नवलपुर/राप्रपाका केन्द्रीय नेता राजेन्द्र लिङ्देलले राप्रपा अहिले जुन रोडम्यापबाट हिडिरहेको छ त्यो रोडम्यापबाट ठूलो हुन नसक्ने बताएका छन् । राप्रपा केन्द्रीय कार्यसम्पादन समितिका सदस्य एवं नवलपुरका नेता स्वर्गीय बलराम थापामगरको तेह्रौं दिनको पुण्य तिथिमा श्रद्धाञ्जली तथा समवेदना प्रकट गर्न नवलपुर आएका बेला पार्टीका कार्यकर्तालाई सम्वोधन गर्ने क्रममा उनले पार्टीले कार्यनीति र रणनीतिमा परिवर्तन गर्न जरुरी रहेको बताए ।
उनले कार्यनीति र रणनीति परिवर्तन गर्ने कुरा राख्दा पार्टीमा देखा परेको नक्कली सांगठनिक संरचनामा ब्यापक सुधार गर्नुपर्ने धारणा राखेका छन् । उनले भने–“पार्टीको महिला संगठनमा २० बर्षदेखि एउटै ब्यक्ति नेता छ, जसले कलेज–क्याम्पसको मुख देखेको छैन उही बिद्यार्थीको नेता छ, जो अहिलेसम्म कही मजदुर गरेको छैन त्यो ब्यक्ति मजदुरको नेता छ, जो पत्रकार महासंघको सदस्य समेत छैन त्यो ब्यक्ति मिडिया नेपालको नेता छ । यस्ता विषयमा पार्टीलाई चलायमान बनाउन परिवर्तन जरुरी छ ।”
उनले राष्ट्रिय महाधिवेशनको मुखमा राप्रपा रहेकाले अवको नेतृत्व परिवर्तन हुनसक्नेतर्फ संकेत गरेका छन् । कमल थापा र राप्रपा पर्यायवाची जस्तै रहेका बेला नेतृत्व परिवर्तन सम्भव छ त भन्ने पत्रकारको जिज्ञासामा नेता लिङ्देलले भने– “अहिलेको आवश्यकता यही हो, अध्यक्षज्यूले नै यसका लागि मार्ग प्रसस्त गर्न सक्ने सम्भावना प्रवल छ, सर्वसहमति हुन सक्ने स्थिति छ, नभईहाले प्रजातान्त्रिक अभ्यासले पनि नेतृत्व अव युवाको काँधमा आउँछ । अव तपाई आफैं बुझ्नुस्” भन्दै घुमाउरो पारामा अध्यक्ष कमल थापाको विकल्प खोजिएको आशय ब्यक्त गरे ।
सम्वोधनकै क्रममा संघीय सांसद समेत रहेका लिङ्देलले २०४६ सालको परिवर्तनपछि अहिलेको संघीयता र गणतान्त्रिक अवस्थासम्म आईपुग्दा राप्रपा र राप्रपाका नेता कार्यकर्ताले बिभिन्न कालखण्डमा तिरस्कार, लाञ्छना र भौतिक आक्रमण समेत ब्यहोरेको स्मरण गर्दै त्यति हुँदा पनि आफ्नो एजेण्डामा पार्टी अडिग रहेको बताए ।
उनले निष्पक्षता र स्वतन्त्रताका हिसावले राजा र राष्ट्रपतिमा कति फरक रहेछ १४ बर्षमा जनताले प्रत्यक्ष रुपमा बुझेको, अनुभव गर्न पाएकोले राप्रपाका एजेण्डामा बिभिन्न अभियान र आन्दोलनका माध्यमबाट कांग्रेस, एमाले, माओवादीका थुप्रै राष्ट्रवादी कार्यकर्ता संघीयताको बिरोधदेखि हिन्दुराज्यको पक्षमा बोलिरहेको जिकिर गरे । उनले नेपालको स्वतन्त्र अस्तित्वका लागि नेपाली जनताको नासो भावी पुस्तालाई हस्तान्तरण गर्न राप्रपाले हिन्दुराज्य पुर्नस्थापनाको एजेण्डा बोकेको भन्दै हिन्दुराष्ट्र भएकै कारण त्यतिवेला बिश्व सामु नेपालको आफ्नै पहिचान रहेको जिकिर गरे ।
उनले १८ बर्ष नाघेका ३५–४० बर्षसम्मका पढेलेखेका र स्वास्थ्य अवस्था ठीक भएका नेपालीलाई जाँच गरेरै प्रमाणित गरेर विदेशमा अरुको नोकर र गुलामी गर्न पठाउने यो ब्यवस्थामा बुढापाकालाई २–४ हजार रुपैंया दिएर हामी हो तपाईलाई हेर्ने भन्दै भावनामाथी खेलेर राजनीति गरेको आरोप लगाएका छन् ।
राप्रपा नवलपुरका जिल्ला अध्यक्ष दलबहादुर केसीको अध्यक्षता र सचिव गुणाखर काफ्लेको सञ्चालन रहेको कार्यक्रममा राप्रपाका नेता धवलशमसेर जवरा, राप्रपा गण्डकी प्रदेश कार्य समितिका अध्यक्ष हेमजङ्ग गुरुङ्ग, केन्द्रीय कार्यसम्पादन समितिका सदस्य बिन्दु पहाडी लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।





