बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

प्रदेशभर मनाईयो संविधान दिवस

प्रदेशभर मनाईयो संविधान दिवस


  • ढोरपाटन संवाददाता
  • असोज ४ २०७८, सोमबार

पोखरा/ गण्डकी प्रदेश सरकारले विविध कार्यक्रम गरी संविधान दिवस मनाइएको छ । प्रदेश मुल समारोह समितिले मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमै आइतबार विषेश समारोह गरेको छ । यसअघि मुख्य न्यायाधिवक्ताको कार्यालय गण्डकीले वृहत अन्तक्रिया गरेको थियो ।

आइतबार आयोजित कार्यक्रममा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले वर्तमान संविधानले सामन्ती, निरंकुश र केन्द्रीकृत राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताए । उनले भने, ‘यस संविधान अन्तर्गत नेपालको राष्ट्रिय सार्वभौमसत्ता नेपाली जनतामा निहित भएको छ र जनता राज्यशक्तिको स्रोत भएका छन् ।’

उनले संविधान बमोजिम संघ, प्रदेश र स्थानीय तहका व्यवस्थापिका तथा सरकारहरू आ–आफ्नो संवैधानिक कार्यभारहरू पूरा गर्न क्रियाशील रहेको उनको भनाइ थियो । संविधान बमोजिम संघ,प्रदेश र स्थानीय तहहरुको स्थापना भए पनि अझै पनि हामीले संविधानले भने बमोजिम शक्तिको विकेन्द्रीकरण गरी दुरदराजका आमनागरिकको घर घरमा संघीयताको अनुभूति हुने गरी धेरै कार्यहरु गर्न बाँकी रहेको उनले बताए । उनले भने, ‘जुन कुराको अपेक्षा आम प्रदेश बासीले प्रदेश सरकारबाट गरिरहेका छन्, ती जनताका अपेक्षा पूरा गर्न सत्ता पक्ष र प्रतिपक्षको इमान्दार प्रयास र सहकार्य अहिलेको आवश्यकता हो ।’

उनले हिजो नयाँ संविधान निर्माणका क्रममा भएका आन्दोलनमा एकै मोर्चामा रहेका दलहरु नै अहिले कुनै सत्ता पक्ष र कुनै प्रतिपक्षमा रहेको भन्दै सत्तापक्षले सत्तामा रहेको घमण्ड र प्रतिपक्षले सत्ता बाहिर छु भन्ने सोचलाई त्यागेर हिजोका परिवर्तनका लागि लडेका दिनहरु सम्झेर जनताका समस्याहरुसँग हातेमालो गर्ने हो भने छिटै गन्तव्यमा पुग्न सकिने भनाइ राखे ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लामो समयको संघर्षबाट प्राप्त उपलब्धिको रक्षाका लागि सबै पक्ष उत्तिकै जिम्मेवारी हुनुपर्ने भनाइ राखे ।संघीयतालाई सुदृढ गर्न राजनीतिक दल, नागरिक समाज, पत्रकार सबैको सहयोग आवश्यक रहेको भन्दै उनले लोकतान्त्रिक प्रणालीमा सरकारले सुझाव र सल्लाह सँधै ग्रहण गर्ने भनाइ राखे । सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा जिम्मेवार भएर अगाडि बढ्न कर्मचारी वर्गलाई उनले अनुरोध गरे ।

गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले सामन्ती, एकात्मक शासन व्यवस्था अन्त्य भए पनि त्यसका अवशेषहरु बाँकी नै रहेका बताए । संघले आवश्यक कानुन नबनाइदिएका कारण अझै पनि प्रदेशमा कतिपय कानुन बनाउन नपाइएको भनाइ उनको थियो । प्रमुख सचिव डा. दामोदर रेग्मीले स्वागत गरेको कार्यक्रम सञ्चालन प्रदेश सचिव इन्दु घिमिरेले गरेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->