नेपालमा ठूल्ठूला आन्दोलनमार्फत नयाँ नयाँ व्यवस्था र पद्दतीको धेरै नै अभ्यास भयो तरपनि आशातित विकास किन हुन सकेन र विकासका बाधक तत्वहरु के–के हुन् भनेर पहिल्याई तिनको समाधान खोज्ने प्रयास कहिल्यै गरिएन । त्यो हुन सकेको भए उहिल्यै एउटा कारण पत्ता लाग्न सक्दथ्यो जुन सबै बेथितिको मूल जरा हो । त्यो हो खराब शासक ! कुनै पनि देशको समृद्वि र विकासका लागि त्यहाँको शासन व्यवस्था, पद्दती र नीति नियम मात्र असल भएर हुदैन संचालकहरु पनि त्यत्तिकै सुयोग्य र जनहितकारी अनि देशभक्तिको भावनाले ओतप्रोत भएको हुनु पर्दछ ।
हामीकहाँ राणाकाल, पंचायत बहुदलहुँदै लोकतान्त्रिक गणतन्त्रसम्म आईपुग्दा कयौं शासकहरुले शासन गरिसके तर सत्ताका वरपर गर्नेबाहेक अरु नेपालीको दिनचर्यामा खासै परिवर्तन आएन । बहुदलीय प्रजातन्त्र प्राप्त पश्चात सुरुदेखि हालसम्म ३१ वर्षमा २८ वटा र गणतन्त्र पछिको १२ वर्ष यता पनि यहाँ आजसम्म हेर्दा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा ज्यू १२ औं प्रधानमन्त्रीका रुपमा रहेको पाइन्छ । यसलाई हेर्दा सालाखाला एक वर्षमा एउटा एः को परिवर्तन भएको देखिन्छ भने मन्त्री मण्डल गठन विघठनको त कुरै नगरौं । यहाँ सबै दल र नेतृत्वको बोली र व्यवहारमा निकै भिन्नता देखिन्छ भने कार्यकर्ता पनि स्वतन्त्र नागरिक बन्न सकेको देखिदैन । सबैको बोलीमा देश कसरी समृद्व र जनता कसरी सुखी हुन्छन भन्ने बारेमा बढो राम्रो चिन्तन अनि नारासहितको भाषण र तदनुरूप घोषणा पत्र पनि बनिहाल्दछ नागरिक भ्रममा परिहाल्दछन तर मनमा देशर जनताको भन्दा आफ्नै स्वार्थले बढी काम गरेको प्रष्टै देखिन्छ ।
उनीहरुमा लज्जाबोध किमार्थ हुँदैन । २०४७ को सफल जन आन्दोलनलको बलबाट प्राप्त बहुदलीय प्रजातन्त्रले स्थापित गरेकोसंवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्रबाट पक्कै पनि देशको विकासले द्रुतगति लिनेछ भन्ने नागरिकको अपेक्षासहित उक्त जन आन्दोलनमा सरिक भए तर त्यो पाउन सकेनन् । फेरि उनै नेतृत्वको इसारामा ०६२/०६३ को आन्दोलनमा होमिए । तर नेतृत्वले आफ्नो स्वार्थका लागि नागरिकको चाहनाबिपरित यहाँका परम्परागत र जल्दाबल्दा राष्ट्रिय महत्वका निम्न विषयमा जनमत बुझिएन र केहीमा बुझेर पनि कुनै वास्ता गरिएन जसले आजको असहज परिस्थिति उत्पन्न गरायो यो अदूरदर्शिताको जिम्मा कसले लिने ?
१. हिन्दूधर्म सापेक्ष कि निरपेक्ष
२. आलंकारिक राजतन्त्र कि गणतन्त्र र
३. विकेन्द्रीत स्वायक्त शासनसहितको स्थानीय तह कि संघीयता ।
जनताको जिवनसँग प्रत्यक्ष जोडिएको र मन मुटुमा गडेर रहेका यसता विषयको एकाङ्गी रुपले अन्त्य गरेपश्चात यतिका वर्षसम्म पनि जनचाहना अनुसारको काम र विकास नहुँदा यी विषय अझै बढी दर्बिलो रुपले उठिरहेका छन् तसर्थ यी विषयको टुङ्गो जनमत संग्रहबाटै नगरेसम्म नागरिकलाई सुख शान्ति अनि देशको दिगो शान्ति र विकास सम्भव देखिदैन । नागरिकको मन बुझ्न डराउनु भनेको नागरिक माथि नै कुठाराघात गर्नु हो अलि अलि गर्दै यसमा जनचासो र मत बढ्दो छ यसको छिनोफानो गर्न जति ढिलो गर्यो उति देशलाई अधोगति तिर हिँडाउनु र महत्वपूर्ण समय खेर फाल्नु मात्र हुनेछ ।
नेतृत्वले नागरिकलाई अन्धाधुन्ध आन्दोलनमै होमेर मात्र हुँदैन आफूलाई पनि जनइच्छा अनुसारदेशको राजनीतिक स्थिरता कायम राख्ने गरी व्यवहारमा परिवर्तन ल्याउनु जरुरी हुन्छ । मुख्यतः नेतृत्व आँटिलो, साहसिलो, ओजस्वी, संयमी, निष्ठावान्, इमान, क्षमतावान र नम्रता जस्ता विशेषता भएको हुनै पर्दछ । वास्तवमा हामीकहाँ कमै नेतामा मात्र यो भएको पाइन्छ । अनि आफ्ना कार्यकर्तामा पनि निष्ठा, त्याग र समर्पण चाहिन्छ । यी दुवै पक्षको उर्जाले कार्यकर्तामा हौसला अनि नेतृत्वमा साहस आउँदछ तब न दिर्घ सोचले काम गर्न सकिन्छ । नेतृत्व, कार्यकर्ता र सहयोगीहरु नैलोभी, पापी र स्वार्थी भए भने देशमा हुने यस्तै नै हो जुन भोग्यौ र भोग्ने क्रममै छौँ । यस्तो विषम परिस्थितिमा देशको जल्दोबल्दो समस्यामा जुट्नुको साटो आन्तरिक मामिलामै अल्मलिएर अझै मन्त्री मण्डल बिस्तार नगरी अमूल्य समय खेर फाल्दै छन् हाम्रा गठबन्धन दल र त्यसका नेतृत्वहरु । यति हन्डर खाँदा र जनताको चर्कै आवाज पल–पलमा सुनिरहँदा पनि सो को मुल्याङ्कन र विगतको समीक्षा गर्दै अगाडि बढ्न नसक्नु शुभ संकेत होइन ।
अहिलेको कोभिड १९ को नियन्त्रणलाई प्राथमिकता दिदै केहि सामाजिक सुधारका काम तत्कालै र केहि नीतिगत रुपमा क्रमशः गर्दै जाने गरी गरीबलाई गाँसबास, कपास, निशुल्क शिक्षा, स्वास्थ्य र सुरक्षा अनि रोजगारी जस्ता सामाजिक विकासको क्षेत्रमा भरपर्दो व्यवस्था नभएसम्म अरु जतिसुकै र जुनसुकै भौतिक विकास गरे पनि कमाउनैका लागि गरिएको विकास हो भन्ने आम नागरिकको बुझाई छ अनि अहिले चर्चामा रहेको एमसिसिलाई नागरिक चहानाविपरीत आवश्यक संशोधन नगरी यथास्थितिमा संसदीय संख्याका भरमा कुनै पनि हालतमा पास गर्ने कुचेष्टा गर्नु सत्तारूढ दलहरुलाई महङ्गो पर्ने छ हेक्का रहोस् यसतर्फ वर्तमान सरकारको गम्भीर ध्यान जानु जरुरी छ । सरकारले जनहित सोचेर काम गर्नु पर्दछ । यी २१ औं शताब्दीका सच्चा नागरिक कसैका दास होइनन् जसले यहाँ राम्रो गर्दछ उसैको पक्षमा निर्वाचनबाट जय जयकार गर्नेछन् । सच्चा नागरिक कहिल्यै पनि सडकमा कसैको लागि उफ्राउफ्री गर्दैनन् ति देश भक्त हुन्छन् जो ब्यालेटमा विश्वास गर्दछन् । खरिद गरिएका र राज्यकोष दोहन गर्ने तथा अवैधानिक रुपमा नाजायज तवरले फाइदा लिएका केही सीमित ब्यक्तिका झुण्डहरुले मात्र पाएको अवैध सुविधा गुम्ने डर, त्रास र प्राप्त स्वार्थको ऋण तिर्न केहि समय कसैको दासी बनेर सडक कब्जा गरि देश र दुनियाँलाई दुख दिने गरी निर्लज्ज रुपमा नौटङ्गी देखाउँदछन् । अन्ततः सत्य सत्य नै हुन्छ । ईश्वरलाई साँची राखेर सत्य, निष्ठापूर्वक जनहितमा ‘बहुजन हिताय बहुजन सुखाय’ को हेक्का राख्दै सबै कार्यकर्ता र आम नागरिक हाम्रा भगवान् हुन यिनैको प्रसादले म यो पदमा आसिन छु । यिनीहरुकै हितमा काम गर्छु भन्ने सम्झेर वर्तमानमा नसोचेको र परिस्थितिले दिएको अवसरलाई सदुपयोग गरेर काम गर तब तिमीलाई सबैको साथ सहयोग रहनेछ । यसमा अन्यथा गरे तिमीहरुले पनि नजिकिदै गरेको निर्वाचनबाट लज्जास्पद रुपमा हार खानु पर्नेछ । यस कुरामा सबैको हेक्का रहनु जरुरी छ । ‘इमानदार सत्तापक्ष, शालीन प्रतिपक्ष अनि स्वतन्त्र नागरिक’नै आजको आवश्यकता हो ।
व्यवस्था परिवर्तनपछि नागरिकको मनमा सुख शान्तीको चाहाना हुनु स्वभाविकै हो किनकि त्यो परिवर्तनको आन्दोलनमा उनीहरुको सक्रिय सहभागिता मात्र होइन कयौं अपाङ्ग, बेपत्ता छन् त हजारौंले शाहदत पनि गरेका हुन्छन् । उनीहरुको योगदानलाई कम आँकलन गर्न मिल्दैन । जनताहरु जुन जसले जे भने उसैमा सरिक भए कठै उनीहरुनै आज नेतृत्वलाई सरापी रहेका छन् । यसैले गर्दा न त देशमा शान्ति छ न त नेता र नेतृत्वलाई सुख छ । हाम्रो देशमा राजनीतिक किचलो भनौं वा अदूरदर्शी नेतृत्व अथवा शासक नै सबैभन्दा बढी विकासको बाधक बनेको छ । ‘मुहान शुद्ध नभएसम्म सुशासन हुँदैन सुशासन नभए नागरिकले आफ्नो संवैधानिक हक अधिकार र सेवा सुविधा सहज, सरल र निष्पक्ष रुपमा पाउन सक्दैनन ।’
राजनीतिक स्वार्थ र अदूरदर्शिता तथा नागरिकको अन्धभक्तीका अतिरिक्त निम्न कारणहरु पनि मुख्यतः द्रुत विकासका बाधकका रुपमा हाम्रो देशमा देखापरे ।
१. अपारदर्शी सन्धि सम्झौता
२. पटक पटकका हिंसात्मक सडक आन्दोलन
३. माओवादीको सशस्त्र द्वन्द्व
४. दरबार हत्याकाण्ड
५. महाभूकम्प २०७२
६. कोभिड–१९ को महामारी
७. बाढीपहिरो लगाएतका विपद् युक्त दैविप्रकोप
८. अस्थिर राजनीति, पार्टीहरुको टुटफुट, छिटो छिटो सरकार र सत्ता परिवर्तन हुनु
९. लामो समय हुँदा पनि द्वन्द्वकालीन मुद्दाको निरुपण नहुनु
१०. संविधान र विधि पद्धती अनुसार दल, सरकार र नेता, नेतृत्वहरु नचल्नु
११. प्रमुख दलहरु बिच मुख्य मुख्य विषय जस्तैः सुरक्षा, अर्थ, परराष्ट्र र जलश्रोत, मेघा प्रोजेक्टवा ठूला बहुवर्षीय योजना तथा सीमा सुरक्षा आदी जस्ता संवेदनशील पक्षमा साझा धारणा नबनाउनु र
१२. संवैधानिक, प्रशासनिक, न्यायिक र सुरक्षा निकायलाई स्वतन्त्र र विधिसंगत चलाउन नसक्नु आदी आदी ।
यसरी हेर्दा माथि उल्लेखित प्राकृतिक प्रकोप बाहेकका सबै कारणहरुको जिम्मेवार कुनै व्यवस्था होइन नेतृत्व नै हो भन्ने निष्कर्षमा हामी पुग्न सकिन्छ । पटक पटक विकासका नाममा व्यवस्था, सत्ता परिवर्तनदेखि अल्पमत, बहुमत, संयुक्त शासनहुँदै उदार पुँजीवाद, समाजवाद, तिन खम्बे अर्थ नीति र केन्द्रीकृतदेखि विकेन्द्रीत स्थानीय तहसम्मका सबै शासकीय पद्दती, सानोचुस्त देखि बृहत् जम्बो मंत्री मण्डलसम्म आदीको अभ्यास भयो । यहाँ आवश्यक जनमत, नीति, विधि र पद्धती पटक पटक बदलियो तर नेताको व्यवहार भने पटक्कै बदलियन । ‘आर्थिक सम्पन्न तर मानसिक दरिद्रता’ भएका नेतृत्व शक्तिमा जानथाले अनि तिनको बिचार विभक्त हुँदा आफ्नै दलमाथि गम्भीर आरोप लगाउने तर बिचार मिल्दा तिनै अपराधी र भ्रष्टहरु चोखा सत्यवादी, राष्ट्रवादी बनाउने, सत्तामा हुँदा त्यही काम गर्दैनन् विपक्षीमा जाँदा उहि कामको लागि दबाब पूर्ण आन्दोलन गर्दछन, विपक्षीमा हुँदा जुन कामको दवाब दिन्छन उनैले सत्तामा पुग्दा त्यो काम पटक्कै गर्दैनन् बिर्सिदिन्छन यसरी शासकको स्वार्थपरताले देश दुनियाँ हँसाएको छ ।
यस्ता स्वार्थी अनि सत्तामोही नेता र नेतृत्वको व्यवहारले नागरिक वाक्क दिक्क छन् तर पनि अर्को मन जित्न सक्ने दल खडा नभैसकेको वर्तमानकालमा यीनै प्रमुख दल माथि विश्वास गर्नुको बिकल्प पनि छैन त्यसैले यिनिहरु मात्तरहेका छन्, जनतालाई गिज्याइरहेका छन्, नागरिक मतको अपमान गरीरहेका छन । नेपालीले विकासका बाधक तत्वहरु चिन्नु अति जरुरी छ । अन्ततः ति बाधक तत्व भनेको अरु होइन हाम्रा शासकहरुनै हुन । यहाँ आन्दोलन, व्यवस्था, पद्दती र नेतृत्व सबैको परिक्षण भैसक्यो अब सहनुको पनि सिमा हुन्छ भन्ने उक्तिको ख्याल गर्दै यी शासकहरु सुधारिएर अगाडि नबढेमा को–को र कुन कुन नेता, कार्यकर्ता र स्वार्थी समूहहरुको राजनीति मात्र होइन सामाजिक प्रतिष्ठा पनि समाप्त हुने हो सबैले हेक्का राख्नु जरुरी छ ।





