विश्वको सबैभन्दा उच्च स्थानमा रहेको सगरमाथादेखि उपत्यकासहित पहाडदेखि तराइको समथर भुभागसम्म फैलिएको नेपालको प्राकृतिक भू–बनोट रमणीय मात्र होइन, जैविक विविधताले पनि भरिपूर्ण छ । वन–जंगल, खनिज तत्व, पर्यावरणीय विविधता र प्राकृतिक सम्पदाका साथै समुद्र नभएपनि हिमनदीलगायतका नदीनाला, ताल तथा सिमसार क्षेत्रसहित जल संपदामा विश्वको दोस्रो धनी देश हो, नेपाल ।
नेपाल पर्यावरणीय तथा जलवायू परिवर्तन,आगलागी, भूकम्प, बाढीपहिरो तथा डुवानलगायतका प्राकृतिक प्रकोपको मारमा पर्दै आएको छ । मानिसद्वारा निर्मित सडक तथा अन्य पूर्वाधार, प्राकृतिक संपदामाथि हुँदै आएको अतिक्रमणका कारण वन तथा नदीतटहरु विनासहँुदै जाँदा भू–क्षय, बाढीपहिरो, डुवानलगायतका प्रकोपबाट हामीले ठूलो क्षति व्यहोर्नु परिरहेको छ । प्राकृतिक प्रकोप त हाम्रो नियन्त्रणमा हँुदैन तर संभावित भौगोलिक अध्ययन तथा कार्यनितिसँगै मानव बसोबास, पूर्वाधार निर्माण तथा क्षति न्युनिकरणका लागि आवश्यक व्यवस्थापन गर्न सकिन्छ ।
प्राकृतिक संपदा संरक्षण मात्रै गर्नसके पनि भयानक क्षति व्यहोर्नु पर्नेछैन । यसै सन्दर्भमा सदाझैं मध्य वर्षात्को समयमा मात्र हामीले संझिने गरेको दैवी प्रकोप, यसका कारण तथा समस्या समाधानका सम्बन्धमा चर्चा गरौं ।
मानव सभ्यताको विकास क्रमको प्रारम्भिक अवस्थामा सडक तथा खानेपानी बितरणको व्यवस्था नहुँदा मानिसले सहजताका लागि पानीको श्रोत पायक पर्ने स्थानमा मानव बस्ती बसाए । समयक्रममा त्यहाँ बस्ती बिस्तार, बाटो लगायतका पुर्वाधार निर्माण गर्दै लगियो । परम्परागत रुपमा कुलोहँुदै खानेपानीका लागी पाइप बिच्छ्याउँदै धारा जडान तथा खोला र नदीबाट सिंचाइका लागि कुला र नहर बनाइए ।
उपभोगका लागि ल्याइएको पानी बढी हुँदा त्यसले निकास खोज्यो । धाराको पानीको निकास दिन सजिलो हुन्छ तर कुलो तथा नहरबाट सिंचाइको लागि ल्याइएको पानीको व्यवस्थापन गर्नुपर्छ । सुरक्षित निकास हुन नसके त्यो पानीले बिगार गर्छ ।
पानीको स्वभाव तलतिर बग्ने हो । थुनिएको पानी एक्कासी तलतिर बग्यो भने त्यसले क्षति पु¥याउने पक्कापक्की हुन्छ । यता नदीले कटान गर्दै गहिरिँदै जाँदा बगर थुपार्दै गरेको स्थानमा अव्यवस्थित रुपले सहरीकरण,राजमार्गलगायतका ठूलाठूला सडक, नदी करिडोर, डाइभर्सनसमेतका योजना निर्माणका क्रममा उचित निकासको व्यवस्था नहुँदा बाढीपहिरो तथा डुवानको खतरा मोल्नुपर्छ ।
मानवीय आवश्यकता पूर्तिकासाथै सहज जीवनयापनका लागि सडक यातायातको विकल्प छैन । भूगर्भीय अध्ययन, अनुसन्धान र योजनाविहीन तवरले सडक बिस्तार नेपालको रोग हो । सडक निर्माणका क्रममा एस्काभेटरले जथाभावी उधिनेको सडक कुनातिरको भिरालो जमिन भत्किँदा सडकमा क्षति मात्र होइन, त्यो ढुङ्गा र माटो ( डेब्रीज) सबै वर्षात्को भेलसँगै बाढीको रुपमा बग्न पुग्छ ।
बगेको माटोले मानव बस्ती, पूर्वाधार तथा खेतीयोग्य जमीनमा क्षति पु¥याउँदै आएको हामी सबैसामू छर्लङ्ग छ । यसमा संचार जगत, सरोकारवाला लगायतको पटक पटक ध्यानाकर्षण तथा पीडितको गुनासो सुनुवाइभएको देखिँदैन । निर्माणाधीन सडकको कुनातर्फ आवश्यकता अनुसार क्रंक्रिट पर्खाल, नाली र ढल निकासको लागि ह्युम पाइप, कल्भर्टलगायतका संरचनसँगै सडक निर्माण गर्नुपर्नेमा के गरियो स्थलगत रुपमा हेर्दा देख्न सकिन्छ ।
दशक अगाडी निर्माण सुरु भएको मध्यपहाडी लोकमार्ग नै हेरौं न,कसरी निर्माण अगाडी बढिरहेको छ ! सडकका खाल्टाखुल्टी पुर्न खोला तथा नदीबाट गिटी, ढुङ्गा लगेर मर्मत गर्नुपर्नेमा रातिराति जेसीभी लगाई सार्वजनिक स्थल तथा सर्वसाधारणका खेतबारी उधिनेर सम्याउने गरिएको छ ।
त्यो बाटो पानी नपरुन्जेल मर्मत गरेकोजस्तो देखिने, पानी परेपछि सवारी चल्नै नसक्ने अवस्थामा पुग्छ । सडक निर्माणको क्रममा लापर्वाही त भैसक्यो,सुचारु गर्न कुनै पहल भएको देख्न पाईदैन । यसतर्फ सरोकारवाला निकायको ध्यानाकर्षण हुनु आवश्यक छ ।
करिव ३० डिग्रीभन्दा बढी भिरालो जमिनमा ठूला भवनलगायतका पूर्वाधार निर्माण गर्न नहुने भुगर्भविदहरुको सुझावका विपरीत हामी ४५ डिग्रीभन्दा बढी भिरालो जमिनमा पनि अजंगका पूर्वाधार बनाइराखेका छौँ र विपत्ति निम्त्याइरहेका छौँ ।
वर्षात्को समयमा भिरालो जमिनले त्यो भार थाम्न नसकी बग्नु ( पहिरो जानु) स्वभाविक हो । नारायणघाट –मुग्लिन– काठ्माडौं ( पृथ्वी राजमार्ग) सडक नै हेरौं– वर्षैपिच्छे किन पहिरो गइरहन्छ ? जमिन अनुसार सडकको भारबहन क्षमता र आयू कति हुन सक्छ भनेर कुनै भौगर्भिक अध्ययन प्रतिवेदन हामीसँग छ ? राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना सम्पन्न हुनेक्रममा बाढीको कारण करिब २ अर्बको क्षतिपश्चात एडिबिलाई भौगर्भिक अध्ययनका लागि जुन अनुरोध भैरहेको कुरा समाचारमा आएको छ, यसले हाम्रो योजना तथा भौतिक पूर्वाधारको अवस्था कस्तो छ भन्ने देखाउँछ ।
जल संपदा, जैविक विविधता र भौगर्भिक संवदेनशीलताको अध्ययन, अनुसन्धान गर्न लगाई विज्ञको प्रतिवेदन अनुसार प्राकृतिक संपदा संरक्षणलाई सुरक्षित राखेर मजबुत, समथर तथा सुरक्षित स्थानमा आवास तथा शहरी विकास योजना, भौतिक पूर्वाधार निर्माण गर्नु पर्दछ ।
सामुद्रिक संपदा सम्पन्न देशहरुले समुद्र किनारमा करिडोर सडक निर्माण गरेका हुँदैनन् बरु शहर तथा बस्तीबाट समुद्र तटसम्म पहुच, सिपोर्ट, पर्यटकीय बिच एक्टिभिटिजलगायतका केही पूर्वाधार निर्माण गरेका हुन्छन्, जहाँ उद्दारका सामग्री तथा जनशक्ति तैनाथ छन् । समुद्री तटमा आंँधीबेहेरी, ज्वारभाटालगायतका विपत्ति आउँछ भन्ने कुरा अध्ययन गरेर नै त्यो प्राकृतिक संपदाका नजिकमा कुनै स्थायी संरचना बनाइँदैन ।
तर, हामी पानीको बहाबलाई साँघु¥याउँदै नदीमाथि ‘ह्याङ्गिङ ब्रिज क्याफे’ बनाउन लागि राखेका छौ, जमिनी बनावट अनुसार पूर्वाधार सडक, मोटरेवल पुल होइन कि अनावश्यक रुपमा आकाशमा फलामका लठ्ठा झुन्डाएर झोलुङ्गे पुल बनाउदै छौँ, जो दिर्घकालीन होइन । यसर्थ, पूर्वाधार निर्माणका साथसाथै उद्दार तथा व्यवस्थापनका लागी उपकरण तथा दक्ष जनशक्ति व्यवस्थापन पनि अबको आवश्यकता हो ।





