
पोखरा/ प्लस टु पढ्न पोखरा आएकी तनहुँ खैरेनीटारकी यशोदा बानियाले पढाइसँगै काम खोजिन् । आफ्नो खर्च आफै जुटाउन ‘प्रोजेक्ट’मा जागिर खाने र झोला बोकेर ‘फिल्ड’मा हिड्ने उनको धोको थियो । भनेजस्तो कसलाई हुन्छ र ? जागिर झोला बोक्ने नै भयो तर पहाड उक्लने !
पोखरामा मामाघर बसेर पढेकी यशोदालाई एकजना दिदीले लेकसाइडस्थित थ्री सिस्टर ट्रेकिङ कम्पनीमा काम पाइने बताइदिए । उनी आफै कम्पनी गइन्, कुरा बुझिन् । त्यसअघि उनलाई टे«किङ भन्ने नै थाहा थिएन, विदेशी घुम्न आएको देखेकी मात्र थिइन् ।
उनले चिनेकी अर्की महिलाले पनि त्यहीँ काम गर्ने रहिछन् । उनले पनि काम पाइहालिन् । पर्यटक सहायकका रुपमा सानो झोला बोक्ने, पदयात्रामा जाने । पर्यटक सहायकलाई १२ किलोको झोलामात्र बोकाइन्थ्यो, कहिलेकाँहि १५ किलोसम्म बोक्नुपथ्र्यो । यशोदा झोला बोक्न तयार भइन् ।
पर्यटकको झोला बोकेर हिँड्न उनलाई मामाघर र परिवारले साथ दिएन । ‘क्षेत्री बाहुनको घरमा कसैले नगरेको गोरासँग भारी बोकेर हिड्ने काम कसैलाई मन परेको थिएन’, यशोदाले भनिन्, ‘म एकपटक प्रयास गर्छु भनेर जिद्धी गरेर आएकी हुँ ।’
प्लस टु पढ्दापढ्दै २०१० मा यसरी पर्यटक सहायकबाट पर्यटन क्षेत्रमा छिेरेकी यशोदाले गाइडको तालिम लिएर लाइसेन्स निकालिन्, दुई वर्षमै पर्यटक गाइड बनिन् । गाइडको काम गरेरै उनले समाजशास्त्रमा स्नातक उत्तीर्ण गरिन् ।
कोरोना भाइरसको महामारीअघिसम्म उनले गाइडकै रुपमा नेपालका प्रख्यात पदयात्राहरु घुमिन् । पर्यटकलाई घुमाइन् । अन्नपूर्ण, लाङटाङ र सगरमाथा क्षेत्रका पदयात्रा सबैभन्दा धेरैपटक पुगेको उनले बताइन् । कोरोना महामारीले पर्यटक आउन बन्द भए, २ वर्षयता उनले पर्यटक घुमाउन पाएकी छैनन् ।
यशोदाका श्रीमान पोखरामा ट्याक्सी चलाउँछन् । लकडाउनले श्रीमान–श्रीमती दुबैको रोजगार गुमेको उनको भनाइ छ । मासिक ७ हजारमा २ वटा टिनले छाएको सानो कोठा लिएर बसेकी उनले २ वर्षदेखि भाडा तिरेकी छैनन्, परिवारमा ऋण लागेको छ ।
२ वर्षदेखि बेकामे भएर बसेपनि उनलाई पर्यटक लिएर हिमालतिर उक्लने लत छुटेको छैन । ‘यो क्षेत्रमा लागेपछि नशा लागेजस्तो हुन्छ, छोड्नै सकिन्न’, उनले भनिन्, ‘२ वर्ष त यत्तिकै बसियो, ७ वर्षसम्म बस्नुपरे पनि पर्यटक आएपछि ट्रेकिङ जाने हो ।’
स्याङ्जा बहाकोटकी हीरा मल्लका श्रीमानले अर्को विवाह गरेपछि छोराछोरी हुर्काउन मुस्किल प¥यो । उनका बहिनी विष्णु पोखराको थ्री सिस्टर ट्रेकिङ कम्पनीमा काम गर्थिन् । जागिरको खोजीमा रहेकी हिरालाई बहिनी विष्णुले पोखरा बोलाइन्, पर्यटकको भारी बोक्ने काम लगाइदिइन् । अहिले विष्णु पोखरामै योगा प्रशिक्षक छन् ।
पहिलो पटक २००७ मा हिरा डोकोमा पर्यटकका बच्चा बोकेर लान्द्रुक–घान्द्रक पदयात्रामा लागिन् । बच्चाको शरीर ठूलो थियो, हीराले डोकोमा राखेर नाम्लो लगाएर बोकिन् । ‘मान्छे बोक्न एकदम गाह्रो हुने रहेछ’, उनले भनिन्, ‘भाषाको समस्या थियो, केही भन्न पनि नसक्ने, बाटोमै छोडेर हिँडम् जस्तो भएको थियो ।’
जतिसुकै गाह्रो भए पनि उनीसँग अर्को विकल्प थिएन । जसोतसो गन्तव्यमा पुगिन् । कम्पनीबाट उनले गाइडको तालिम लिइन्, लाइसेन्स निकालेर २००९ मै गाइड बनिन् । अहिलेसम्म उनले कञ्चनजंघा क्षेत्र बाहेक नेपालका सबै पदमार्गमा यात्रा गरेको बताइन् ।
अरु कम्पनीमा गाइड काम गर्दागर्दै हीराले आफ्नै कम्पनी खोलिन्, ‘मल्ल सिस्टर वुमन एडभेन्छर गाइड ।’ कम्पनीमा सधँै अफिस खोलेर बस्नुपर्ने थिएन । पर्यटकले अनलाइनबाटै बुक गर्थे । साथीहरु मिलेर कम्पनी चलाइन् । दुई वर्षयता कोरोनाले कम्पनी ठप्प छ तर पर्यटक आउने आशा अझै छ ।
पर्यटन क्षेत्रमा होमिएकी हीरा अब अरु काम नगर्ने बताउँछिन् । ‘अरु काम गर्न जिरो लेभलबाट सुरु गर्नुपर्छ, यो क्षेत्रमा हामीले यति धेरै बर्ष मेहनत गरेको छ, अनुभव छ’,उनले भनिन्, ‘सक्दासम्म यही काम गर्ने हो, एकदिन त पर्यटक आउलान् नि ।’
पर्यटन क्षेत्रमा कमाइ राम्रै भए पनि वर्षमा ६ महिनामात्र चल्ने गरेकाले बचत कम हुने गाइड तथा पोर्टरहरुको भनाइ छ । ‘सिजनमा मात्र कमाइ हुन्छ, अफसिजनमा त्यही कमाइ खाएर बस्नुपर्छ’,हीराले भनिन् ‘१२ महिना चल्ने भए त कति राम्रो हुन्थ्यो कति ।’
धरानस्थित ब्रिटिस क्याम्पमा कार्यरत बुबा पोखरा सरुवा भएपछि शोभा सुनुवार पनि पोखरा आइन् । उनको विवाह भने रामेछापमा भएको थियो । तर, उनी पोखरा नै बसिन् । यशोदासँगै तािलम लिएर पर्यटन क्षेत्रमा लागेकी शोभा शुरुमा पर्यटक सहायकका रुपमा झोला बोकेर हिडिन् । गाइडको तालिम लिएर लाइसेन्स लिइन्, त्यसपछि उनी पनि पर्यटकलाई गाइड गर्न थालिन् ।
लकडाउन भएपछि रोजगार गुमाएकी शोभा कामको खोजीमा पोखराका विभिन्न ठाउँमा पुगिन् । विभिन्न सपिङ कम्प्लेक्सदेखि घर बनाउने ठाउँसम्म । लकडाउनले धेरै मजदुर रोजगारविहिन थिए । उनले काम पाउन सकिनन् । घर बनाउने ठाउँमा जाँदा तिमीले के गर्न सक्छौ र ? भनेर फर्काइदिएको उनले सुनाइन् ।
शोभाका दाजुभाई बेलायत छन् । उनीहरुले नै लकडाउनमा खर्च टार्न पैसा पठाइदिएका छन् । उनका भदिनीहरुले पनि सहयोग गरेका छन् । पर्यटन मजदुरलाई सहोग गर्न विभिन्न संस्थाले राहत दिएको थियो, उनले पनि पाइन् । लकडाउनका २ वर्ष यसरी नै बिताएकी शोभा पर्यटकको पर्खाइमा छिन्, पदयात्रा पुरानै लयमा फर्कने आशामा छिन् ।
लकडाउनले २ बर्ष कोठामा थुनिएर बसेका शोभा र यशोदालाई न्यास्रो लाग्यो । गत फागुनमा उनीहरु दुइजना मिले, मर्दी पदयात्रामा लागे । पर्यटक लिएर हिडेको बाटो दुइजना मात्रै जाँदा उनीहरुलाई सुनसान लाग्यो । फेरि यो बाटो पर्यटक लिएर आइन्छ भनेर फर्किएको शोभाले सुनाइन् ।
‘नेपाली केटाहरुले हामीलाई हेप्छन्’
अन्यत्र क्षेत्रमा जस्तै महिलालाई पर्यटन क्षेत्रमा पनि काम गर्न सजिलो छैन । काम गर्न नसकेको वा नजानेर होइन, महिला भएकै कारण अनेक अप्ठ्यारो व्यहोर्नु परेको उनीहरुको भोगाइ । झण्डै १२ वर्षदेखि पर्यटक सहायक र गाइड बनेर काम गरेकी यशोदाले यस्ता थुप्रै अनुभव सँगालेकी छिन् ।
पदयात्रा गर्न महिलालाई समस्या छैन । पर्यटकबाट पनि समस्या छैन । तालिम लिएर बुझेर लागेकी यशोदालाई नेपाली दाजुभाइबाटै दुःख दिने काम भएको छ । केही मानिस गाइडबाट सेवा लिनभन्दा पनि मान्छे नै किनेकोझैं व्यवहार गर्ने गरेको उनले बताइन् । ‘हामीले सेवा बेचेको हो, आफू बेचिएको त होइन नि’,उनले भनिन् ।
एकपटक यशोदा घोरोपानी–पुनहिल पदयात्रामा उक जना विदेशी महिला लिएर गएकी थिइन् । उल्लेरीको उकालेमा एकजना नेपाली पर्यटन मजदुरसँग उनको भेट भयो । ती मजदुरले उनलाई भनेछन्, ‘यो काम हामीले गर्ने हो, तिमी केटीहरुले गर्ने होइन । केटी मान्छे त बजारमा सानोतिनो काम गरे हुन्छ, अफिसियल काम गर्नुपर्छ ।’
ती पर्यटन मजदुरले केटीहरु पर्यटकसँग पदयात्रा जान थालेपछि आफूहरुको काम ध्वस्त पारेको बताएका थिए । उनले पनि ती मजदुरलाई जवाफमा काम गरेर खाने हो, जसले गरे पनि हुन्छ भनेर जवाफ दिएको बताइन् । ‘मेरो त मुख छुच्चो छ, यस्तो कुरा नगर्नू भनेर कराइदिएँ’,उनले भनिन् ।
सिजनका समय पदमार्गमा रहेका होटलहरुमा महिला गाइड र पोर्टरलाई बस्न खान समस्या छ । ‘केटाहरु डाइनिङ टेबलमा सुत्छन्, हामीलाई त्यही पनि व्यवस्था नै हुँदैन’, उनले भनिन्, ‘सिजनमा एकदम गाह्रो हुन्छ ।’
पर्यटक लिएर जाने नेपाली गाइड र पोर्टरले बास बस्ने होटलमा मदिरा सेवन गरेर ‘छाडा’ बोल्ने गरेको उनीहरुको अनुभव छ । ‘स्थिति हेरेर बोल्नुपर्छ, दाजुभाइको कुरा सुन्नै नसकिने हुन्छ’, अर्का गाइड हीराले भनिन्, ‘कोहीकोही त हामीलाई मान्छे नै नगन्ने खालका हुन्छन् ।’
पर्यटकका महिला गाइडलाई गाउँ समाजले असल दृष्टि नलगाउने गरेकोसमेत हिराको अनुभव छ । गाउँका ३ जना महिलाले जागिर खोजेपछि उनले पोखरा ल्याएर तालिम दिइन् । पदयात्रामा जान ठिक्क पारिन् । एक महिना तालिम लिएरपछि गाउँलेले कुरा काट्न थालेको उनको अनुभव छ । ‘यो ठीक बाटो होइन, बिग्रिएका मान्छेले गर्ने काम भनेर होच्याउँछन्’, उनले भनिन् ।





