काठमाडौं/ नेकपा -एमाले- ले केन्द्रीय महाधिवेशन आगामी मंसिरमा गर्ने निर्णय गरेको छ ।
माधव नेपालको नयाँ पार्टीमा नगएका १० जना नेतासहित मंगलबार बसेको पार्टी स्थायी कमिटी बैठकले आगामी मंसिर १०, ११ र १२ गते महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए।
उनका अनुसार विधान महाधिवेशन असोज ४, ५ र ६ गते काठमाडाैंमा हुनेछ ।
विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रस्ताव तयार गर्न भदौ २५ र २६ गते स्थायी कमिटी र २७ र २८ केन्द्रीय समितिको बैठक बोलाइएको छ ।
पार्टीको पक्षमा रहेर क्रियाशील हुने केन्द्रीय समिति, प्रदेश, जिल्लासहित सबै तहका पदाधिकारी र सदस्यलाई २०७५ जेठ २ गतेपूर्व क्रियाशील हुन निर्देशन दिने निर्णय बैठकले गरेको छ ।
१० बुँदे सहमति कार्यान्वयनका क्रममा आइपर्ने समस्या समाधानका लागि तथा केन्द्रीय समितिमा १० प्रतिशत सदस्य मनोनयन, केन्द्रीय निकाय तथा विभागलाई पूर्णता दिन र पुनर्गठन गर्नका लागि कार्यदल बनाइएको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार कार्यदलमा इश्वर पोखरेल, भीम रावल, विष्णु पौडेल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेका छन् ।





