तनहुँ/ दिउँसो २ बजेतिर नुहाउनलाई तातोपानी तताउँदै थिइन् शुक्लागण्डकी नगरपालिका१२ फिरफिरे घरेडीकी शिरमती गुरुङ । ५७ बर्षीया गुरुङले आफ्नै हरको कपडामा आगो सल्किएको चेत पाइनन् ।
शरीर पोल्न थालेपछि बल्ल महसुस भो उनलाई । जब छालामा पोल्न थाल्यो उनी अत्तालिइन्, हारगुहार गरिन् । श्रीमान् र छोरा घरमा थिएनन् । छिमेकीले आएर उनको शरिरमा लागेको आगो निभाए, कपडा खोलिदिए । पूरै शरिर जल्नबाट जोगाए । तर, कम्मरमुनीको भाग भने नारम्ररी जलिसकेको थियो । त्यसपछि उनका श्रीमान् यामबहादुरले उपचारको लागी पोखरा रानीपौवाको मेडिप्लस हस्पिटल पु¥याए । यो घटना २०७७ माघ २३ गतेको हो ।
यामबहादुरले शिरमतीको मेडिप्लसमा १४ दिन उपचार गराए । ऋणधन गरेर उपचारमा २ लाख रुपैयाँ सकाए । तर, पैसा सकिएपछि घाउ निको नहुदै घर फिर्ता ल्याउनुप¥यो । आगोले पोलेको घाउ निको नहुदैँ घर ल्याउनुपर्ने उनको बाध्यता थियो ।
शरीरको घाउ त निको भएन झन मनमा पनि घाउ थपियो । ‘ऋण खोजेको २ लाख पनि सकियो । आफूसित पैसा नभएपछि निको नहुँदै घर ल्याउनुप¥यो’, उनले अगाडि थपे, ‘अरु पैसा जुटाउन सक्ने अवस्था थिएन्, मेरो केही उपाय लाएन।’
घरमा ल्याएपछि ६ महिनासम्म शिरमतीको आगोले पोलेको घाउ निको भएको छैन् । कम्मरमुनीको भाग पनि चल्न छोड्यो । विस्तारमै थला भईन् । तर, उपचार गर्न अस्पतालसम्म पु¥याउन सघाउने कोही भएन् । आर्थिक अवस्था कमजोर भएका उनले फेरी कसैसित हारगुहार गर्न सकेनन् । ‘सबैले अवस्था देखेकै थिए । को संग हारगुहार गर्ने’,भावुक हुदैँ उनले भने ।
बुधबार घरेडी टोल बिकास संस्थाको भेलामा पुगेका वडाध्यक्ष मनराज गुरुङले उनको दयनिय अवस्था देखे । साँझ फेसबुकमा उपचारका लागी सहयोगको अपिल गरे । विहीबार विहानै वडाध्यक्ष गुरुङले नै थला परेकी शिरमतीको उपचार गराउन पोखराको हरियोखर्क अस्पताल पु¥याएका छन् । अस्पतालमा भर्ना गरेर उपचार प्रकृया सुरु भएको वडाध्यक्ष मनराज गुरुङले बताए ।
‘फेसबुकमा सहयोगको अपिल गरेपछि आर्थिक सहयोगको प्रतिबद्धता आउदै थियो । प्रतिबद्धता भएपनि पैसा आएको अवस्था थिएन् । तर, उपचारमा ढिलाई होला भन्ने सोचेर अस्पताल ल्याईहाल्यौँ’, उनले भने । अस्पतालमा भर्ना गरेपछि २० हजार रुपैयाँ डिपोजिट शुल्क र औषधी खरिदसंगै खानबस्नका लागी बिरामीका श्रीमान् यामबहादुरलाई १० हजार रुपैयाँ उपलब्ध गराएको वडाध्यक्ष गुरुङले जनाकारी दिए । समाचार तयार पार्दासम्म श्रीमतिको उपचारका लागी १२ हजार १ सय ५५ रुपैयाँ प्राप्त भएको उनले जनाए ।
६ महिनासम्म थला परेकी श्रीमतिलाई उपचारका लागी अस्पताल भर्ना गराएपछि निको हुने आश पलाएको यामबहादुरले बताए । ‘अस्पताल ल्याएपछि धेरै आश पलाएको छ । अब हातखुट्टा चलेर आफैँ उभिन सक्छ की भन्ने छ’, टेलिफोन कुराकानीमा उनले भने ।





