मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

उमेरको ७ दशक पछि स्वतः अभिभावक

उमेरको ७ दशक पछि स्वतः अभिभावक


  • केदार धमला
  • असोज १२ २०७८, मंगलबार

नेपाली कांग्रेस पार्टीको १४ औं महाधिवेशन विभिन्न तहका निर्वाचन हुँदै अघि बढेको छ । क्रियाशील सदस्यता विवादित जिल्लाबाहेक अन्य जिल्लामा गाउँपालिका, नगरपालिका र महानगरपालिकासमेतमा निर्वाचन सकिएको छ । यसले एउटा सन्देश पनि दिँदै गएको छ ।

पुराना पुस्ताहरु कांग्रेसका गहना हुन् । यसो भनिरहँदा जिल्लामै नेतृत्व चयन नभएपनि भोट हाल्नेहरुको लाइन हेर्दा पक्कैपनि युवा पुस्तामा नेपाली कांग्रेस हस्तान्तरण हुन लागेको आभाष मिलेको छ । वडा हुँदै सुरु भएको अधिवेशन केन्द्रीय तहसम्म पुग्दा नमुना बन्न सक्ने अनुमान सुरु भएको छ । आलोचनामा खटिएरमात्र नेतृत्व प्राप्त गर्ने होइन, युवा पुस्ता थप जिम्मेवार र गहन हुन सक्नुपर्नेमा दुईमत छैन । तर समयको कालखण्डमा युवा पुस्ताले शारीरिक शक्तिमात्र प्रयोग गरेर होइन बुद्धि र धैर्यता पनि देखाउन सक्नु पर्ने समय आएको छ ।

कांग्रेसमा सदस्य संख्या तोकेर सदस्यता वितरण गर्ने परिपाटीले केही असन्तुष्टि भएको छ । अस्ती भर्खर अन्य पार्टी परित्याग गरेर कांग्रेसको सदस्यता प्राप्त गर्नेले पनि जिल्ला तहमा मत राख्ने अधिकार पाउँदा गुट बलियो बनाउने पद्धतिको मात्र विकास भएको देखिन्छ । सामान्य खाइपाइमै रमाउने रोग युवामा पनि सुशुप्त रुपमा देखिएको जानकारले बताउँदै आएका छन् ।

लोकतान्त्रिक पद्धतिमा कुनै पनि नागरिक पार्टीको सदस्य बन्न पाउने अधिकार र व्यक्तिको रुचिसँगै चाहनाको कुरा महत्वपूर्ण हुन्छ । कांग्रेसले सधै क्रियाशील सदस्य दिन खुला राख्नुपर्छ । पार्टीको हित भन्दापनि आफ्नो गुट बलियो बनाउन लाग्दा भएको समस्या १४ औं महाधिवेशनमा देखिने प्रस्ट भएको छ । अन्यपार्टी सँग बौद्धिक लडाई लड्ने पुस्ता जन्माउन सक्नु पर्छ । १४ औ महाधिवेशनबाट आम कार्यकर्ताको अपेक्षा यही नै हो । देश र जनताको पक्षमा उभिएको जमातलाई आफूतिर कसरी आकर्षित गर्ने भन्ने योजनासँगै रणनीति अव कांग्रेले बनाउनु पर्छ । नयाँ आएका युवा पुस्तालाई ऊर्जाशील बनाउने नीति कांग्रेसले लिनु पर्छ ।

अहिलेको नेपाली परिस्थितिलाई नियाल्दा पार्टीमा काम गर्ने भन्दा भाग खोज्ने समूहको हावी हुँदै जानु दुःखद पक्ष हो । नेतृत्वका विषयमा विभाजित हुन पुग्दा आगामी नीति तथा योजना पछाडि परिरहेको अवस्था छ । गुट र उपगुटमा विभाजित कार्यकर्ताहरु विश्वासपात्र कै आधारमा उम्मेदवार घोषणा गरिरहेको देखिन्छ । यस्तो अवस्थामा कुन गुटले आफूलाई पल्लाभारी हुन्छ भन्ने आंकलन गर्ने पुस्तालाई सिंगो कांग्रेस गुट हुँ भन्नेले चिर्न सक्नुपर्छ । जनता र स्थानीयस्तरमा आफूलाई बलियो देख्ने तर पार्टीको कुनै पनि योजनामा आफूलाई उभ्याउन नसक्ने नेतृत्वलाई विदाई गरेर अभिभावक बनाउनु पर्ने हुन्छ ।

अनिश्चितता तर्फ धकेलिँदै गएको १४ औं महाधिवेशनलाई छिटो भन्दा छिटो अधिकार र भविष्यको बलियो कांग्रेस बनाउने महाधिवेशनका लागि उचित वातावरण बनाउन सवै तहबाट लाग्नु पर्छ । लोकतान्त्रिक विधि र पद्धतिलाई हेर्दा विधिवत हुनुपर्ने सवै भातृ संस्था, शुभेच्छुक संस्थाको अधिवेशन पनि पार्टीको कारखाना हो । कारखानाबाट उत्पादित खारिएका पुस्ता जन्माउन सक्नुपर्ने कांग्रेसले त्यसो गर्न नसकेको देखिएको छ । महाधिवेशनको तयारी र भविष्यको उर्जाशील नेता कार्यकर्ता उत्पादनलाई पनि व्यक्तिगत ढंगबाट आंकलन गर्ने परिपार्टीले विग्रेको सिद्धान्त र योजनमा आजैबाट मसिनोसँग तल्लो तहसम्म सकारात्मक ढंगबाट सन्देश पु¥याउने दायित्व पनि १४ औं महाधिवेशनको हो ।
अन्य पार्टी छोडेर कांग्रेसमा प्रवेश गर्नेहरुलाई पनि नीति बनाउन आवश्यक छ । उनीहरुलाई पार्टी प्रवेश गराउँदा कांग्रेसको नीति, मर्म र भावनासँग खेल्नेगरी पहिलो चरणमा ल्याउनुहुन्न । पार्टीमा ल्याउँदा कार्पेट ओछ्याउने अनि नीतिगत वेवास्ता गर्दा पार्टीलाई थप हानी भएको पाउन सकिन्छ । एकातिर युवाको चाहना मरेको पाइन्छ भने अर्कोतिर ७० पुगेका कांग्रेसका अभिभावकलाई समस्या परेको देखिन्छ ।

कांग्रेसमा उमेर तहको विवाद नभएको भने होइन । विभिन्न कालखण्डमा उमेर विवाद झेल्दै आएको कांग्रेसले १४ औं महाधिवेशनमा रुपरेखा कोर्न सक्ने बनाउनु पर्छ । हामीले हाम्रो आमाबाबालाई दैनिकसँगै रहँदा स्मरण शक्तिदेखि थप योजना बनाउनु पर्दा गरेको कदम र शारीरिक क्षमतालाई नियाल्दा समय सापेक्ष नभएको हामीले पाएकै छौं । तर, सम्मान र सहज जीवनकोलागि उहाँहरुको कदम अहम् छ । यसरी हेर्दा ७ दशक पुरा गरेका पार्टीका विभिन्न तहमा रहेका नेता कार्यकर्तालाई अभिभावकको सम्मान दिँदै नेतृत्वबाट हटाउने नीति आवश्यक छ ।

पार्टीलाई बलियो लोकतान्त्रिक र अनुशासित नेता वा कार्यकर्ता बनिरहन र बनाईरहन सक्नु पहिलो कर्तव्य हो । १४ औं महाधिवेशनसम्म आइपुग्दा धरैको दुःखले कांग्रेसलाई धेरै पाठ पढाउँदै यहाँसम्म ल्याएको छ । भीडले गरेको निर्णय कांग्रेसको निर्णय हो भनेरमात्र १४ औं महाधिवेशन सकिने अवस्थामा छैन । समावेशी र प्रतिनिधिमूलक बनाउँदै ल्याउन सक्नु कांग्रेसको पहिलो कतव्र्य हो । यसमा काम गर्ने तहमा युवा, अनि सुझाव दिने तहमा प्रौढ र प्रचार गर्ने तहमा अभिभाकलाई अघि सार्ने हो भने कांग्रेसको आगामी यात्रा सहज हुने अनुमान गर्न सकिन्छ ।

कांग्रेसलाई नेतामुखी नबनाई नीतिमुखी बनाउने योजनामा १४ औं महाधिवेशन अघि बढ्नु पर्छ । युवा पुस्ताले सोच बदल्ने अनि नीतिगत योजना अघि सारेरै कांग्रेसले आफ्नो यात्रा तय गर्नुपर्छ । समय एकै हुँदैन । प्रविधिले मारेको फड्को, प्रविधिबाट जन्मेको चाहना र विकासे भावलाई सम्बोधन गर्दैै अघि बढ्न सक्ने नेतृत्व नै भावि पुस्ताले रुचाउने विषय हुन् । शैक्षिक योजनादेखि विकास गर्नेसम्मका योजनामा युवापुस्ताले फड्को मार्न सक्नुपर्छ । यो वा त्यो नभनी, मेरो र तेरो नभनी कांग्रेसको काम गर्ने हो भने जनताले विश्वास गर्नेछन् । जन अपेक्षा अनुरुप चल्न नसक्ने नेतृत्वलाई नेतृत्व दिँदा भविष्यको कांग्रेस बलियो र राम्रो कांग्रेस बन्न सक्दैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->