पोखरा, १३ साउन– मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशका सबै जिल्लाहरुको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् ।
प्रमुख जिल्ला अधिकारी तथा कार्यालय प्रमुखहरुसँग भएको छलफलमा बाढीपहिरोले पु¥याएको क्षतिको विवरण संकलन साथै पीडितलाई राहत, विस्थापितलाई पुनःस्थापनाबारे चर्चा भएको हो ।
भर्चुअल बैठकमा बोल्दै मुख्यमन्त्री नेपालीले कोरोनाविरुद्धको लडाइँ र विपदलाई सामना गर्न ३ तहका सरकारबीच समन्वय जरुरी रहेको बताए । १८ वर्ष उमेरमाथिको समूहलाई यथाशीघ्र कोरोनाविरुद्धको खोप दिलाउन सरकार प्रतिबद्ध रहेको जानकारी दिए ।
प्राप्त खोपलाई जनसंख्याको अनुपातका आधारमा वितरण गरी उमेर समूहका आधारमा खोप लगाइएको र बाँकी खोप प्राथमिकता तोकेर दिइएको पनि उनले बताए । अहिले विभिन्न समूह खोपका लागि माग गर्दै आएको अवस्थामा उमेर समूह नै वैज्ञानिक देखिएकाले त्यसै अनुसार वितरण गर्नुपर्ने उनको भनाई थियो । उनले भने, ‘यो अभियानलाई निरन्तर दिँदै क्रमशः प्रदेशका सबै लक्षित समूहमा खोप पु¥याउने नीति लिएका छौं ।’
प्रदेशको भिन्न भौगोलिक संरचना र वर्षात्को समयमा विपत् जुनसुकै बेलामा आउन सक्ने भएकाले त्यसै अनुसारको तयारी गर्न पनि उनले निर्देशन दिएका छन् । उनले भने, ‘सम्भावित विपत् व्यवस्थापन रोकथाम र नियन्त्रण गर्न प्रदेश सरकार प्रतिबद्ध छ ।’
स्वास्थ्यतथा जनसंख्यामन्त्री मधुमाया अधिकारी गुरुङले कोभिड नियन्त्रणका लागि स्थानीय तहका पदाधिकारी र कर्मचारीको खटाइ असाध्यै अनुकरणीय रहेको भन्दै अबका दिनमा आउने जोखिमबाट बच्न पनि थप सचेत हुनुपर्ने बताइन् । गण्डकी प्रदेशका १८ वर्ष माथिको उमेर समूह सबैलाई खोप पु¥याउँछौं भनिरहे पनि विभिन्न समूहको माग थेग्नै मुस्किल रहेको उनको भनाई थियो ।
प्रदेशका प्रमुख सचिवडा. दामोदर रेग्मीले प्रदेशका १ तिहाई जनसंख्यालाई खोप उपलब्ध भइसकेको भन्दै बढीभन्दा बढी खोप ल्याउन आफूहरु प्रयासरत रहेको बताए । उनले भने, ‘प्राप्त खोपलाई केन्द्रको मापदण्ड अनुसार जुन उमेर समूहलाई भनिएको छ, त्यसै अनुसार आइदिन र उपलब्ध गराइदिन आग्रह गर्छु ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव विनोदबिन्दु शर्माले उमेर समूह अनुसार खोप लगाउनक सकेमा प्रदेशका सबै नागरिकलाई उपलब्ध गराउन सकिने बताए ।
प्रदेश स्वास्थ्य निर्देशक डा. खीमबहादुर खड्काले उमेर समूह अनुसार खोप लगाउन सके अब ४५ देखि ४९ वर्ष उमेर समूहको पालो आउने बताए । कास्कीको पोखरा, नवलपुरको कावासोती, देवचुली, स्याङ्जाको पुतलीबजार, चापाकोट, फेदीखोला, गोरखाको पालुङटारलगायत स्थानमा संक्रमण दर बढेको उनले बताए ।
कार्यक्रममा सहभागी प्रजिअहरुले अहिले कोभिडको संक्रमण बढे पनि अस्पतालमा जानेको संख्या कम रहेको र अधिकांश होम आइसोलेसनमै रहेको बताए । अस्थायी रुपमा बनाइएका कच्ची सडकमा बाढीपहिरोको प्रभाव धेरै रहेकाले मर्मतसम्भार कसले गर्ने भन्ने दुविधा रहेको प्रजिअहरुको भनाई थियो ।





