मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

अधुरोत्यो सपना !

अधुरोत्यो सपना !


  • दिवस गुरुङ
  • साउन २५ २०७८, सोमबार

सपना सबैले देख्छन् । अनि सबैले बुन्छन् सुन्दर भविष्यका सपनाहरु । तर, सबै सपना कहाँ यथार्थमा परिणत हुन्छन् र ? कति सपना, सपनामै सीमित रहन्छन् । कति कोरेका सुखद गोरेटीहरु बीच बाटैमा मेटिन्छन्, जसरी मेटिएका छन्–दश गजामा देशका सीमानाहरु । बुनेका कथाहरु व्यथामा सीमित बन्न पुग्छन् । कहाँ त्यो रहरको जिन्दगी, अनि कहाँ यो कहरको जिन्दगी !हो, कथा हो, नन्दबहादुर गुरुङको ।
उमेरले जम्मा ६६ पुगे,उनी । तर, उनको कुप्रिएको शरीर, नरम र मन्द बोली र धिमे गतिको हिँडाइले जो कोहीले अनुमान लगाउँछन् कि उनले ८०औं वसन्त पार गरेको हुनुपर्छ ।
तल बेरेका छन् सेतो धर्से धोती । माथि लगाएका छन् फिक्का हरियो रङको सर्ट । खुइलिएको कालो ह्याटले सेतै फुलेका कपाल ढाकिएका छन् तर कहाँ ढाकिएका छन् र ?उनका पीडाका केस्राहरु । मोटो फ्रेमभित्रको आँखाले धमिलो दृश्य देखिरहेको प्रष्ट बुझिन्छ, जसरी धमिलिएका थिए उनले बुनेका सपनाहरु ।
घर उनको माछापुच्छ«े गाउँपालिका घाचोक । तिनताका कहाँ गाउँमा स्कुलहरु थिए र ? सानैमा २/३ कक्षामै उनको पढाइको लगाम रोकियो । गाउँघर, डाँडापाखा चहार्दै बितेको थियो, उनको बाल्यकाल । उनका दाई थिए इन्डियन लाहुरे । छुट्टिमा नेपालमा आएका थिए । बिदा सकिएर पल्टन फर्कँदा दाइसँगै उनी पनि मिसिए । लाहुरे बन्नेभन्दा पनि नयाँ देश, नयाँ भूगोल चियाउने उनको सपना जो थियो । अनि नौतुनाको रेल समातेर उनी भारत छिरे ।
भर्खर उमेरले पन्ध्र काटेर सोह्र लागेको एक कलिलो युवा ।आफ्नै गाउँठाउँमा रमाइरहेको एक प्रकृतिप्रेमी । कहिल्यै घर छाडेर नहिँडेको मान्छे, क्याम्पमा कडा ट्रेनिङ हुन्थ्यो । उस्तै कडा नियम र अनुशासन । त्यो उनको लागि चिन्ताको विषय थिएन । तर पछि उनले बुझ्दै गए, यहाँ त मान्छेले मान्छेलाई नै काटमार गर्दा रहेछन् । आफ्नै आँखा अगाडि गोली लागेर ढलेको देख्दा कसको मन मान्छ र ?अरुलाई काटमार गरेर केको बहादुरी ?त्यो पनि अर्काका लागि लडेर । उनको मनले मानेन्, अनि उनले निर्णय गरे, क्याम्पबाट भाग्ने ।
भागेर कता जाने ? अपरिचित भूगोलमा उनको जीवनको संघर्षको अर्को अध्याय सुरु भयो । लाहुरे बनेर पल्टनबाट छोरा फर्कने दिन गनिरहेका बाआमाका अगाडि खाली हात पुग्दा कस्तो अनुभूति होला ? त्यसैले खालि हात नेपाल फर्कन उनको मनले थिएन । अनि सुरु भयो, उनको अर्को संघर्षको अध्याय ।
उमेरले परिपक्का थिएन । न त खारिएकै थिए सीप र कलाले । जे पाइन्छ, त्यहीँ गर्ने मनसाय थियो, उनको । त्यतिबेला भारतमा भर्खर ग्यास वाइल्डिङको चलन सुरु भएको थियो। उनले यही पेशा रोजे । काम त्यति सजिलो भने थिएन तर उनले हरेश खाएनन् । बिस्तारै यसैमा पोख्त हुँदै पनि गए र कमाइ पनि राम्रो हुँदै गयो । जेनतेन आफ्नो एकसरो ज्यान पालेका थिए, उनले ।
सधैं अर्काको मुलुकमा बसेर पनि भएन, उनको मनले सोच्यो, अब स्वदेश फर्कनुपर्छ । घरपरिवारको सम्झनाले पनि न्यास्रो बनाएको थियो । तर, उमेरलाई दोष दिँदै उनी विगतमा यसरी फर्कन्छन्, ‘खास दोष त मेरै न थियो, उमेरको के दोष । जति कमाइयो, त्यति नै रमाइयो । खासै बचत गर्न सकिन । म अलिक फुरमासे नै थिए ।’ केही सय सयका नोटहरु र सीप बोकेर उनी स्वदेश फर्केका थिए ।
यो कुरा थियो, २०४० सालको । देशमा पञ्चायत शासन व्याप्त थियो । उनी पोखरा नयाँ बजारमा डेरा लिएर बस्न थाले । अनि उनी विगतमा यसरी फर्कन्छन्, ‘कहाँ अहिलेको बजार हुनु त्यतिबेला । फाट्टफुट्ट गाडीहरु गुड्थे । कच्ची बाटोले जोडिएको थियो यो बजार क्षेत्र । जस्ताले छाएका ससाना टहराहरु न थियो । कति ठाउँ त ठूल्ठूला खरबारी नै थिए, दिउँसै तर्साउलाजस्तो ।’
उनको अंशमा परेको गाउँको जग्गा उनले आफ्नै आफन्त पर्नेलाई केही हजारमा बेचिदिएका थिए । त्यहीँ पैसा जेनतेन केही समयलाई पुग्यो । अनि खट्कियो उही समस्या, आर्थिक संकट । उनले निरन्तरता दिन थाले, त्यहीँ ग्यास वाइल्डिङको पेशा ।
उनी भन्छन्, उनी नै पोखराका वाइल्डिङमा लाग्नेहरु मध्येका एक ज्येष्ठ थिए । बिस्तारै समय पहिलेकै लयमा फर्कन थाल्यो । धेरथोर कमाउन थाले । अनि परिवार जोड्नमा लागे, उनी । केही समयमै एक जोडी परिवार तीन भयोे । अर्थात् उनको छोरा जन्मियो । योसँगै उनको काँधमा जिम्मेवारीसमेत थपियो ।
सानो कोठा जहान थपिएसँगै साघुँरिदै गयो । घर बनाएर आफ्नै छानामुनि सुखसँग बस्ने सपना उनले पनि बुनेका थिए । तर, आर्थिक रुपमा यसका लागि फलामकै चिउरा चपाइसरह थियो उनलाई । एक जना चिनजानबाट उनले सुकुम्बासी जग्गाको बारेमा थाहा पाए । यो ठाउँ थियो, नयाँबजारबाट देब्रे रामघाट जाने डिलैमा ।
उनलाई ढुंगा खोज्दा देउता मिलेझैं भयो । सानो जस्ताको टहरा बनाए त्यहीँ ठाउँमा । जेनतेन खुसीमा चलिरहेको थियो, परिवार । तर, समय कहाँ सधैं उहीँ रहन्छ र ?समय समयमा नगरपालिकाका कर्मचारीहरु टहरा भत्काउन नआएका हैनन् । कर्मचारीहरु कहिले फेरि आउँछन् र टहरा भत्काइदिने हुन्, ननिदाएका कैयौं रातहरु छन्,उनका । डरै डर र भयका बीच दिनहरु चलिरहे ।
उनको सपना थियो, आफ्नै सानो टहरा बनाउने । ओत लाग्ने आफ्नै टहरा होस्, सुख दुख बिसाउने आफ्नै पिँढी होस् । तर, दिनहरु सधैं एउटै लयमा कहाँ चल्छ र ? एक्कासी ठूलो बज्रपात आइप¥यो, उनको जीवनमा । वाइल्डिङमा काम गर्दा उनले सुरक्षा किट चस्मा र पञ्जा प्रयोग गरेकै थिए तर एकदिन काम गर्दाताका आगोको झिल्को उनको दाहिने आँखामा प¥यो । आगाको सानो झिल्को नै काफी थियो, उनको जीवनमा डढेलो ल्याउन । आँखाकै उपचारका लागि उनी कहाँ कहाँ पुगेनन् ?तर, सबै प्रयासहरु व्यर्थ रहे । उनले दाहिने आँखाको ज्योति सदाका लागि गुमाए ।
त्यही दिन न हो उनको सपना चकनाचुर भएको । ओत दिने आफ्नै घर बनाउने सपना । परिवारलाई जेनतेन खुसी तुल्याउने त्यो सपना । झन् उल्टै आँखा उपचारको खर्चले उनको थाप्लोमा भारी थपिदियो । त्यसपछि उनी पुरानै काममा फर्कन सकेनन् । उनी कहिल्यै वाइल्डिङमा रमाउन पाएनन् । त्यसपछि उनी अन्य रोगहरुले थलिन थाले । हाड जोर्नी दुख्ने, प्रेसर र सुगर साथी बने, उनका । कहिल्यै छोडेनन् । अनि छोडेनन् दुःख र पीडाहरुले ।
जीवनभर सहारा बनेकी श्रीमतीले साथ छाडेको वर्षौं भइसक्यो । त्यसपछि उनी झन् बेसहारा बने । गतिलो नेता नपाएर अलपत्र परेको देशझैं । पीडा, शोक र दुःखले गालेको उनको जीवन उमेरछँदै थलापर्न थाल्यो । शरीर कुप्रियो, एउटा आँखाले मेसो पाउन सकेनन् । बेसहारा शरीरलाई लठ्ठीले टेको दियो । त्यहीँ लठ्ठीको सहारामा उनी बजारसम्म पुग्छन् । आफ्नो औषधि आफै किन्न अस्पतालसम्म पुग्छन् । अत्यार लाग्दा पारि सेती किनारसम्म पुग्छन्, मन भुलाउन । तर कहाँ भुल्दो हो र मन ? कहाँ सम्झाउन सकिन्छ र मनलाई ? उहीँ सपनाले उनको मन गिथोलिरहन्छ ।
सेती मज्जाले उर्लेर बगिरहेको छ । त्यहीँ सेती किनारमा सुसाउँदै उनले मधुर स्वरमा भने, ‘धन्न सरकारले हामी बस्दै आएको जग्गाको लालपुर्जा दिएको छ, अहिले । अब कुन दिन सरकारले लखेटिएर चौरमा बास भन्ने चिन्ता टरेको छ । तर आफ्नै कमाईको दुई तला घर ठडाउने मेरो सपना सधैंका लागि अपुरो सपना बन्यो । जीवनमा केही प्रगति गर्न सकिन, मैले ।’
परिवारमा छोरा, बुहारी र नाति छन् । पृथ्वीचोक हङकङ बजारमा सानो पसल थापेका छन् छोराले । जेनतेन परिवार चलिरहेको छ । अपाङ्ग र बुढेसकाल लागेका उनलाई पोखरा बिरानो लाग्दो छ । मान्छे नै मान्छेले थुप्रिएको यो शहरमा आफ्नो भन्ने कोही छैनन् । सुख दुःखका कथा सुनाउने कुनै पात्रहरु छैनन् उनका । अपाङ्ग भत्ताबाट आउने मासिक तीन हजारले औषधीमुलो गर्छन्, घरमा चामलका बोरा किन्छन्,समय– समयमा ।
सोचेझैं हुँदो रहेनछ जिन्दगी, जस्तो हुन्छ, त्यसैमा रमाउन सिक्नुपर्छ । उनको जीवनले सिकाउँछ । रहरैरहरको जिन्दगी त केवल सपनामा न हो !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->