बागलुङ/ कांग्रेस महाधिवेशनको मिति नजिकिएपछि बागलुङमा पनि पदाधिकारीका आकांक्षी बढेका छन् । सभापति र सचिव पदका लागि प्रचार–प्रसार अभियाननै सुरु भएको छ । महाधिवेशन मंसिरमा गर्नका लागि वडा तहको अधिवेशन भने तत्कालै सुरु हुन लागेको छ ।
बागलुङको जिल्ला सभापतिका लागि ६ जना प्रत्यासीको रुपमा देखिएका छन् । वर्तमान सभापति दीपेन्द्रबहादुर थापा, पूर्वउपसभापति जगदिशचन्द्र उपाध्याय, सचिव नवराज पौडेल, पूर्वशिक्षक जगन्नाथ आचार्य, क्षेत्रीय सभापति द्रोण कुँवर र पूर्वसभापति मणिभद्र शर्मा सभापतिका आंकाक्षी हुन् । तीमध्ये चारजना खुलेरै प्रचारमा जुटेका छन् । पूर्वकोषाध्यक्ष कृष्णशंकर श्रेष्ठले पनि सभापति लड्ने संकेत गरेका छन् ।
गत अधिवेशनमा हारेका जगदिशचन्द्र उपाध्याय यो पटकका सशक्त उमेदवार भएको कार्यकर्तामा चर्चा छ । गत अधिवेशनमा पहिलो चरणमा पहिलो भएरपनि तेस्रो शक्तिमा देखिएका मणिभद्र शर्माले साथ दिँदा दीपेन्द्रबहादुर थापाले सभापति जितेका थिए ।
उपाध्याय र शर्माले अहिले पनि सभापतिको उम्मेदवार भएको बताए । पार्टी सचिव नवराज पौडेल र महाधिवेशन प्रतिनिधि जगन्नाथ आचार्यले पनि प्रचार थालेको दावी गरेका छन् । थापाले पनि फेरि उम्मेदवारी दिने चाहना राखेका छन् । तर, उनले उम्मेदवारी घोषणा भने क्षेत्रीय प्रतिनिधिको निर्वाचनपछि मात्रै गर्ने बताए । क्षेत्रीय सभापति द्रोणराज कुँवरले पश्चिम बागलुङमा सामग्री सहयोगसहित प्रचार गरिरहेका छन् । सभापति दावी गरेका उपाध्याय पौडेल पक्षका हुन् । शर्मा, थापा र कुँवर भने देउवा पक्षका हुन् । पौडेलले कित्ता छुट्टयाएका छैनन् । शिक्षण पेशाबाट आएका आचार्य विमलेन्द्र निधीको निकट मानिन्छन् । केन्द्रीय तहमा निधिको चर्चापछि देउवा समूहका अलि आत्तिएको र पौडेल पक्षका एकमात्रै उम्मेदवार भएकोले चुनाव जित्नेमा ढुक्क भैसकेका छन् ।
यसअघिका सभापतिहरु प्रकश पौडेल, हरिप्रसाद श्रेष्ठ र गोबिन्दप्रसाद शर्मा कंडेलले उपाध्यायलाई समर्थन गरेका छन् । उपाध्यायलाई टक्कर दिन संस्थापनबाट एकमात्रै उम्मेदवार चाहिनेमा धेरै आकांक्षी भएको टिप्पणी सुरु भैसकेको छ । ‘थापाले अब जित्ने चुनाव मात्रै लड्नुपर्छ’, उनका निकट उमेश गौतमले भने, ‘संस्थापनबाटै तीनचार जनाले दावी गर्दा पौडेल पक्ष सोझै अगाडि पुग्छ ।’ उपाध्यायलाई टक्कर दिन थापा एक्लो उमेदवार भए मात्रै संभव हुने उनले बताए ।
उपाध्यायले अघिल्लो निर्वाचनको पहिलो चरणमा धेरै मत ल्याएको र अहिले धेरै कार्यकर्ताको चाहनामा उठ्न लागेको बताउँछन् । पौडेल समूहले वर्तमान सभापतिले चार वर्षसम्म पदाधिकारी मनोनयनसमेत गर्न नसकेको, सार्वजनिक फोरममा पार्टीको उपस्थिति नभएको र केन्द्रीय कार्यक्रम गर्न नसकेको आरोप लगाउने गरेको छ । पौडेल पक्षले कार्यक्रममा सहयोग नगरेको संस्थापनको टिप्पणी हुने गर्छ ।
अधिवेशनमा सचिवका लागि पनि दर्जन आकांक्षी छन् । यसअघिको कार्यकालकी सहसचिव गण्डकी थापा, क्षेत्रीय सभापति चिरन्जिवी गौतम, नेविसंघका नेता हरिहर शर्मा, बसन्तकुमार श्रेष्ठ, वर्तमान कोषाध्यक्ष उमेश केसी, संगठन विभागका प्रमुख फमबहादुर खत्री, नारायण शर्मा लगायतले दावी गरेका छन् । उनीहरुले सभापतिको उमेदवार टुंगो भएपछि समूह निर्माण गर्ने तयारीमा जुटेका छन् । यो पटक एक सभापति, दुइ उपसभापति, दुइ सचिव र दुइ सहसचिव निर्वाचित हुनेछन् । कोषाध्यक्ष भने सभापतिले मनोनयन गर्ने प्रावधान छ ।





