
पोखरा/पोखरा महानगरपालिकामा कोरोना संक्रमितको संख्यामा वृद्धि भइरहेको छ । एका तिर संक्रमितको संख्या बढ्दो क्रममा छ भने अर्को तर्फ महानगर कोरोना विरुद्धको खोप लगाउन व्यस्त छ ।
पोखरा महानगर स्वास्थ्य महाशाखामा सिमित मात्रामा स्पास्थ्यकर्मी रहेका छन् । उनीहरु आफै जोखिममा रहेर अहिले नागरिकलाइ कोरोना विरुद्धको खोप लगाइरहेका छन् । सिमित स्वास्थयकर्मीकै भरमा पनि उनीहरुले महानगरपालिकामा १ लाख ८१ हजार १ सय ६९ जनालाइ कोरोना विरुद्धको खोप लगाइसकेका छन् । जसमध्ये कोहिले कोरोना विरुद्ध दुवै डोज लगाएका छन् भने कोहिले पहिलो डोज लगाएका छन् । महानगरमा ४१ हजार ५ सय ७७ जनाले भेरोसेलको दोस्रो डोज समेत लगाइसकेका छन् भने, ५८ हजार ४ सय जनाले भेरोसेलको पहिलो डोज लगाएका छन् ।
कोरोना महामारीको समयमा समेत निरन्तर काम गर्दै आइरहेको पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाले महानगरभित्र रहेका विभिन्न शहरी स्वास्थ्य केन्द्र,स्वास्थ्य चौकी, वडा कार्यालय तथा विद्यालयहरुबाट कोरोना विरुद्धको खोप लगाउँदै आइरहको छ ।
पोखरा महानगरबाट विदेश जान लागेका २ हजार जनाले जोन्सन एण्ड जोन्सन अगाएका छन् भने ५२ देखि ५४ वर्ष उमेर समूहका १४ हजार ९ सय ६ जनाले सोहि खोप लगाएको पोखरा महानगर स्वास्थ्य महाशाखाकी नागरिक सहायता अफिसर सुजता पोखरेलले जानकारी दिइन् । उनका उनुसार महानगरमा २१ हजार ८ सय २४ जनाले कोभिसिल लगाएका छन् ।
भेरोसेलको मात्रा आइरहँदा कोभिसिल लगाएका नागरिक अन्योलमा परिरहँदा स्वास्थ्य मन्त्रालयले दोस्रो डोजको कोभिसिल ल्याउने तयारी गरिरहेको पोखरेलले बताइन् । ‘हामीले महानगरमा प्राप्त सबै खोप बाडिरहेका छौँ, कोभिसिल पनि केहि समय पछि आउँछ आत्तिनु पर्दैन’ उनले भनिन्,‘ कोभिसिल लगाउने सबै ६५ वर्ष माथिका हुनुहुन्छ । खोप आउने क्रमजारी नै छ सबैले खोप पाउँछन् ढिलो चाडोको कुरामात्र हो ।’
महानगर स्वास्थ्य महाशाखाको तथ्याङ्क अनुसार मंगलबारसम्म संक्रमितको संख्या २५ हजार ७सय ९२ पुगेको छ । जसमध्य ११ हजार ३ सय ५६ जना महिला र १४ हजार ४ सय ३५ जना परुष रहेका छन् । अहिले पोखरामा २ हजार २ सय ६८ संक्रिय केश रहेको पोखरेलले बताइन् । यस्तै महानगरले कोरोनाबाट मृत्यु भएका ८ सय ६४ जनाको शव व्यवस्थापन गरेको छ । जसमध्ये ४ सय ३५ जना महानगरकै नागरिकहरु रहेका छन् ।
महानगरले कोरोना नियन्त्रणका लागि महानगरका सिमा क्षेत्रहरु हेम्जा, मजुवा, छोेरेपाटन र वेगनासतालमा हेल्प डेस्को व्यवस्था गर्दै यस अघि कोरोना नियन्त्रणका लागि प्रचार प्रसार गर्दै आएको थियो । अघिल्लो वर्ष कोरोना महामारीको रुपमा फैलिने क्रममा महानगरले विभिन्न क्षेत्रमा १२ वटा क्वारेन्टाइनको व्यवस्था गरेको थियो । ‘हामीले कोभिडको समयमा १२ वटा क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था गरेका थियौँ । कोरोना बाट जोगिन विभिन्न प्रसार प्रचारदेखि स्वास्थ्य सामग्रीको समेत व्यवस्था गरेका थिर्यौँ ’ पोखरेलले भनिन्,–‘यतिमात्र होइन हामीले निशुल्क स्वाव परिक्षणलाई निरन्तरता दिएकै छौँ । हप्ताको बुधवार र शनिवार बाहेक अन्यबार महानगरको विभिन्न स्थानमा स्वाव परिक्षण हुन्छ ।’ महानगरले आइतवार कृषि तालिम केन्द ५्र, मंगलबार तालचोक २६ लेखनाथ खेलमैदान र सोमवार, बिहिवार र शुक्रवार पोखरा ९ प्रदर्सनी केन्द्रबाट स्वाव संकलन गरिरहेको छ । महानगरले कोरोना बढेको वडामा भने छुट्टै टोली पठाएर स्वाव संकलन गरिरहेको छ । महानगरले निशुल्क एम्बुलेन्सको समेत व्यवस्था गरेको पोखरेलले जानकारी दिइन् ।





