बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पहिले ‘भोटे’ नुन, अहिले पर्यटन

पहिले ‘भोटे’ नुन, अहिले पर्यटन


  • तारानाथ आचार्य
  • भाद्र २६ २०७८, शनिबार
 नुनिलो पानीबग्ने पहाड रहेको छुसाङ गाउँ मुस्ताङ । तस्वीर : बारागुङ गाउँपालिकाको वेबसाइटबाट साभार ।

नर्सिङ खोला छेवैमा रहेको पहाडबाट रसाउने पानी नुनिलो आउँछ । त्यही पानीलाई छानेर पोखरीमा जम्मा गरेर नर्सिङ खोलाको पानी मिसाएपछि केही दिनमा हिँउजस्तै जम्छ । त्यही जमेको ढिक्का हो थाकखोलाको नुन ।

मुस्ताङ/ बागलुङमा एउटा मान्यता थियो ‘बटौलीको नुन मान्छेले खाँदा लुतोको त्रास, पशुलाई खुवाउँदा केही होलाकि भन्ने डर !’ जतिबेलासम्म थाक खोलाको नुन डोकोमा बोकर घर घरमा पु¥याइन्थ्यो त्यतिबेलासम्म कसैले बटौलीको नुन खान खोजेनन् ।

उमेरले ७५ कटेको पुस्तामा अहिले पनि चर्चाको ठाउँ हो थाकखोला । मुस्ताङमा थकालीहरु बस्ने गाउँलाई थाकगाउँ भन्ने चलन छ । तिनै गाउँ वरिपरिका खोला र जंगारहरुलाई जोडेर थाकखोला भनियो । त्यही थाकगाउँमा बस्ने थकालीहरुले गर्ने नुनको व्यापारले मुस्ताङ कुनै बेला सबैभन्दा बढीचर्चामा थियो ।
त्यही तलका केही पहाडी जिल्लाका स्थानीयको भान्छासँग थाकखोलाको नुन जोडिएको थियो । थाकखोलाको नुन बुटवलको भन्दा फरक स्वादको हुन्थ्यो। पहिले कि त बटौली कि थाकखोलाकै नुनको भर हुन्थ्यो ।
सडक नखुल्ने बेलासम्म धौलागिरिका पहाडी जिल्लाका स्थानीयलाई नुनको जोहोका लागि बुटवल जानुभन्दा थाकखोला दूरीका हिसाबले नजिक थियो । घरमै भएको अन्नसँग साट्न पाइने भएकाले पनि थाकखोलाको नुन चर्चामा हुन्थ्यो । बागलुङबाट म्याग्दीहुँदै थाकखोला पुग्न ३ दिन लाग्थ्यो भने बटौली पुग्न ७ दिन ।

‘अहिले तरकारी बसालेपछि नुन खोज्न पसल पुग्छु बाबु, पहिलेका दुःख के सुनाउनु?’ बागलुङको निसीखोला गाउँपालिका६ की वयोवृद्ध भागीमला बुढाले भनिन्, ‘थाक जाँदा ५ दिन र बटौली जाँदा ७ दिन लाग्थ्यो, खर्चपर्च सबै जोहो गर्नुपर्ने ।’
थाकखोलाको नुन चर्चित नुन हो । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका३ छुसाङमा नर्सिङ खोला छ । नर्सिङ खोला छेवैमा रहेको पहाडबाट रसाउने पानी नुनिलो आउँछ । त्यही पानीलाई छानेर पोखरीमा जम्मा गरेर नर्सिङ खोलाको पानी मिसाएपछि केही दिनमा हिँउजस्तै जम्छ । त्यही जमेको ढिक्का हो – थाकखोलाको नुन ।

पहाडमा रसाएको पानीमा खोलाको पानी मिसाएपछि मात्रै नुन जम्ने बताउँछन्, लामो समय नुनको उत्पादनमा कामगरेका छुसाङका वयोवृद्ध पेमा तोर्चे । ‘हाम्रो आफ्नै विधि हुन्छ, पोखरीमा जम्मा भएको पानीलाई नुन बनाउने,’ तोर्चे भन्छन्, ‘पहिले निकै खटियो, आजभोलि आफ्नै घरमा पनि आयोडिन नुन आउँछ ।’

३०वर्ष पहिलेसम्म छुसाङमा उत्पादन भएको नुन थासाङ गाउँपालिकाको टुकुचेबाट साटासाट हुन्थ्यो । पहाडबाट गएको चामलसँग नुन साट्ने सबै थकाली समुदाय हुन्थे । ‘म १२÷१३ वर्षको हुँदा टुकुचे पुगेर घरमा नुन ल्याएको थिए, चामलसँग नुन साट्न पहाडबाट आउनेहरुको लावालस्कर हुन्थ्यो,’ वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष पेन्चोक छेप्तेन गुरुङविगत सम्झिँदै भन्छन्, ‘मुस्ताङ नुनको व्यापारले निकै चर्चित थियो ।’

छुसाङमा वर्षमा मुस्किलले ४० मुरी नुन उत्पादन हुन्थ्यो । बाँकी टुकुचेबाट साटिने नुन सबै भोट (अहिलेको तिब्बत)बाट आउँथ्यो । ‘भोटेहरु घोडामा नुन बोकेर मुस्ताङ आउँथे, चामल लिएर फर्किन्थे, यहाँको नुनले मात्रै के पुगोस्, थाकखोलाको नाम बेचेर भोटको नुन पहाड पुग्थ्यो,’ छुसाङका वडाध्यक्ष नविन कुमार गुरुङ भन्छन्, ‘अहिले भोटेका घरमै चामल पुग्छ, पहाडका घर घरमा नुन ।’

मुस्ताङको सीमानासम्म भोटबाट घोडामा आउने नुन त्यहाँदेखि तल झोपा (हिमाली गोरु)लाई बोकाएर ल्याइन्थ्यो । गुरुङ भन्छन्, ‘म्याग्दीको सिमाभन्दा तलको गर्मी झोपाले सहन्न भनेर त्यहींबाट फर्काइथ्यो रे, अनि व्यापार त्यहींबाट हुन्थ्यो ।’
‘थाकखोलामा अरु सामान केही नपाइने र नुन मात्र पाइने रहेछ । त्यहाँ पैसाले नुन नपाइने हुनाले घरबाट चामल लिएर पुग्थे पहाडेहरु । १ पाथी चामलको २ पाथी नुन पाइन्थ्यो,’ निसीखोलाकी भागिमला भन्छिन्, ‘बटौली जाँदा साबुन, कपडा, नुन, तेल सबै पाइने, पछि उतै जाने चलन भयो, अहिले घर घरमा आउँछ ।’

थाकखोलामा चामलसँग साटिने नुन बटौलीमा भने पैसाले किन्नु पर्दथ्यो । पहाडबाट लगेको घ्यु, चामल बेचेर बटौली बजारमा घरायसी समान किन्ने चलन थियो । ०४८ सालपछि थाकखोलाको व्यापार सबै घट्यो । नुन बनाउनेहरु विस्थापित भए । व्यापारीले पेशा परिवर्तन गरे ।अहिले थाकखोला र थाकखोलाको नुनकै कारण चर्चामा रहेको मुस्ताङ पर्यटन व्यवसायले चर्चामा छ । नुन व्यापारीहरुको थलो मुस्ताङ अहिले पर्यटन व्यवसायीहरुको उर्वर भूमि भएको छ ।
कोरोना महामारी नहुँदोहो त भ्रमणकोसमयमा मुस्ताङका होटलहरू भरिभराउ हुन्थे । मुस्ताङ घुम्नकालागि उपयुक्त मानिने असोजदेखि मंसिरसम्ममा यहाँका प्राकृतिक तथा धार्मिक सम्पदा घुम्न आउने पर्यटकको घुइँचो लाग्ने गर्छ।
केहीवर्ष पहिलासम्म पदयात्राममा आउने र धार्मिक यात्रामा आउने पर्यटकमात्रै देखिने मुस्ताङमा ४ वर्ष यता भने मुस्ताङको प्राकृतिक सौन्दर्यता हेर्न आउने पर्यटकको संख्या ह्वात्तै बढेको छ। दशैं, तिहार, छठ लगायतका पर्वको समयमा विद्यार्थीदेखि पारिवारिक घुमघाममा निस्किनेहरू पनि मुस्ताङ पुगेका छन् ।

थाकखोलाको नुनको व्यापारबाट विस्थापित भएकाहरुले खोजेको बाटो र उनीहरुको फेरिएको दैनिकी पर्यटनले धानेको छ । जोमसोम बजारका व्यवसायीका अनुसार पछिल्लो समय बाह्य भन्दा कयौं गुणा आन्तरिक पर्यटकको संख्या बढेको छ। तर, कोरोना महामारीको असरले भने मुस्ताङलाई पनि छोडेन । ५वर्षअघिसम्म मुस्ताङमा पैदल वा मुस्ताङमै रहेका सवारी साधन प्रयोग गरेरमात्रै पुग्न सकिन्थ्यो ।

मुस्ताङ जिल्लाभित्र सवारीमा रहेको एकाधिकार तोडिएपछि आन्तरिक पर्यटकको संख्या ह्वात्तै बढेको मुस्ताङकाव्यवसायी खगेन्द्र शेरचनले बताए।‘पहिले ट्रेकिङमा आउने र मुक्तिनाथ दर्शन गर्न आउने मात्रै पर्यटकको रुपमा मुस्ताङ भित्रिने गरेका थिए,’ शेरचनले भने, ‘यातायात क्षेत्रमा रहेको एकाधिकार तोडिएपछि आन्तरिक पर्यटकको संख्या कयौं गुणाले बढेको छ।’

नुनको व्यापार हुनेबेला नुन लिन पुग्ने पहाडका मानिसहरु अहिले घुम्नका लागि मुस्ताङ पुग्ने गरेका छन् । हिमालपारी रहेको मुस्ताङ घुम्नको लागि वर्षमा २ सिजन उपयुक्त मानिन्छ । चैत महिनादेखि जेठ महिना सम्मको समय र असोजदेखि मंसिरसम्मको समय मुस्ताङ घुम्नका लागि उपयुक्त समय हुन् ।
यतिबेला म्याग्दीको सीमानासँग जोडिएको घाँसादेखि चिनको सिमानासँग जोडिएको लोमान्थाङसम्म रहेका मुख्य बजारहरूमा मुस्ताङका व्यवसायीहरूले होटल तथा लजको व्यवसाय गर्दै आएका छन् । जिल्लाभरिका मुख्य बजारमा ३ सयको हाराहारीमा होटल रहेको मुस्ताङ उद्योग वाणिज्य संघको तथ्यांकमा छ।
मुस्ताङ पुग्ने आन्तरिक पर्यटकमा कारण यहाँको अन्य व्यवसायमा समेत फाइदा पुगेको स्थानीय बताउँछन् । यहाँ कोरोना महामारी सुरुहुनुपूर्व दिनकै ७ देखि ८ हजार मानिसहरु घुम्नका लागि पुग्ने गरेको तथ्यांक छ । विषेश गरेर आन्तरीक र भारतीय धार्मिक पर्यटक मुस्ताङ पुग्ने गरेका छन् ।

स्थानीय उत्पादन स्याउ, फापरको पिठो, आलु लगायतका उत्पादनको बिक्री वितरण बढेको छ। मुक्तिनाथ, दामोदरकुण्ड, कागबेनी जस्ता धार्मिक स्थलहरु यहाँका मुख्य गन्तव्य हुन् । मुस्ताङमा रहेको अनुपम प्राकृतिक छटा, चिनसँगको सिमा जोडिएको क्षेत्र लोमान्थाङ, लोमान्थाङमा रहेको गुम्मा तथा गुफाहरु र यहाँको कला संस्कृति मुस्ताङमा पर्यटनको अर्को आयाम हो ।

चौंरीको आलो रगत पिउने मेला, हिमाली च्यांग्रा, जिम्बुजस्ता जडिबुटीको खोजीमा पुग्नेहरुको पनि कमी छैन। पहिले नुन खोज्न जानेहरु भारी बोकेर हिँड्दा कसैले बराउनी गरेको कुरा गरेर बाटो कटाउँथे, कसैले नुन गाउँमै पाइने भए कति सुख हुँदोहो भनेर कुरा गर्थे, कसैले लाहुरेहरुले सुख पाएको कुरा गरेर दिन बिताउने र बाटो कटाउने काम गर्थे ।

अहिले चलचित्रमा देखिएका दृष्य, स्याउ, फापर, गुम्बा मन्दिरको चर्चा बढी हुन्छ । लोमान्थाङ नाकामा रहेको सिमाको २४ नम्बर पिल्लरमा फोटो खिचाउनेदेखि हनिमुन र डेटिङका लागि समेत मुस्ताङ पुग्नेहरुको पनि कमी छैन ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->