आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

राम्रो पार्टी बनाउनुहोला शुभकामना : सापकोटा

राम्रो पार्टी बनाउनुहोला शुभकामना : सापकोटा

कास्कीमा समानान्तर संगठन विघटनतिर ।


  • ढोरपाटन संवाददाता
  • भाद्र १० २०७८, बिहिबार

पोखरा/माधव नेपाल पक्षका गण्डकी प्रदेश सांसद इन्द्रलाल सापकोटा पनि अध्यक्ष ओली नेतृत्वको एमालेमै रहने भएका छन् । नेपाल पक्षका स्थायी कमिटी सदस्यसहित मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले १० बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै सापकोटाले पार्टी विभाजनको पक्षमा नलाग्ने स्पष्ट पारे ।

‘हामीले विगत लामो समयदेखि खराब प्रवृत्ति विरुद्ध लड्यौं, पहिलो कार्यकर्ता भेलाले नै न विभाजन, न समर्पण भनेका थियौं,’ सापकोटाले भने, ‘हामीले चाहेको विभाजन होइन, पार्टीभित्रै संघर्ष गर्ने हो ।’ माधव नेपालले पार्टी विभाजन गर्न हतार गरेको सापकोटोले टिप्पणी गरे ।

नेतृत्वको हठ र असक्षमताले पार्टीमा विभिन्न घटना भएको उनले बताए । विगतमा पार्टीभित्र बसेर अन्तरसंघर्ष गर्ने अवस्था नरहेको भन्दै उनले १० बुँदे सहमति कार्यान्वयनसँगै त्यो अवस्था आएको बताए । ‘पार्टीभित्र फरक मत दर्ज गरेर बेठीकलाई बेठीक नै भन्छौं,’ उनले भने, ‘पार्टीभित्रै लडेर अगाडी बढ्न चाहन्छौं ।’

एउटै उदेश्य र लक्ष्य बोकेको धेरै कम्युनिष्ट पार्टी आवश्यक नरहेको भन्दै उनले भाविश्यमा पनि पार्टी एकता हुन सक्ने बताए । ‘माओवादीको उदेश्य समाजवाद राखेका छन्, कार्यनीति चुनाव छ, जुन पहिलेदेखि नै एमालेले बोकेको लक्ष्य र कार्यदिशा हो,’ उनले भने ।

केपी ओली र माधव नेपालकै सहमतिमा एकता गर्न कार्यदल बनेको र कार्यदलले बनाएको १० बुँदे समझदारी पनि दुबै नेताको सहमतिमा भएको उनले दाबी गरे । ‘माधव नेपालको सहमति बिना भीम रावलले एउटा कमा र पूर्णबिराममा पनि हस्ताक्षर गर्नुभएको छैन,’ उनले भने, ‘दुबै नेताको समझदारी थियो, माधव कमरेड समझदारी अनुसार अघि बढ्नुभएन ।’

अध्यक्ष ओलीले विगतमा गरेका गल्तीमा आत्मआलोना नगरेको प्रति इङ्गित गर्दै उनले हारेका व्यक्तीले पनि कहिलेकाहिँ हारेँ भन्न नसक्ने उनको भनाई छ । नेतृत्व स्थायी नहुने भएकाले फेरिनेसमेत उनले बताए ।
नेकपा एकिकृत समाजवादी पार्टी बनाएका माधव नेपाल र माओवादी अध्यक्ष प्रचण्डवीच पार्टी एकता हुने कुरालाई भने उनले शुभकामना दिए । ‘माधव र प्रचण्ड मिलेर राम्रो पार्टी बनाउनुभयो भने शुभकामना छ, राम्रो भयो भने फेरी एकता गरेर जाउँला नि,’ उनले भने । एउटा सन्दर्भमासँगै बस्न नसकेपनि भविश्यमा एकता हुन सक्ने उनले बताए ।

पार्टीभित्रका अंक गणित पनि स्थायी नहुने उनको भनाई छ । एमालेको छैठौं महाधिवेशनमा माधव नेपाल र केपी ओली एउटै कित्तामा रहेको भन्दै उनले त्यतिबेला वामदेव गौतम पार्टी फुटाउने अभियानमा लाागेको बताए । पछि ओली र नेपाल नै छुट्टाछुट्टै कित्तामा पुगेको दृष्टान्त दिँदै सापकोटाले सधैं एउटै कित्तामा रहने व्यक्ती दास हुने बताए ।

एमाले बागलुङका अध्यक्ष समेत रहेका सापकोटाले पार्टीका बैठकहरुमा जमेर कुरा राख्ने बताए । नेताले भनेका कुरा जस्ताको तस्तै ठिक हो भन्दा एमाले ठिक हुन नसक्ने बताउँदै उनले विगतमा माधव नेपालले उठाएको आवाज अब भीम रावलले उठाउने दावी गरे ।

यता,एमालेको समानान्तर संगठन कास्कीका अध्यक्ष धनराज आचार्यले भोलि औपचारिक रुपले समानान्तर संगठन विघटन हुने बताएका छन् ।

‘हामी बिहीबार समानान्तर संगठन विघटन गर्छौँ, त्यसको बैठकले कि सिंगै समूहले एउटा निर्णय गर्छ कि बहुमतले निर्णय गर्छ’,उनले भने,‘हिजो पार्टी अध्यक्षको प्रतिगमनकारी भूमिकाको विरोध गरेको हो, त्यसमा सफल भइयो । सत्यलाई सत्य नै भन्नुपर्छ ।’ उनले आफू कुन कित्तामा जाने शुक्रबार मात्रै सार्वजनिक गर्ने बताएपनि माधव समूहमा जाने संकेत गरे ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->