मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

एमालेको एकताबद्ध हुने सन्देश

एमालेको एकताबद्ध हुने सन्देश


  • दुर्गा भण्डारी
  • भाद्र १० २०७८, बिहिबार

तत्कालीन नेकपाकै पालादेखि एमालेको विवाद चरमचुलीमा पुगेको थियो । माधव नेपाल समूह एमालेबाट चोइटिएपछि अहिले एमाले लयमा फर्किएको छ । माधव नेपालले नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गरेपछि एमाले गतिशील बनेको छ । एमाले विवाद हल गर्न बनेको वार्ता टोलीमा रहेका माधव पक्षका १० नेताहरु पनि एमाले मुलधारमा फर्किइएका छन् । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एमाले बलियो बनाउने पक्षमा ती नेताहरु लागेका छन् । अब एमाले नेतृत्वको अगाडी पार्टीलाई एकताबद्ध र सदृृढ बनाउने चुनौति थपिएको छ । पार्टीलाई एकताबद्ध पनि बनाउनु पर्छ । अर्को धार छोडेर आएकाहरुलाई विभेदपूर्ण व्यवहार गर्नु हुँदैन । नेकपा एमाले २०७५ जेठ २ को अवस्थामा फर्किएपछि पूर्ववत् जिम्मेवारी दिनेलगायतका प्रस्तावहरु एमाले स्थायी समितिको बैठकबाट पारित भएका छन् । फरक मत राखेका नेताहरू अब ‘सम्मानजनक’ अवस्थामा एकताबद्ध पार्टीमा काम गर्ने बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र अर्को धारका नेताहरु सहितको सामूहिक तस्बीर खिचाएर एकताको संदेश दिएपछि सबै कार्यकर्तामा खुशीयाली छाएको छ । यो खुशी सधँैभर कायम राख्न सक्नुपर्छ । एमाले सिध्याउन लागेका तत्वहरुलाई पार्टी चलायमान बनाएर नै जवाफ दिन सकिन्छ । पार्टीका गतिविधिहरु गरेर कार्यकर्तालाई सक्रिय बनाउनु पर्छ र जनतामाझ विचार पु¥याउनु पर्छ । वास्तवमा एमाले मुलुककै शक्तिशाली र नेतृत्वदायी पार्टी हो । एमालेको लोकप्रियता र शक्ति देखेर कम्युनिष्टको खोल ओडेर विदेशी प्रतिक्रियावादीलाई सहयोग गरेको यतिबेला खुलासा भएको छ । एमाले पार्टीलाई सिध्याउन देशी विदेशी शक्तिहरुको षड्यन्त्र आंशिक रुपमा सफल भएको देखिन्छ । नेपालमा बढ्दै गरेको कम्युनिष्ट क्रेजलाई समाप्त पार्न पार्टीभित्रकै नेताहरु प्रयोग भएका छन् । विशेष गरी एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू सरकामा रहँदा, नेपालको राष्ट्रियताको सवालमा राखेको अडानका कारण देशी विदेशी तत्वहरुको आँखोको तारो बनाइयो । अहिलेसम्म एमालेमा नेतृत्व गर्ने नेताहरु, केपी ओलीबाहेक देश र जनताको हित र पक्षमा अन्तर्राष्ट्रिय फोरमहरुमा बोल्ने आँट कसैले पनि गरेका थिएनन् ।

नेपालमा राजनैतिक स्थायित्व र विकास हुन्छ कमजोर बनाए फाइदा लिन सकिन्छ भनेर पार्टीभित्रै विदेशी चलखेलको सुरुवात भयो । एमाले भित्रको विवादले पार्टीमा ठूलै दुर्घटना होला भन्ने लागेको थियो तर हुन सकेन । एमाले भित्रको सानो हिस्सा चोइटिएर गएको छ । एमाले प्रसव पीडाबाट गुज्रिएको अवस्थामा पुगेको छ । एमालेमा लामो समयदेखि पार्टी भित्र समानान्तर गतिविधि हँुदै आएका थिए । जसले एमालेलाई कमजोर बनाउन खोजिएको थियो । एमाले र माओवादी केन्द्र मिलेर नेपालमा ठूलो कम्युनिष्ट पार्टी बनाउने र देश विकास गर्ने एमाले अध्यक्ष केपी ओलीको सोच थियो । निर्वाचनका लागि गरिएको कार्यगत एकता र पछि गरिएको एकीरणको घोषणाले एमालेले ठूलो मुल्य चुकाउनु प¥यो । एमालेकै कारण माओवादी केन्द्रले अस्तित्वलाई जोगाएको कुरा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सायद बिर्सिएका होलान् । तात्कालीन अवस्थामा यीनै प्रचण्ड र माधव कुमार नेपाल लगातका नेताहरु मिलेर केपी शर्मा ओलीलाई नेकपाको अध्यक्षलगायत साधारण सदस्यबाट बाट समेत हटाउने कोशिश गरे । पार्टीभित्र समानान्तर गतिबिधि चलाइयो । आफ्नै पार्टीको सरकार बिरुद्ध अबिश्वासको प्रस्ताव ल्याउनेलगायत कर्तुत गरियो । पार्टीको नेतृत्व बिरुद्ध जथाभावी बोल्ने र अपमानित गर्ने काम भयो । प्रदेश सरकारहरु ढल्ने काम भए । पद लोलुपताले गर्दा एमालेभित्र ठूलो हलचल मच्चियो । एउटा गुटको नेतृत्व गरेका माधव नेपालले पार्टी फुटाएर गएपनि फेरी पनि एमालेमा गुट कायमै छ । अध्यक्ष केपी शर्मा ओलीको गुटभित्र पनि थुप्रै उपगुट छन् । उपगुट जिल्ला तहमा आइपुग्दा व्यक्तिको पछि लाग्ने प्रवृत्ति देखा परेको छ । यो अस्वथा सृजना हुनुको पछाडी अवसरवादी जमातहरुको भीडले गर्दा हो । यो कुरालाई पार्टी नेतृत्वले समय मै व्यवस्थापन गर्न सकोस् । अनुशाशित एमाले कार्यकर्ता बनाउनेतर्फ ध्यान जाओस् ।

नेतृत्वको नजिक बसेर पार्टीमा डस्ने प्रवृत्तिबाट सधैँ होसियार रहनु पर्दछ । पार्टी नेतृत्वको आड लागेर सोझा इमान्दार कार्यकर्तालाई पाखा लगाउने प्रवृत्ति बढेको छ । इमान्दार कार्यकर्ताको ठाउमा राजनैतिक पृष्ठभूमि नभएकाहरु जस्तोसुकै गरी सम्पत्ति आर्जन गरेका व्यक्तिहरुले ठाउँ पाउने हँुदा एमालेभित्र अझै पनि अवसवादी तत्वहरु मौलाइरहेका छन् । अवसरका लागि कहिले यता कहिले उता र आफ्नो स्वार्थका लागि एउटा नेताको आड लिएर पार्टीको हित विपरित कार्य गर्नेहरु पनि छन् । यस्तो प्रवृत्तिले एमालेलाई अझै पनि कमजोर बनाउनेछ । हालसाल कै घटनाले पनि यो कुरा प्रमाणीत गरेको छ । पहिलोपटक एमालेले टिकट दिएर सांसद भएका नव ढनाढ्य व्यापारी किसान श्रेष्ठ पहिलोपटक नै मन्त्रीका आशा गरेका थिए तर नपाए पछि फ्लोर क्रस गरे । त्यसैगरी वनमन्त्रीसमेत बनाइएका काठ ब्यापारी प्रेम आलेले कित्ता परिर्वतन गरेपछि नेतृत्वको वरीपरि स्वार्थले घुम्नेहरुको भर नहुने देखियो । जस्तोसुकै परिस्थितिमा पनि सदावहार रहने इमान्दार कार्यकर्ताको महत्व बुझ्न जरुरी छ । एमाले नेपाली जनताको आषा र भरोशाको केन्द्र हो । एमाले नै नेपाली कम्युनिस्ट आन्दोलनको मूल प्रवाह पनि हो । पार्टीभित्र संकट आइलाग्छन् । नेतृत्व तहले संकटको कारक को हो भनेर चिन्न सक्नुपर्छ । अरु कम्युनिष्ट पार्टीभन्दा एमाले फरक पनि हो । त्यसकारण पार्टीभित्र असल र इमान्दार केही कार्यकर्ताको कदर होस् भन्ने चाहना हुनु स्वभाविक नै हो । स्वार्थका लागि नेतृत्वको वरिपरि बस्नेहरु नेतासँग ठीक्क पार्ने र पार्टीको माहोल बिगार्नेहरु हुन्छन् । केही कार्यकर्ता निश्वार्थ रुपमा पार्टी हित चिताउने र नेतृत्वको आलोचना गर्ने खालका हुन्छन् । आलोचना गर्नेहरु संधै बेठीक मात्रै पनि हुँदैनन् । नेताको जेसुकै अभिव्यक्ति वा कदमको प्रसंशा गर्नेहरु ठीक मात्रै हुँदैनन् । आलोचना गर्नेहरु सबैलाई शत्रु र विरोधी ठान्नु हँुदैन । पार्टीभित्र पद र पैसाको धार होइन, विचार र सिद्धान्तको धार भयो भने सन्तुलन कायम हुन्छ । एमालेभित्रको संकट अझै टरेको छैन । क्षणिक स्वार्थ हेर्ने जमातहरुको कमी छैन । पार्टी एकताबद्ध धारलाई अगाडी बढाउनु पर्छ । विनापूर्वाग्रह सबै कार्यकर्ता अट्ने ठाउँ हुनुपर्छ ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->