विश्व समुदाय कोभिड १९ को महामारीले थलिएको डेढ वर्षभन्दा बढी भयो । सन् २०१९डिसेम्बरको अन्त्यतिरबाट चीनको वुहानबाट उत्पत्ति भएको मानिएको यस महामारीले अहिले लगभग संसारलाई नै थला पारेको छ ।
उत्तर कोरियाको त खबर खासै थाहा हुँदैन । तर,पौने ८ अर्बको यो विश्वको लगभग सबैजसो नागरिक यो महारोगबाट कुनै न कुनै रुपमा प्रभावित छन् । केही यसबाट संक्रमित भएरै प्रभावित छन् भने अरु कतिपय महामारीजन्य समस्याका कारण आफ्ना कामदाम गर्न नपाएर प्रभावित छन् ।
सायद यो शताब्दिकै ठूलो त्रासका रुपमा देखिएको यो महारोगले विश्वको आर्थिक, सामाजिक, सांस्कृतिकलगायत सबै क्षेत्रमा अकल्पनीय प्रभाव पारिरहेको छ । यो आलेख तयार पार्दासम्म यो महारोगले विश्वका २० करोड ५३ लाख मानिसलाई संक्रमित बनाएको छ भने ४३ लाख ३३ हजारभन्दा पनिबढीको त ज्यान नै लिएको छ । नेपालमा पनि यसले १० हजारभन्दा बढीको ज्यान लिएको छ । अरु लाखौँ संक्रमित भएका छन् ।
त्यसैले अहिलेको यो पुस्ताले यसअघि कल्पनै नगरेको यो महामारीका समयमा विश्व र हाम्रो देश नेपालका मिडियाले समेत कसरी आफ्ना सञ्चारकर्महरु सम्पादन गरे, हामीले नेपालमा के ग¥यौं भन्नेबारे सामान्य खोजतालस गर्नु जरुरी छ । किनभने यसले हामीलाई आगामी दिनमा पनि यस्तै महामारीले छोयो भने त्यसबेला अहिलेकोभन्दा अझ राम्रो कसरी गर्ने भन्ने बारेमा पनि आफ्ना तयारी र गृहकार्यहरुलाई अघि सार्नै पर्ने हुन्छ ।
यस आलेखमा यिनै केही तथ्य प्रस्तुत गर्दै यस्तो महामारी भोलिको पुस्ताले पनि बेहोर्नुुपर्ने अवस्था आयो भने त्यसको अवस्था के होला र त्यसलाई कसरी पार लगाउन सकिन्छ भन्ने हेतुले हाम्रा सञ्चारकर्मका केही सुझवुझका पाटाहरुलाई समेट्ने प्रयास गरिएको छ ।
‘संकटहरुको एउटा चरित्र नै हो, तिनीहरु छोटो समयका लागि आउँछन् । त्यस निम्ति अपनाइएका तौरतरिका भने मानव जीवनका लागि पछिसम्म ‘समाधानको सुत्र’ बनेर बसिरहन्छन्,’ समकालीन विश्वका एकजना प्रखर चिन्तक युभल नोहा हरारीले फाइनान्सियल टाइम्स्मा गतवर्ष लेखेको लेखमा यो विचार राखेका छन् ।
‘कोरोना भाइरसपछिको विश्व’ शीर्षकको यो लेख कोरोना भाइरसविरुद्ध कसरी लड्ने र त्यसपछिको विश्वका लागि यो लडाइँबाट कस्तो थिति बसाल्ने भन्नेमा बढी केन्द्रित छ । उनी लेख्छन्, ‘कुनै विन्दुमा गएर अहिलेको यो तुफान पक्कै थामिनेछ । मानवजाति पक्कै जीवित रहनेछन् । हामीमध्येका धेरै जना बाँची नै रहने छौं, तर हामीले आगामी पुस्ताका लागि एउटा फरक संसार छोडेर जानेवाला छौं ।’
हरारीले भनेजस्तै यो ‘कोभिड १९’ नाम दिइएको नोबल कोरोना भाइरसले हाल विश्वव्यापी उत्पन्न गरेको महासंकट समाधानको सुत्रको खोजीमा यतिखेर यो सिंगो धर्ती लागेको छ । अनि हामी मिडियाकर्मीले पनि हाम्रा कार्यलाई निरन्तरता दिन र आगामी पुस्तालाई पनि यदि यस्तै महामारीले छोयो भने कसरी बाँचेर आफ्ना कामलाई अघि सार्ने भन्ने बारेमा सोधखोज र अभ्यास गरिरहेका छौं ।
सूचना र महामारी
सूचना नागरिकको मौलिक अधिकार हो । तर पनि यसको परिभाषा नागरिकको मौलिक अधिकारसँग मात्र सीमित छ भन्न मिल्दैन । किनभने यो हरेक व्यक्तिको जनजीविकासँग प्रत्यक्ष रुपमाजोडिएको छ । त्यसैले भन्ने पनि गरिएको छ, ‘सूचना खान त मिल्दैन, तर सूचना पाएन भने मानिस भौकै मर्न सक्छ ।’
यो महत्वपूर्ण सूचना महामारी र प्राकृतिक विपत्तिको समयमा अझबढी महत्वको हुन्छ । सामान्य समयको भन्दा यस्तो समयको सूचना बढी संवेदनशील हुन्छ । यस्तोबेलाको हरेक सूचनाले हरेक मानिसको जीवन बोकेको हुन्छ । अहिले संसारका मानिसले कोरोनाबारे मात्र सूचना खोजिरहेको छ, त्यही सूचनाभित्र उसले आफ्नो जीवन खोजिरहेको छ ।
अहिले संसारका व्यावसायिक अनुसन्धानकर्ताहरुले अनुसन्धान गर्ने हो भने मानिसले यतिबेला खोजिरहेको सूचना भनेको कोरोना भाइरसबाट कसरी बच्न सकिन्छ भन्ने नै हो । त्यसैले त प्रत्येक देशका सञ्चारमाध्यमले पनि यो बाहेकका अरु समाचारलाई प्राथमिकतामा राखेका छैनन् । यही सूचना सम्प्रेषणको प्रवृत्ति नेपालमा पनि देखिन्छ ।
सञ्चारका जानकारहरु पनि अहिलेको प्राणघातक भाइरसलाई परास्त गर्न विश्वभर सूचनाको व्यापकता र आदानप्रदानले प्रभावकारी काम गर्छ भन्नेमा सहमत छन् ।हामी आफैँले यसो सरसर्ती हेर्दा पनि यतिखेर हामी सूचना बाहेकको अर्काे कुनै शक्तिले यो कोरोना विरुद्धमा लडेका छैनौं ।
कोरोना नामको यो अदृश्य शत्रुविरुद्ध लड्न अहिलेको विश्वको शक्ति (धन दौलत, हतियार, आणविक शस्त्रास्त्र) आदि केहीले सकेको छैन । मात्र यसबाट बच्ने सूचना सबैतिर सबैलाई चाहिएको छ । मानिसले औषधिकै पनि सूचना पाउनुपर्छ ।
केही समयअघि एक औषधिले बेलायतमा हुनसक्ने मृत्युको करिब एक तिहाईजति घटाएको भनी बीबीसीले दिएको समाचारलाई सर्वाधिक रुपमा सेयर गरिएको या पढिएको थियो । यसबाट के प्रमाणित हुन्छ भने अहिलेको मानिस कोरोना विरुद्धको अर्थात् यसबाट बच्ने उपायको सूचनाकै खोजीमा छ ।
यसरी अहिलेको महामारीका विरुद्ध लड्न उपलब्ध सहज र सजिलो स्रोत र सुविधा नै सूचना हो । कहाँबाट के नयाँ कुराको आविष्कार भयो र त्यो अदृश्य सत्रुलाई कसरी परास्त गर्न सकिन्छ, निस्तेज पार्न सकिन्छ भन्ने सूचनाकै खोजीमा पर्खिएको छ अहिलेको विश्व ।
विश्वलाई सताएको यो कोरोना महामारीको आतंक त छँदैछ, यस्तो बेलामा अझबढी त सूचनाको महामारीले पनि नागरिकलाई छोयो । बरु रोगले छुँदा कुनै परिवार गाउँँ या समाजलाई छोला, तर सूचनाको महामारीले सारा संसारलाई नै छुन्छ । उबेला अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मलेरियाको दबाईले कोरोना निको हुन्छ भनेका मात्र होइनन् कि भारतसँग त्यो औषधि मगाए । यो समाचारको प्रभाव नेपालसम्म पनि नपर्ने कुरै भएन ।
भारतमा रामदेवले गुर्जाेले कोरोना रोक्न सघाउँछ भन्ने सूचना प्रवाह गरेदेखि नै नेपालमा अहिलेसम्म नै घरगाउँबाट आउने व्यक्तिले ल्याउने खास कोशेली नै अहिले यही भएको छ । उता ट्रम्पले अमेरिकामा ३ लाख मानिस मर्नसक्छन् भन्ने सुरुकै भविष्यवाणीले गर्दा त्यहीँका चिकित्सकहरुको आक्रमणको शिकार हुनुप¥यो ।
भारतमा कतै गाईको गहुँत खाएकालाई कोरोना भाइरसले छुँदैन भन्ने त कतै शाकाहारीलाई छुँदैन भन्ने जस्ता व्यापक हल्ला आए । कतै स्यानिटाइजर रक्सीबाट बनाएकोले रक्सी खायो भने कोरोनाका जीवाणु मर्छन् भनेर पनि प्रचार गरियो । त्यस्तै कतै उमेर पुगेकालाई यसले बढी गाल्छ भनेर आयो भने कतै महिलालाई भन्दा बढी पुरुषको ज्यान लिन्छ भन्नेसम्मका पनि आए । यी सबै सूचना महामारीका एकाध उदाहरण मात्र हुन् । यस्ता महामारीहरु धेरै आए बजारमा ।
तर, कुनै क्षेत्र, वर्ग र व्यक्ति विशेषले अघि सारेका केही उदाहरणहरुलाई समाचार बनाएर मिडियाले प्रकाशन प्रसारण गरेकाले विभिन्न देशमा सूचना महामारीको बाढीले पनि मानिसलाई क्षति पु¥याएको थियो ।
कोरोनाको सूचना र नेपाल
हामीले प्राकृतिक विपत्तिको सूचना प्रभावकारी रुपमा सम्प्रेषण गर्ने अनुभव हासिल गरेका छौँ । हामी आफैं संलग्न भएको र प्रत्यक्षदर्शी रहेको यसको एक उत्तम उदाहरण विसं २०७२ को भूकम्प हो ।
त्यससमय नेपाल सरकारसँग प्रेस साथैमा थियो देशवासीलाई समाचारका माध्यमबाट सान्त्वना दिन । र कतिपय समयमा प्रेसले सरकारलाई डोराएको, बाटो देखाएको र कुनैबेला पहरेदारीको भूमिका निभाएको थियो । नागरिकले कता धेरै उद्वार र राहात पाए, कता थोरै पाए या पाएनन् भन्ने विषयमा प्रेसले सरकारका कामलाई चनाखो भएर पछ्याएको थियो ।
त्यस्तै क्षति तथा जोखिम कम गरी नागरिकको ज्यान बचाउन के गर्न सकिन्छ भन्ने बारेका सूचना खोजी खोजी प्रेसले नागरिकलाई पस्किएको थियो । त्यसबाट नागरिक बढी लाभान्वित भएका र सञ्चारमाध्यमलाई पछ्याएका पनि थिए ।
अहिले पनि हामी महामारीमा छौँ । त्यो प्राकृतिक प्रकोप र यो महामारीको सूचना उत्तिकै महत्वपूर्ण, जिम्मेवार र संवेदनशील हुन्छ । बढी महत्वको भएकैले त्यतिखेर र अहिले पनि नागरिकले बढी यही सूचना खोजेका थिए, छन् । अझ बढी यस्तो बेलामा सूचना सम्प्रेषण गर्ने जिम्मेवारी सरकारकै हुन्छ ।
उसले आफ्ना सञ्चारमाध्यमहरुको प्रयोग गरेर नागरिकलाई यस विषयका सूचना र शिक्षा दिनुपर्ने दायित्व हुन्छ । अनि निजी क्षेत्रका सञ्चारबाट सरकारले सूचना लिन सक्दछ । यसरी इमान्दारीपूर्पक र सही सूचना लिदा र दिँदा त्यसको परिणाम पनि सकारात्मक र रचनात्मक नै निस्किन्छ ।
सरकारले आफूले दिने सूचनाको प्रवाह गर्ने प्रणालीलाई सहज र एकीकृत बनाइदिन सके सञ्चारकर्मीलाई र त्यसले समग्र नेपाली नागरिकलाई सजिलो हुनेछ । यसका लागि मन्त्रीले पत्रकार सम्मेलन नै गर्नुपर्छ भन्ने छैन ।
एक अलग्गै वेभसाइट खोल्ने र छिनछिनमा कोरोनासम्बन्धी सूचना अध्यावधिक गरेर त्यसैमा राखिदिने गर्नाले पनि अहिले सजिलो भएको छ । कतिपय अवस्थामा सम्प्रेषण भएका सूचनाले नागरिकलाई झन् भयभित गराएको पनि हुनसक्छ भन्ने कुरा हामीले सुरुदेखि नै ख्याल गर्न सकेका छैनौँ ।
मिडियाले के गर्ने ?
हामी सञ्चारकर्मीहरुले महामारीका विरुद्ध मानवलाई सुविस्ता हुने सूचना सम्पे्रषण गर्न सकेका छौँ कि हाम्रा सन्देशको प्रस्तुतिले उल्टै भाइरस सक्रिय हुनेगरी मलजल पुगेको छ भनेर पनि हेर्नुपर्ने देखिन्छ । हाम्रा सूचना सम्प्रेषणले महामारीको नियन्त्रणात्मक र निदानात्मक विधिहरुलाई कत्तिको सघाएका छन् भनेर पनि हामीले हेर्नुपर्ने हुन्छ ।
हामीले यो संकटका बेलामा बसालेको थिति नै भोलिको पुस्ताले सम्भावित यस्तै महामारीका विरुद्ध लड्ने अस्त्र बन्न सक्छ । हामीले अहिले नै गलत सिकायौँ भने त्यसले भोलिको पुस्ताले हामीलेभन्दा झन्बढी दुःख पाउन सक्छ ।
यस्तै समयमा हाम्रा पूर्वजले के गरेका रहेछन् भनेर हेर्ने गरिन्छ र हेर्नु पनि पर्दछ । जस्तो कि अहिलेको मिडियाले सन्दर्भको रुपमा यसअघिको स्पेनिस फ्लुको बेलाको अध्ययन अहिले पक्का पनि गथ्र्याे होला तर त्यतिखेर अहिलेको जस्तो मिडिया नै आएको थिएन । त्यसैले पनि अहिलेको यो महामारीबाट हामी मिडियाकर्मीहरुले धेरै सिक्नु र जान्नुपर्छ अनि थिति बसाल्नुपर्छ ।
यस्तो बेलामा हामीहरुले यस महामारीबाट तुलनात्मक रुपमा बच्न अथवा नियन्त्रण गर्न सकेका देशहरुका सफलताका उदाहरणहरु पनि दिन सकिन्छ । जस्तो कि चीन, दक्षिण कोरिया, सिंगापुर, ताइवान, जापानजस्ता देशहरुले कसरी त्यहाँको अवस्थालाई नियन्त्रणमा लिन सकेका छन् भन्ने उदाहरणहरुले हामीलाई पनि लड्न सजिलो बनाउनेछ ।
यस्तो बेलामा संसारको एउटा कुनाको चिकित्सक, स्वास्थ्य अधिकारी या देशले अख्तियार गरेको विधि र रणनीतिको सार्वजनिकीकरणलाई अर्काे कुनाको यस्तै योद्धाले अनुशरण गर्न सक्छ, सर्वसाधारण नागरिकलाई पनि यसले सिक्न मद्दत पुर्याउँछ । यसमा उसले अझै आफ्नो दिमाग र सीप मिसाउन सक्यो भने यो अदृश्य शक्तिका विरुद्धको लडाईँमा अझै परिस्कृत प्रगति हासिल गर्न सघाउँछ । यसरी गरिने सूचना सम्प्रेषण र आदान प्रदानले नागरिकमा सचेतना त ल्याउँछ र राज्य प्रणालीलाई पनि आफ्नो रणनीतिक सफलतामा सघाउँछ ।
पत्रकारिताका विभिन्न विधाहरुमध्ये यस्तो महामारीको बेलामा स्वास्थ्य बिटलाई बलियो बनाउन सक्नुपर्छ । समाचारमा स्वास्थ्य पत्रकारहरुको पहुँच बढाउनुपर्छ । यस्तो अवस्थामाआधिकारिक, सही र तथ्यपूर्ण सूचना मात्र दिनुपर्छ । महामारी बढाउने होइन कि नियन्त्रण गर्ने गरी सूचना दिनुपर्छ ।बढी भन्दा बढी सफलताका कथाहरुको प्रचारप्रसार गर्ने गर्नुपर्छ जसले विरामी, स्वास्थ्यकर्मी तथा विरामीका आफन्तहरुको मनोबल पनि उच्च राख्न र प्रेरित गर्न सकोस् ।
मृत्यु हुनेको समाचार दिन त्यति हतार गर्नु हुँदैन किनभने यसले गर्दा संक्रमितहरु, उपचाररत या क्वारेन्टिनमा रहेकाहरुको आत्मबलमा ठेस लाग्न सक्छ ।यही अप्ठेरो अवस्थालाई मनन् गरेर प्रेस काउन्सिल नेपालले तयार पारेको आचारसंहिता पनि छ । यो विशेष परिस्थिति भएका कारण प्रेस काउन्सिलले पनि विशेष खालकै आचार संहिता जारी गरेको होला भन्ने बुझेर त्यसको पालना गर्न सकेमा पनि नेपालमा महामारीभन्दा पनि बढी क्षति गर्नेगरी आउन सक्ने सूचनाको महामारीलाई सजिलै रोक्न सकिन्छ ।
(पाठक राससका प्रधान सम्पादक हुन्)





