तनहुँ/ नेपाली कांग्रेस भिमाद नगरपालिकाको सभापतिमा अर्विन श्रेष्ठ विजयी भएका छन् । विहीबार भएको निर्वाचनमा प्रतिष्पर्धी रामकृष्ण रानालाई पाखा लगाउँदै अर्विनले सभापतीमा बाजी मारेका हुन् । अरविनले ७५ मत प्राप्त गरे । उनका निकटम प्रतिष्पर्धी रानाले पाँच कम ७० मत प्राप्त गरेका हुन् ।
निर्वाचन मार्फत टुंगो लगाईएको सहसचिव पदमा राहुल थापा र सन्तोष थापा विजयी भएका छन् । राहुलले ८४ र सन्तोषले ८८ मत पाए । अर्का उम्मेद्वार कृष्णप्रसाद रिजालले ७१ मत ल्याए ।
शनिबारदेखी सहमतीको लागी भन्दै भिमादको अधिवेशन स्थगित थियो । पाँच दिनसम्म सभापति र सहसचिव पदमा सहमती जुट्न नसकेपछि विहीबार निर्वाचन भएको हो । १६२ मतदाता रहेकोमा १५७ मत खसेको थियो ।
भिमाद नगर उपसभापतिमा भुपेन्द्रराज मल्ल र टेकबहादुर थापा, सचिवमा नरविर आले र विजयकुमार थापा यसअगाडी नै सर्वसम्मत भएका थिए ।यो संगै तनहुँ कांग्रेसको १० वटै स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । जिल्लाका आठ स्थानीय तहमा तोकिएको मिती ९ असोजमा अधिवेशन सम्पन्न भएको थियो । मतदान सुरु भएपछि स्थगित भएको ऋषिङ गाउँपालिकामा पनि ११ असोजमा मतदान सम्पन्न भएको थियो ।
जिल्लाको व्यास नगरपालिकामा सूर्यचन्द्र हड्खले र भानुमा रामकुमार श्रेष्ठ, शुक्लागण्डकीमा गोपिबहादुर गुरुङ र भिमाद नगरपालिकामा अर्विन श्रेष्ठ सभापति बनेका छन् । देवघाट गाउँपालिकामा तिलबहादुर थापा, बन्दिपुरमा कर्ण खत्री, म्याग्देमा रामभक्त घिमिरे, आँबुखैरेनीमा विष्णु पन्थ, ऋषिङमा तिलबहादुर थापा र घिरिङमा यम थापा सभापति बनेका हुन् ।





