बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

जहिल्यै जलमग्न राजमार्ग !

जहिल्यै जलमग्न राजमार्ग !


  • ढोरपाटन संवाददाता
  • भाद्र १९ २०७८, शनिबार
पृथ्वी राजमार्ग अन्तर्गत हलेदीमा शुक्रबार बिहानको बर्षातपछि जलमग्न सडक र कष्टपूर्ण यात्रामा सवारी । तस्वीरः ढोरपाटन ।

‘राजमार्ग छेउछाउमा बस्ती बसाल्दा पनि धैरतिर नाला बन्द गरिएको हुन्छ । पानीको निकास हुने ठाउँ कतै नभएपछि सडकमा नबगेर पानी कहाँ बग्ने ? सडक नै कुलोजस्तो भएको छ ।’

तनहुँ – २०२६ सालमा रेखांकन भएको पृथ्वीराजमार्ग गण्डकी प्रदेशवासीको ‘लाइफलाइन’ हो । यही राजमार्गले संघीय राजधानी काठमाडौंसँग गण्डकी प्रदेशको राजधानी पोखरालाई यातायात सञ्जालले जोडेको छ । नौबिसेदेखि पोखराको पृथ्वीचोकसम्म पर्ने पृथ्वी राजमार्ग तनहुँमा मात्रै ७२ किलोमिटर दूरी ओगटेको छ । मुग्लिनदेखि कोत्रेसम्म पृथ्वी राजमार्र्ग पर्छ ।
पछिल्ला केही वर्ष यता सामान्य बर्षात्ले पनि पृथ्वी राजमार्ग जलमग्न हुने गरेको छ । भारी बर्षा भएको बेलामा त राजमार्गमा पर्ने कोत्रे, हलेदी, दुलेगौँडा, बेलचौतारा, खैरेनीटार, थर्पु, अकला, डुम्रे खण्डमा सडकमै खोला बग्छ । पहाडी जिल्लाको सडक पनि तराईको जस्तै जलमग्न हुँदा सवारी चलाउनलाई मुस्किल हुन्छ । सडकमा भलबाढी उर्लँदा ठूला सवारी कम प्रभावित भएपनि साना २ पांग्रे सवारीमा कष्टपूर्ण तवरले यात्रा गर्न यात्रु बाध्य हुन्छन् ।
गाउँ–गाउँ जानलाई खनिएका शाखा सडकबाट लेदोसहितको भल सीधैं राजमार्गमा आउँदा सडकमै खोला बग्ने गरेको सडक डिभिजन कार्यालय दमौलीका सूचना अधिकारी इञ्जिनियर नारायण पौडेल बताउँछन् । भन्छन्, ‘शाखा सडकको नालामा बग्ने पानी निकास गर्ने ठाउँ कतै हुँदैन । सीधैं राजमार्गमा ल्याएर मिसाइन्छ । राजमार्ग छेउछाउमा बस्ती बसाल्दा पनि धैरतिर नाला बन्द गरिएको हुन्छ । पानीको निकास हुने ठाउँ कतै नभएपछि सडकमा नबगेर पानी कहाँ बग्ने ? सडक नै कुलोजस्तो भएको छ ।’
बर्खायाममा सडक जलमग्न भएर पानी बगिरहँदा छोटो समयमा कालोपत्रे उप्किएर भत्कने समस्या रहेको इन्जिनियर पौडेलको भनाइ छ । राजमार्गबाट शाखा सडक खोल्दा सडक विभागको स्वीकृति अनिवार्य लिनुपर्ने हुन्छ । डोजर लगाएर सडक खन्ने होडबाजीमा रहेका स्थानीय निकायले भने सडकको ट्रयाक खोल्दा आफूखुशी गर्छन् । ‘जथाभावी खनिएका शाखा सडकले राजमार्गलाई भत्काएको पनि छ । अब कडाइ गर्नुपर्ने भएको छ,’ उनले भने ।
भू तथा जलाधार संरक्षण व्यवस्थापन कार्यालय तनहुँका वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत कृष्णप्रसाद घिमिरे पनि इञ्जियर पौडलको भनाईसँग सहमत छन् । प्रत्येक सय मिटरको दूरीमा खनिएको कच्ची सडकका कारण नै राजमार्ग छोटो समयमै जलमग्न हुने उनले बताए । ‘अव्यवस्थित ग्रामिण सडक खनिएको छ । माथि–माथिबाट ग्रेगानसहितको भल बाढी राजमार्गमा आइपुग्छ । ग्रेगानले एकातिर पानीको आयतन बढाउँछ । नाला थुनिने समस्या पनि गराउँछ,’ उनले भने ।
सहरी क्षेत्रमा बस्ती बसाल्न पोखरी, खोल्सा, खहरे अतिक्रमण गर्दाको कारण पनि पानीको निकास हुने ठाउँ नभएर पछिल्ला वर्षमा यस्ता समस्या बढी देखिएको घिमिरेको भनाइ छ । सहरी क्षेत्रमा बर्षात्को पानी व्यवस्थापन चुनौती भएको उनले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->