बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

त्रिवेणीको ‘बिओपी’ जीर्ण

त्रिवेणीको ‘बिओपी’ जीर्ण

‘त्यो क्षेत्र सिँचाइ कार्यालयको जमिन भएकाले सिँचाइले भवन बनाएमात्र मिल्छ । अन्य कार्यालयको संरचना निर्माण गर्न भने कानुनी अड्चन छ । त्यसैले पनि जीर्ण भवनमा बस्नुपरेको छ ।’


  • खगेन्द्र पराजुली,
  • भाद्र १ २०७८, मंगलबार

नवलपुर/ गण्डकी प्रदेशको दक्षिणी नाका भारतसँग सीमा जोडिएको नवलपुरको त्रिवेणी नाकाको सीमा सुरक्षा पोस्ट (बीओपी ) खण्डहर अवस्थामा छ । पोस्टका लागि आवश्यक जमिन उपलब्ध नहुँदा पुरानै भवन जीर्ण अवस्थामा पुगेको हो ।
भारतसँग जोडिएको प्रदेशको एकमात्रै अन्तर्राष्ट्रिय नाकाकासुरक्षाकर्मी बस्ने पोस्टकै दयनीय अवस्थाले नेपालकै सुरक्षा निकायको र व्यवस्थापनको चित्रण गरेको स्थानीय बुद्धिजीवीहरुको गुनासो छ ।
२०१६ सालमा नेपाल–भारतबीच गण्डक सम्झौता भएपछि सिँचाइ नहरका लागि बनेको भवनलाई सीमा सुरक्षा पोस्टले प्रयोग गर्दै आएको हो । अहिले बीओपी बसेको जग्गा गण्डक सम्झौताअनुसार गण्डक सिँचाइ नहरको हो यहाँ ३ वटा भवन पोस्टले प्रयोग गरेको छ ।

जिल्लाका थुप्रै सुरक्षा निकायमा आधुनिक सुविधासम्पन्न नयाँ भवनहरु बनेर प्रयोगमा आइरहँदा सीमा सुरक्षामा खटिएर रहनुपर्ने कार्यालय खण्डहर अवस्थामा बस्नुपर्ने अवस्था कानूनी नियमको बाध्यता भएको प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले बताइन् । ‘त्यो क्षेत्रसिँचाइ कार्यालयको जमिन भएकाले सिँचाइले भवन बनाएमात्र मिल्छ,’ उनले भनिन्, ‘अन्य कार्यालयको संरचना निर्माण गर्न भने कानुनी अड्चन छ । त्यसैले पनि जीर्ण भवनमा बस्नुपरेको छ ।’
सुरक्षा निकायको स्वामित्वमा जमिन नभएकाले १४ कठ्ठा जग्गा भोगचलनका लागि बीओपीलाई उपलब्ध गराउन सरकारसँग माग गरिएको सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजु अर्याल बताउँछन् । ‘जिल्ला प्रशासन कार्यालयको सिफारिस पत्रसहित भवन निर्माण गर्नका लागि जग्गा भोगचलन गर्न पाउने गरि निर्णय गरिदिन गृह मन्त्रालयमा पत्राचार गरेका थियौं,’ उनले भने, ‘तर यस विषयमा अहिलेसम्म कुनै सुनुवाइभएको छैन ।’ उनले बिओपी भवनको दुरावस्था देख्दा सुरक्षा निकाय गम्भीर र चिन्तित रहेको सुनाए ।

सिडीओ पंगेनीले देशको सुरक्षा गर्ने निकायकोे अवस्था दयनीय हुनु दुःखद भएको स्वीकार्दै सरकारले यस विषयमा नियमभन्दा माथि उठेरै भए पनि निकास दिनुपर्ने बताउँछिन् । ‘सीमा सुरक्षा पोस्ट सीमामै बस्नुपर्छ अन्यत्र बस्न पाइँदैन । सीमामा पोस्टको आफ्नै नामको जग्गा उपलब्ध हुने कुनै विकल्प छैन । सीमामा नहरको बाहेक अरु सार्वजनिक जमिन छैन त्यसैले पनि बीओपीका लागि जमिन उपलब्ध गराउन व्यवहारिक रुपमा निकास दिनुपर्छ भनेकी हुँ,’ उनले भनिन् ।
उनले सीमा क्षेत्र संवेदनशील क्षेत्र भएकाले यस निकायलाई मजबुत बनाउन जरुरी हुने बताइन् । सीमाक्षेत्रमा कतिबेला कस्ता परिस्थिति आउँछन् भन्ने थाहा नहुने भएकाले गृह–रक्षा लगायत उपल्लो तहमा आफूले पनि कुरा गरेको पंगेनीले सुनाइन् ।

आफैं निरीक्षण र अनुगमनमा जाँदा विओपीको अवस्था आफ्नै आँखाले देख्दा दुख लागेको अनुभव सुनाइन् । अवस्था विजोग देखें,भवनको अवस्था दयनीय छ, खण्डहर छ, सामान्य भुकम्प पनि सहँदैन त्यो भवनले, ठूलो पानी आउँदा पनि भत्केला जस्तो छ, उदेकलाग्दो अवस्था छ उनले भनिन् ।
भवनको अवस्था नाजुक त छदैछ गण्डक ब्यारेज पुल नजिकै सीमामा खटिएका सुरक्षाकर्मी बस्ने समेत उचित व्यवस्था छैन यहाँ । सुरक्षाकर्मी पाल टाँगेर बस्ने गर्दछन् । रातबिरात वर्षा, हावाहुरी आउँदा समस्या छ । तराई क्षेत्र भएकाले विषालु सर्पको पनि उस्तै त्रास छ ।

त्रिवेणी स्थित यस सीमा सुरक्षा पोस्टमा अहिले ३३ जना सुरक्षाकर्मी सीमा सुरक्षाका लागि खटिएका छन् । सीमामा रहेका प्रहरीले सीमामा हुने अवैध गतिविधि नियन्त्रण, सीमामा गस्ती, पेट्रोलिङ, सीमा स्तम्भको निगरानी लगायतका काम गर्ने गर्दछन् । यहाँ ३ वर्षखघि बीओपी स्थापना गरिएको डिआइजी अर्यालले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->