएको कार्यकर्ताको बुझाई छ । ‘पहिले नै यो बिषय टुंगो लाग्नुपथ्र्यो’ उनले भने, ‘नेताहरु आफ्नो वडामा कब्जा गर्ने रणनीतिमा लागेका छन् ।’ केन्द्रीय नेताहरु वडा र क्षेत्रमा लड्नु नपर्ने भएकोले बेवास्ता गरेको उनले टिप्पणी गरे ।
महाधिवेशनमा होमिनु पर्ने बेलामा कांग्रेस सत्तामा गएकोले धेरै कुरा ढिला भएको अर्काथरीको विश्लेषण छ । यो समयमा गण्डकी प्रदेशमा समेत कांग्रेस सत्तामा गएको छ । केन्द्रीय सरकार गठन भएको त दुई सातापनि पुगेको छैन । मन्त्रीपरिषदले समेत पूर्णता पाएको छैन । पार्टी सभापति नै प्रधानमन्त्री भएकोले उनले समेत महाधिवेशनमा ध्यान दिन नसकेको टिप्पणी छ ।
निर्वतमान सभापति प्रकाश शर्मा पौडेलले नेताहरु सरकारमा गएकोले अधिवेशनमा ध्यानै दिन नसकेको टिप्पणी गर्छन् । ‘यो बेला सरकारमा जानु हुन्थ्यो वा हुँदैनथ्यो त्यो बहसको बिषय हो, तर सरकारमा गएकै कारण समयमा अधिवेशन गर्दैनन्, गरेपनि बिधि पु¥याउँदैनन् भन्ने आरोप लाग्ने भयो’ उनले भने, ‘अहिलेसम्म निर्वाचन लक्षित जिल्लाको बैठक समेत बसेको छैन ।’ पार्टी र सरकार दुवैतिर असफल हुने गरी नेताहरु अलमलमा भएको उनले टिप्पणी गरे ।
पार्टीको जिल्ला समितिले पनि अहिलेसम्म निर्वाचत लक्षित बैठक नराखेको जिल्लामा बैठक बसेर कतिपय बिषय सहमति भैसकेपनि बागलुङ पछाडि परेको जिल्ला सदस्यहरुकै टिप्पणी छ । ‘पछिल्लो ६ महिनादेखि बैठक बसेको थाहा छैन, बरु गलकोटमा कार्यक्रममा आएका नेताहरुसँग भेट भएको थियो’ पूर्व सहसचिव गण्डकी थापाले भनिन्, ‘अधिवेशनबारे छलफल, बहस नगरी निर्वाचनमा मात्रै जाने, उमेदवार मात्रै बन्ने प्रवृत्तीले कांग्रेसमा संगठन कमजोर भएको छ ।’ उनले नीति तथा कार्यक्रममा बढी छलफल हुनुपर्नेमा उमेदवारको मात्रै चर्चा हुने गरेको टिप्पणी गरिन् ।
अब कहिले होला त ?
जानकारहरुका अनुसार बुधबार वा बिहिबार केन्द्रीय पदाधिकारी बैठक बस्न सकेमा कम्तिमा १० दिन समय राखेर अधिवेशन तालिका सार्वजनिक हुनुपर्छ । त्यसपछि तत्कालै जिल्ला निर्वाचन समिति, क्षेत्र र प्रदेश तथा वडा तहमा नियुक्ती गर्ने, प्रशिक्षण दिने र नामाबली तथा नियमावली दिएर वडामा पठाउने काम गर्नु पर्ने थापाले बताइन् । ‘यी सबै विधि पुगेपछि केन्द्रीय महाधिवेशनका लागि बाटो खुल्छ’ उनले भनिन्, ‘बरु क्षेत्रीय र जिल्ला अधिवेशन पछि गरेपनि हुन्छ, बैधानिकताको बाटो खुलाउने तथा कांगे्रसलाई चलायमान बनाउने अधिवेशनलाई सबै नेता र कार्यकर्ताले उत्सवको रुपमा मनाउन पाउनु पर्छ ।’
अधिवेसनपछि नेतृत्व हस्तान्तरणसहित कार्यकर्तामा उर्जा समेत थपिने उनले बताइन् । अन्य नेताले पनि भदौ १ गतेभित्रै वडा, प्रदेश र क्षेत्रको अधिवेशन हुनुपर्ने बताएका छन् ।





