तनहुँ/एक सातादेखि परेको अविरल वर्षाको कारण तनहुँ र स्याङजा जोड्ने शुक्लागण्डकी दुलेगौँडा ढोरबाराही मोटर मार्गको जुडीफाँट–चिसापानी सडक खण्डको एक दर्जन ठाउँमा पहिरो खसेको छ । पहिरोका कारण सडक अबरुद्ध भएको छ । मंगलबारदेखि सडक अबरुद्ध भएको हो ।
पहिरोले सडक अबरुद्ध भएपछि चिसपानी आसपासबाट चल्ने सवारी भानुमती उक्लेर भिमाद हुदै यात्रा गर्न बाध्य भएको हरिनास गाउँपालिका उपाध्यक्ष झनमाया पराजुलीले बताइन् । सडक अबरुद्ध हुदाँ दुई जिल्लाको जनजविन प्रभावित बनेको उनको भनाई छ । ‘निर्माण हुदै गरेको सडकको धेरै ठाउँमा पहिरो खसेको छ’, उनले भनिन् ।
गत असारको सुरुमै यो सडक खण्डमा दर्जन बढी स्थानमा पहिरो खसेको थियो । झण्डै एक हप्तापछि पहिरो हटाएर सडकमा सवारी चल्न मिल्ने बनाइएको थियो । अहिले फेरी एकसाता लगातार परेको अविरल बर्षाको क्षतिले सडक अबरुद्ध भएको पराजुलीले जानकारी दिइन् ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–१० जुडीफाँटदेखि स्याङजाको हरिनास गाउँपालिकाको केन्द्र चित्रेभञ्याङ जोड्ने यो सडक कालोपत्रेका लागि स्तरोन्नितको काम भइरहेको छ । प्रदेश सरकारको लगानीमा क्याङदी खोलमा ४० मिटर लामो मोटरेबल पुल र १६ किलोमिटर सडक कालोपत्रेको काम भइरहेको हो । ३२ करोड ६५ लाख ४७ हजार १ सय ४९ रुपैयाँमा पुल र सडकको काम गोल्डेनगुड बानियाँ जेभीले गरेको छ ।
पटक–पटक पहिरोले सडकमा क्षति पुग्दा निर्माण कम्पनीले करोडौँको नोक्सानी व्यहोर्नुपरेको जनाइएको छ । असारमा मात्रै निर्माण कम्पनीले एक करोड रुपैयाँको क्षति भोग्नुपरेको थियो । अहिले सडकमा एक दर्जन बढी स्थानमा पहिरो झरेर बाटो पुरिएको आयोजनाका व्यवस्थापक सन्तोष खड्काले जानकारी दिए । उनका अनुसार चार ठाउँमा ग्याबिन जाली पहिरोले बगाएको छ । करिब ४ किलोमिटर ग्राभेल बगाएको उनले बताए । यसपाली पनि कम्पनीलाई एक करोड रुपैयाँको हाराहारीमा क्षति भएको उनको दाबी छ । ‘क्षतिको विवरण संकलन गरिरहेका छौँ । विवरण संकलन सकेपछि छिट्टै सडक खुलाएर सवारी चल्न मिल्ने बनाउँछौँ’, खड्काले भने ।





