मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

तीज : उत्सवसँगै अधिकार पनि

तीज : उत्सवसँगै अधिकार पनि


  • दुर्गा भण्डारी
  • भाद्र २४ २०७८, बिहिबार

आज, नेपाली महिलाहरुको महन पर्व तीज । विगतदेखि नै नेपाली महिलाहरुले तीजलाई हर्ष उल्लासका साथ उत्सवको रुपमा मनाउँदै आएका छन् । स्वदेशमा मात्रै होइन, विदेशमा पनि नेपाली महिलाहरुले हर्षोल्लासका साथ तीज मनाउँछन् । महिनौं अगाडीदेखि महिलाहरु जम्मा भएर रमालो गर्ने, नाचगान गर्ने गरेको पाइन्छ । तीजमा महिलाहरुको चहलपहले सुस्ताएको आर्थिक गतिविधि चलायमानसमेत हुने गरेको छ । गत वर्षदेखि कोरोना महामारीका कारण तीज सुस्ताएको छ । आर्थिक गतिविधि पनि घटेको छ । लामो समय बन्दाबन्दी झेल्नु प¥यो ।

अझै पनि व्यवसाय बौरिन सकेको छैन । होटल, पार्टीप्यालेसलगायतका व्यवसाय अझै पनि खुल्न सकेका छैनन् । खुले पनि ग्राहकहरु खुरुखुरु आइहाल्छन् भन्नसक्ने अवस्था छैन । कोरोनाले खुम्चिएको आर्थिक गतिविधि चार्डपर्वले केही हदसम्म भए पनि लयमा ल्याउँछ कि भन्ने आशा पलाएको छ । तीज पर्व विगतको जस्तो गरी मनाउन सक्ने अवस्था अझै छैन । कोरोनाको त्रास अझै कायमै छ । खोप सबै नागरिकको पहुँचसम्म पुगेको छैन । त्यस कारण महिलाहरुले तीज पर्व विगतको झै गरी निकै अगाडीदेखि मनाउन भने पाएका छैनन् । नेपाली महिलाहरुले तीज पर्व मनाउने सवालमा पनि विगतमा प्रशासनले रोक लगाउने गरेको थियो । दुई वर्षअघि कास्की प्रशासनले तीज पर्व भड्किलो भयो भनेर होटल, पार्टी प्यालेसलगायतका ठाउमा दर नखान, नाचगान गर्न रोक लगाउँदै निर्देशनात्मक आदेश जारी गरेको थियो । यसरी नेपाली महिलाहरुले पर्वको यो नाउँमा केहिदिन साथीहरु भेला भएर सामूहिक रमाइलो गर्न खोज्दा प्रशासनले गर्न रोक लगाएर स्वतन्त्रतामा आघात पु¥याएको थियो । त्यो बेला प्रशासनले मौलिकता हरायो भन्दै तीजमा शूक्ष्म निगरानी थालेको थियो । सामाजिक सुधारको नाममा महिलाहरुले गर्ने गतिविधिमाथि मात्रै नियन्त्रण गर्न खोजेको देखिएको थियो । अहिले त्यो अवस्था छैन । कोरोनाले गर्दा आम्दानीका साथै क्रयशक्ति घटेको छ । रमाइलो गर्ने मन हुँदाहुँदै पनि खुम्चिनु पर्ने अवस्था आएको छ ।

महिलाहरुले परिस्थिति हेरेर खर्च गर्छन् । महिलाले रमाइलो गरेको देख्न नचाहनेहरुले चार्ड पर्वमा, आफ्नो घरपरिवारको पर्वाह नगरी स्वच्छन्दतापूर्व जे सुकै गर्दै हिँड्छन् । जेसुकै खादै पिउँदै हिड्छन् भन्ने विम्व बनाउन खोजियो । हामीले सुधार गर्नुपर्ने पक्षहरु धेरै छन् । राजनैनिक वृत्तका व्यक्तिहरु, नेताहरुले चुनावका बेला खर्च गरिनु कम विकृतिपूर्ण पक्कै होइन । चुनाव प्रचारका नाउँमा अनावश्यक खर्च गर्ने,भोजभतेर गर्ने पैसा बाँडेर मत किन्ने, त्यसका लागि भ्रष्टाचार गर्ने संस्कृतिको तुलनामा महिलाहरु भेला भएर दर खाने, राम्रा लुगा लगाउने र नाचगान गर्ने कुरा विकृतिपूर्ण होइन । यसले व्यापार व्यवसाय फस्टाउनमा समेत मद्दत पु¥याउने छ ।

स्थानीय प्रसाशनले जनहितका लागि सुधार नै गर्नुपर्ने थुप्रै कार्यहरु छन् । चार्डपर्वका बेला आम नागरिकका उपभोग्य बस्तुको बजार अनुगमन, खाद्य सुरक्षा, शान्ति सुरक्षा, मदिराको प्रयोगबाट महिलामाथि हुने हिंसा अपराध नियन्त्रणलगायत थुप्रै विषयमा चासो नदिने प्रशासन महिला स्वतन्त्रतामाथि अंकुश लगाउन तत्पर देखियो । महामारीले गर्दा आफै नियन्त्रण भएर मात्रै हो,केही खुकुलो भयो र गतिविधि बढ्यो फेरि पनि यस्ता निर्देशनात्मक आदेश जारी नहोला भन्न सकिँदैन । महिला स्वतन्त्रता विरोधी पश्चगामी सोचबाट प्रशासन मुक्त हुन जरुरी छ । नेपाली महिलाहरुले मनाउँदै आएको तीजपर्व तडकभडक भयो भनेर भनिरहँदा तडकभडकको परिभाषा हुन जरुरी छ । नागरिकहरुको तर्फबाट अभियान चलाउनु स्वभाविक नै हो । प्रशासनले पनि यो कुरामा आग्रह गरेर बिज्ञप्ती जारी गर्नु स्वभाविक मानिन्छ । तर, आम नागरिकको मौलिक हक अधिकारविरुद्ध हुने गरी निर्देश दिन पाउने होइन ।

चाडपर्वहरु समय र व्यक्ति आर्थिक हैसियत बढेसँगै बदलिँदै जान्छन् । मौलिकता थपिँदै वा हराउँदै जान सक्छ । नेपाली समाजमा महिला र पुरुषबीचको सुसुप्त द्वन्द्व कायमै छ । महिलाहरुको अवस्था अझै पनि दयनीय छ । आधारभूत आवश्यकताबाट बंचित छन् । महिलाहरु पति र घर परिवारबाट अपहेलित बन्नु परेको, पलपलमा घरेलु हिंसाको शिकार हुनु परेको अवस्था छ । आज महिलाहरु आर्थिक गतिविधिमा पनि संलग्न छन् । आफै आर्थिक उपार्जनमा लागेका छन् । आर्थिक सशक्तिकरणल गर्दा महिलाको जीवनस्तर बढ्नु निर्णयक क्षमता बढ्नु स्वभाविक नै हो । त्यसैले अहिले महिलाहरुले तीज पर्वलाई आफ्नो अधिकारको रुपमा लिन थालेका छन् । समय अनुसार तीज फेरिएर सबैले महिलालाई दर खुवाउने र विभिन्न क्षेत्रमा योगदान दिएका महिलाई सम्मान गर्न थालेका छन् । त्यही भएर तीजको महत्व झन् बढ्दै गएको छ । तीजलाई महिलाहरु माथि भएका भेदभाव र अन्यायका विरुद्व गीतको माध्यमबाट आवाज उठाउने चाडको रुपमा पनि लिने गरिएको छ । पछिल्लो समय तीज महिला अधिकारका पक्षमा वकालत गर्ने माध्यम बनेको छ । जसबाट महिलाहरु संगठित गर्ने काम पनि भएको छ । महिलाहरु पनि आर्थिक रुपले सम्पन्न भएसंगै भोजभतेर, गहना र कपडाको प्रदर्शन गर्ने माध्यम पनि बन्दै गएको छ ।

तीज सांस्कृतिक पर्वभन्दा व्यावसायिक पनि बन्दै गएको छ । नेपाली महिलाहरुले मनाउँदै आएको हरितालिका तीज पछिल्लो समय व्यापारतर्फ उन्मुख भएको छ । तीज आउनुभन्दा धेरै अगाडिदेखि होटल, पार्टी प्यालेस र रेष्टुराँहरुमा गएर मनाउने चलन बढेर गएको छ । शहरबजारमा तीज आउनुभन्दा धेरै अगाडि महंगा सारी, गहना देखाएर मनाउने चलन बढेको छ । भिडियो बनाउने अनि यूट्यूव र टीकटकमा दर्शक बढाउने होड चलेको छ । उत्पादकहरुले आफ्ना बस्तु बिक्रीको माध्यम तीज बनाउन थालेका छन् । तीजलाई मौलिक सांस्कृतिक पर्व बनाउन लाग्नुपर्ने देखिन्छ । तीज मनाइरहँदा मौलिकता पनि नमरोस् र मौलिक हक पनि नगुमोस् भन्ने ख्याल गर्न जरुरी छ । तीजमा महिला दिदीबहिनीहरुलाई माइत बोलाएर दर खुवाउने चलन हो । दिदीबहिनीहरु माइतमा भेट भएर सुख दुःखका कुरा साँटासाँट गर्ने अधिकारका बारेमा सचेत पार्ने बेला पनि हो । कुन संस्थाले सम्झ्यो, कुन संस्थाले सम्मान ग¥यो भन्ने रुपमा हेर्नु गलत हो । तीजमा अरुबाट प्रायोजन गरेर आफू र आफ्नो संस्थाले दर खुवाएको र महिलालाई सम्मान गरेको नाटक मञ्चन गर्न थालेको पनि देखिन्छ ।

महिला अधिकार र असमानता हटाउन महिला अधिकारकर्मीहरु लाग्नु पर्दछ । नेपाली महिलाहरुको सांस्कृतिक पर्व तीजलाई विकृति र विसंगति हुन दिनुहँुदैन । चाडपर्वलाई सबैले सहजरुपमा मनाउन सक्ने अवस्था हट्दै गएको छ । तीजलाई महिलामाथि हुने भेदभाव र कुसंस्कारविरुद्व अधिकार प्राप्ति र दिदीबहिनीहरु बीचको मिलनको चाडको रुपमा विकास गर्न आवश्यक छ । नेपालमा महिलाहरु राजनीतिक रुपमले जति सचेत छन् । त्यसको प्रयोग व्यवहारिक रुपमा आउन बाँकी छ ।चाड पर्वको अवसरमा महिलालाई सचेत बनाउने र उनीहरुलाई पुरुषको अधिनमा रहनुपर्छ भन्ने सोच राख्ने विरुद्ध जुध्न सक्ने बनाउन सकेमा मात्र महिला ससक्तिकरण हुन सक्छ । तीजको अवसरमा देशविदेशमा रहेका सम्पूर्ण महिलाहरुलाई हार्दिक शुभकामना !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->