पोखरा/ पोखरा २४ कास्कीकोटका रामजी गिरी (अर्जुन) बाट ठगिएको भन्दै कास्की र रुपन्देहीका पीडितहरुले निवेदन दिए । बैशाखमा र भदौ गरी २ पटकसम्म बुटवलकी कमला शाहले निवेदन दिइन् । तर, उनले पैसा फिर्ता पाइन् न प्रहरीको साथ नै ।
शाहले आफू रामजीबाट ठगिएको र रकम माग्दा ज्यानमार्ने धम्कीसम्म दिएको भन्दै बिहीबार पत्रकार सम्मेलनमाफर्त जानकारी दिएकी छन् । उनले रामजीले विभिन्न बहानामा आफूसँग पटक÷पटक गरी ४ लाख ७ हजार रुपैयाँ ठगी गरेको बताइन् ।
दाइको माध्यमबाट रामजीसँग ठोक्किएकी शाहलाई रामजीले रकम फिर्ता दिने शर्तमा रकम मागेका थिए । तर, अहिले फोन गर्दा अर्कैले उठाउने र बारम्बार नम्बर परिवर्तन गर्दै आइरहेको आरोप लगाइन् । दिएको रकम फिर्ता माग्दा ज्यान मार्नेसम्मको धम्की आफूले पाएको उनको भनाइ थियो ।
‘विभिन्न बहाना बनाएर पैसा माग्दा मैले ११ पटक सम्म पैसा दिएको छु । हिसाव गर्दा ४ लाख ७ हजार भएको रहेछ, विदेशमा भएका दाजुसँग जानकारी लिँदा रामजी गिरी ठग हो भनेर भनेपछि बल्ल म झल्यास्स भएँ, त्यसपछि पैसा माग्दा उसले मारेर तिनाउ खोलामा फाल्दिन्छु भन्यो’, उनले भनिन् ‘म जस्ता कति महिला ठगिएका रहेछन् । मलाइ त घरायसी समस्या देखायो । म घरपनि पुगें । ज्यानमार्ने धम्कीकै कारण म यहाँ आएको हुँ ।’
प्रहरीमा २ पटक निवेदन दिएकी उनले प्रहरीबाट कुनै सुनुवाइ नभएको गुनासो पोखिन् । ‘पैसाको कारण भन्दापनि म ज्यानको सुरक्षाका लागि यहाँ आउन बाध्य भएकी हुँ । आफूलाई एजेन्ट बताउँदै कतिलाई ठगिसकेको रहेछ,’ उनले भनिन् ।
यस्तै रुपन्देही सैनामैना नगरपालिका मुर्गियाकी अनु घिमिरे र उनका भाइ नवीन घिमिरेसमेत ठगिएको बताइन् । रामजीले तनु घिमिरेलाई कतारमा आफ्नै क्लिनिक रहेको भन्दै ८० हजार मागेको र तनु घिमिरेकै माध्यमबाट अनुले समेत रामजीसँग चिनजान गरेको बताइन् ।
‘मैले पनि भाउजु (तनु घिमिरे) मार्फत चिनजान गरेको हुँ । भाउजुलाई कतारमा आफ्नै क्लिनिकमा जागिर दिन्छु भन्दै विश्वास दिलाएको रहेछ । राम्रो हुन्छ भनेपछि मैलेपनि पोर्चुगल जान लागेको मेरो भाइलाई एक पटक बुझ्न लगाए,’ उनले भनिन्, ‘एक वर्षसम्म मेरो माइतमा पुग्दै घरपरिवारसँग नजिक भएछ ।’
उनले भाइमार्फत जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा रामजीविरुद्ध निवेदन दिएकी थिइन् । गत वर्ष नै उनीहरुले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा समेत कारबाहीका लागि उजुरी गरेका थिए । प्रशासनले समेत जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको थियो । तर, प्रहरीले भने कुनै जानकारी दिएन । यता कास्की प्रहरीले समेत निवेदन दिँदासमेत केही कारबाही नगरेको पीडित कमला शाहले आरोप लगाइन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपी सुवास हमालले भने हदम्याद सकिएको कारण आफूहरुले केहीगर्न नसक्ने बताए । उनले कारबाहीका लागि अदालत जान सुझाव दिएको बताए । ‘ठगी मुद्दाका लागि हदम्याद हुन्छ । कानुनभन्दा बाहिर हामी जान मिल्दैन । उहाँहरु अदालत जान सक्नुहुन्छ । हामीले त्यही भनेर पठाएका छौं,’ उनले भने । कसैले ठगी गरे एक वर्ष भित्रमा उजुरी दिनुपर्ने उनले स्पष्ट पारे ।





