आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

कास्की कांग्रेसको वडा अधिवेशन भोलि

कास्की कांग्रेसको वडा अधिवेशन भोलि

सभापतिमा ३ देखि ५ जनासम्मको दावी ।


  • ढोरपाटन संवाददाता
  • भाद्र १७ २०७८, बिहिबार

वडाबाट चुनिने पालिका र क्षेत्रीय प्रतिनिधिहरुले नै जिल्ला नेतृत्व चयन गर्ने भएकाले अधिवेशन नेतृत्वका आकांक्षीहरुको लागि महत्वपूर्ण ।

पोखरा/नेपाली कांग्रेसको वडा अधिवेशन शुक्रबार हुने भएको छ । कास्की कांग्रेसले शुक्रबार नै अधिवेशन गर्ने निर्णय गरेसँगै वडाहरुमा चुनावी सरगर्मी बढेको छ ।कास्कीका निर्वाचन अधिकृत आरसी विमल (रामचन्द्र पौडेल) मंगलबार नै पोखरा आइसकेका छन् भने वडाहरुमा निर्वाचन सामग्री पठाउन सुरु गरिएको छ । कास्की कांग्रेसका प्रवक्ता नविन सिग्देलका अनुसार बिहीबार साँझसम्म सबै वडामा निर्वाचन सामग्री पुगिसक्ने छ । पोखरा महानगरपालिकाका ३३ र ४ वटा गाउँपालिकाकासमेत गरी ७२ वडाबाट २ हजार १९ जना क्षेत्रीय प्रतिनिधि छनौट गरिने उनले जानकारी दिए ।

वडामा रहेका १९ हजारभन्दा बढी क्रियाशिल सदस्यहरुले क्षेत्रीय प्रतिनिधिहरुलाई मत हाल्नेछन् । वडा अधिवेशनबाट कार्यसमिति, क्षेत्रीय र नगर प्रतिनिधि चयन गर्नेछ । वडामा सभापति, २ उपसभापति, २ सहसचिव र ३ महिलासहित ९ जना सदस्य प्रत्यक्ष निर्वाचनबाट आउँछन् कोषाध्यक्ष मनोनित छ ।यस्तै समावेशीबाट सदस्यहरू र वडा कार्यसमितिको २० प्रतिशत संख्या सभापतिले सदस्यमा मनोनित गर्न पाउँछन् । वडा अधिवेशनले वडा कार्यसमिति, क्षेत्रीय प्रतिनिधि र नगर प्रतिनिधि चयन गर्नेछ । वडा समितिमा १ सभापति, २ उपसभापति, २ सचिव, २ सहसचिव र सदस्यहरु निर्वाचित हुनेछन् । कांग्रेसको विधान अनुसार हरेक निर्वाचन क्षेत्रबाट २५ जना महाधिवेशन प्रतिनिधि छानिने छन् । महाधिवेशन प्रतिनिधि भएपछि मात्रै केन्द्रीय सदस्य वा पदाधिकारीमा उम्मेदवारी दिन पाइन्छ । १५० जना क्रियाशिल सदस्य भएको वडाबाट १६ जना क्षेत्रीय अधिवेशन प्रतिनिधि चयन हुनेछन् भने त्यसभन्दा माथि हरेक एक सयजनाबाट १० जना थपिँदै जानेछन् तर जति नै धेरै सदस्य भएपनि ७६ जनाभन्दा बढी प्रतिनिधि चयन गर्न भने पाइँदैन । वडा अधिवेशनले एकजना महिलासहित ३ जना पालिका प्रतिनिधि पनि चयन गर्नेछ ।

क्षेत्रीय प्रतिनिधि चयनसँगै गाउँ तथा नगर अधिवेशनको भदौ २७ गतेको लागि तोकिएको छ भने प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज १ गते हुनेछ । यसैगरी एकमात्र निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन असोज ५ र दुईभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्ला अधिवेशन असोज १० गतेको लागि तय भएको छ । क्षेत्रीय प्रतिनिधिहरुबाटै पार्टीको गाउँ–नगर, क्षेत्र र जिल्ला नेतृत्व चयन हुने भएकाले क्षेत्रीय प्रतिनिधि चयनलाई नेतृत्वका आकांक्षीहरुले विशेष महत्वका साथ हेरेका छन् । यो पटक क्रियाशिल सदस्यता लिनासाथ इकाइ सभापति र पदाधिकारीमा उम्मेदवारी दिन पाउने व्यवस्था गरिएकाले पनि नयाँ अनुहारहरुले आकांक्षा देखाउने अवस्था सिर्जना भएको हो । जिल्ला सभापति हुन भने १० वर्ष क्रियाशिल सदस्य भएको हुनुपर्ने व्यवस्था छ । यसैपटक क्रियाशिल सदस्यता लिएकाहरुलाई पनि विधानले क्षेत्रीय र महाधिवेशन प्रतिनिधि हुन पाउने गरी विधानका केही धाराहरुलाई निलम्बन गरिएको छ । कास्की कांग्रेसको सभापति पदमा हालसम्म अहिलेका उपसभापति आइबहादुर गुरुङ,सचिव सुदीपमोहन भट्टराई तथा महाधिवेसन प्रतिनिधि किशोरदत्त बरालले दावी गरेका छन् । यता, नगर सभापतिमा हालका उपसभापति सुरेन्द्रमान विजुक्छे,अग्रज पत्रकार गंगाधर पराजुली, मिलन तिवारीले आकांक्षा देखाएका छन् । वडा नम्बर ९ का वडाध्यक्ष रामराज रेग्मी पनि सभापतिका दावेदार हुन् तर अन्तिम अवस्थामा सुरेन्द्रमान र गंगाधरबीच कडा प्रतिष्पर्धा हुने सम्भावना देखिएको छ । उनीहरु दुबैले प्रचार अभियान तीव्र बनाएका छन् ।

यता, वडा इकाइ सभापतिमा ३ देखि ५ जनासम्मले दावी गरिरहेका छन् । धेरैजसो वडामा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ । क्षेत्रीय प्रतिनिधिहरु पनि सहमतिमै्र टुंग्याउने तयारी भएपनि आकांक्षी धेरै भएकालेले धेरै ठाउँमा चुनाव नै हुने सम्भावना देखिएको छ कांग्रेस केन्द्रमा देखिएजस्तो गुटको राजनीति कास्कीमा नदेखिए पनि पुराना नेता तारानाथ रानाभाट, शुक्रराज शर्मा,महादेव गुरुङ,पूर्वसभापति यज्ञबहादुर थापा,वर्तमान सभापति कृष्ण केसी,सोभियतबहादुर अधिकारीको आशीर्वाद कसलाई छ भन्नेले ठूलो अर्थ राख्छ । त्यसो त,कास्कीमा रामचन्द्र पौडेल समूह बलियो रहेको छ । वर्तमान सभापति कृष्ण केसी रामचन्द्र पौडेल समूहका हुन् । पछिल्लो समय देउवा समूहले पनि यहाँ आफ्नो प्रभाव बिस्तार गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->