नेपाली कांग्रेस १४ औं महाधिवेशनमा जुटेको छ । पटप पटकको मिति सार्दैै तय भएको महाधिवेशनमा विभिन्न अड्कलबाजीसमेत हुने गरेको छ । नेतृत्वको चाहना विपरीत कुनै पनि क्रियाकलाप हुन नसक्ने उदाहरण यो पनि हो । लोकतन्त्रको पर्यावाची ठान्ने कांग्रेस व्यवहारमा भने माथि उठ्न सकेको छैन । सवै वडा तहमा सकिएको निर्वाचनले एउटा सन्देश दिएको छ । पार्टीका शुभेच्छुक, भातृसंस्था र समर्थकलाई समेत नेतृत्व चयनको अवसरबाट वञ्चित गराउँदै जाँदाको अवस्थामा धेरै गर्न बाँकी छ । माउ पार्टीको नीति र भातृ संस्थाको कामकार्य भन्ने नै नचिन्ने भइसकेको अवस्थामा पार्टीको योजना र हितसँगै भविष्यको बारेमा कल्पना गर्न नसक्ने अवस्था भइसकेको छ ।
वर्तमान अवस्थामा पार्टीको नेतृत्वमा युवा आवश्यकताको महशुस गरिएको छ । देशको अस्थिर राजनीतिलाई सम्हाल्न युवाको काँधमा जिम्मेवारी थपिएको छ । सवै तहको निर्वाचनलाई हेर्दा तल्लो तहमा पुराना पुस्ताकै वर्चश्व छ । युवा पुस्ताको हात तान्ने काम रोकिएको छ । तर, माथिल्लो तहसम्म पुग्दा युवा समूह पछाडि परिसकेका हुन्छन् । विभिन्न कोणबाट युवालाई अघि बढन नसक्ने योजनाहरु थोपरेर युवामा भएको तागतलाई हतोत्साहित बनाइने गरेको तथ्यहरु स्पस्ट देखिदै आएको छ । पार्टीको कारखाना भातृ संस्थालाई कमजोर बनाएर कांग्रेसले आगामी दिनमा ठूलो मुल्य चुकाउनु पर्ने देखिएको छ ।
सोच परिवर्तन गर्ने समय अहिले नै हो । महाधिवेशनमा हुने मदतान नै मुख्य ढोका हो । ढोका खोल्दा विचार गरिएन भने त्यसले आगामी दिनको कांग्रेस कस्तो हुने भन्ने हुन्छ । सामान्य सेवा गर्नेको उमेर हद तोकिन्छ भने राजनीतिमा किन यो लागु हुँदैन ? अव युवा पुस्ताले बुझ्नु पर्ने विषय हुन् । राजनीतिक धरातल र कमजोर शरीरले दिने योजनामा ह्रास आएको पाउँछौं । काम गर्ने तहमा युवा नहुँदा पार्टीको संरचना बिग्रदै गएको छ ।
देशमा ठूला ठूला परिवर्तनमा युवाको जोश र जाँगर विना सम्भव भएको देखिँदैन । यही परिवेशमा युवालाई नेतृत्वमा नलैजाँदा धरातल धेरै कमजोर बन्दै जान्छ । यसो भनिरहँदा युवामा परिवर्तनको अपेक्षा र नेतृत्व लिने कसरतमा पनि फरक पर्दछ । यसले पार्टीभित्र मात्र नभएर सिंगो देशको राजनीति र भविष्यका लागि पनि उत्तिकै महत्व राखेको हुन्छ । देशको पुरानो र ठूलो दलको हैसियतले रूपान्तरणलाई आत्मसाथ गर्दै सम्भावनालाई नजिकबाट नियाल्नु पर्ने हुन्छ । विभिन्न कोणहरूले समग्र देशको राजनीतिलाई दुरगामीरुपमा प्रभावित गर्न सक्ने हुँदा युवाले गहन सोच र जिम्मेवारी बोध गर्नै पर्छ । १४ औं महाधिवेशनमा पनि फेरी अधिकांश पुरानो अनुहारले नै वैधानिकता पाउँदा हुने समस्याले पार्टीमा खतरा उत्पन्न हुने आशंका गर्न सकिन्छ ।
नेपालीको औसत आयु ७० वर्ष पुगे पनि करिव ५० प्रतिशत २५ वर्ष मुनि अर्थात स्कुल र कलेज लेभलमै छन् । विभिन्न तथ्यांक वा सामाजिक सञ्जालमा केलाउँदा देशका नयाँ पुस्ता र कांग्रेसको महाधिवेशनसँग जोडिएको अनेकन जिज्ञासाले यसलाई नियाल्ने मेकानिजमसमेतको अभाव देखिएको सन्दर्भमा युवा जागरणको खाँचो छ ।
युवालाई जिम्मा र नेतृत्वमा नलैजाँदा संविधान जारी भएपश्चात् भएको ३ वटा तहको निर्वाचनमा नेपाली कांग्रेसले निक्कै कम स्थानमा जितेको अवस्था छ । देशमा भएको चुनावलाई हेर्दा विजय र पराजयका आधारमा पार्टीको लोकप्रियता खस्किँदै गएको छ ।
कांग्रेसमा पछिल्लो पुस्ताको आकर्षण घटेको छ । क्रियाशील सदस्य नवीकरणदेखि नयाँ सदस्यता प्रदान लगायतको काममा केही जिम्मेवार व्यक्ति नै पछाडि परिरहेका छन् । पारिवारिक पृष्ठभूमिका आधारमा बनेका कांग्रेस र केही प्रत्यक्ष लाभमा जोडिएका कांग्रेस बाहेकले यस्तो गर्न नसकेको अवस्था छ । युवालाई कांग्रेसप्रति आकर्षण नबनाउने हो भने नयाँ पुस्ताका लोकप्रिय नेताका रुपमा बनाएको छवि पनि घट्दै गएको छ । पार्टीको भविष्य र पार्टीगत स्वीकार्यता तथा विश्वसनीयता घटनु दुःखद हो । हजुरबुबाको इतिहास केलाएर बस्ने तल्लो नाती पुस्तामा फुर्सद छैन । २००३ साल सम्झेर, ०७ सालमा प्रजातन्त्र ल्याउन र राणा शासन फाल्न खेलेको भुमिकाले निक्कै फरक बनिसकेको वर्तमान परिवर्तनशील समाज र युवा पुस्ताले त्यसो मान्न तयार भएपनि परिवर्तन र बाध्यात्मक स्थितिले मानेर बस्न नसक्ने अवस्था छ ।
नेतृत्व र सक्षम तथा समृद्ध भविष्यको योजनालाई कांग्रेसको नयाँ पुस्ताले मलजल गर्न नसके अस्तित्व नै संकटमा पर्ने खतरा हुन्छ । जबजब देश र पार्टीलाई संकट देखा पर्छ यो वेलामा युवा पङ्ति नै उभिनु पर्छ । र उभिएको पनि छ । वैदेशिक रोजगारीबाट फर्केका युवा जमात राजनीति प्रति नकारात्मक छन् । देशमा राजनीति गर्नेलाई मान्न तयार छैनन । यो परिस्थितिलाई नियालेर१४ औं महाधिवेशनमा युवाहरुले आफूलाई हस्तक्षेपकारी भूमिकामा उभ्याउनुको विकल्प छैन । नेतृत्व गर्ने इच्छालाई हठकोरुपमा लिँदै गयो भने भविष्यमा सन्ततीले धिकार्ने वाहेक अन्य केही हुँदैन ।
अधिवेशनकै समयमा युवा नेतृत्वले ध्यान दियो भने पार्टीलाई बलियो बनाउने आधार तय हुन्छ । नत्र पछुताउनुको विकल्प छैन । पार्टीभित्र पुस्ता हस्तान्तरणको पक्षमा निरन्तर आवाज उठाएका युवा नेतृत्वले हस्तक्षेपकारी भूमिका निभाउन जरुरी छ । परिवर्तनको संघारमा हरेक समस्या आउलान युवा पुस्ताल झेल्ने हिम्मत गरेरै छोडनु पर्छ । लामो समयदेखिको नेतृत्व पुस्ता हस्तान्तरणमा सहज प्रस्तुत होलान् भन्ने कल्पना गर्न सकिँदैन । युवा विचार समूहले पार्टीको १४ औं महाधिवेशनमा यो हिम्मत देखाउने बेला आएको छ । महाधिवेशनको अन्तिम घडीमा युवा पुस्ताको सशक्तरुपमा हस्तक्षेप गरेरै जाँदा भविष्यको कांग्रेस र युवा पुस्तामा वेचैनी भएको राजनीतिले सास फेर्ला भन्न सकिन्छ । समयलाई ध्यान दिन यो अधिवेशनमा चुक्यो भने आगामी १५ औं महाधिवेशनमा जाने छुट नहुन सक्छ । कांग्रेसले राष्ट्र र राष्ट्रियताको विषयमा आम नागरिकको हितमा जान सक्ने योजना अघि सार्नुपर्छ ।





