बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कतै जग्गा छैन, कतै खाल्डोमा घाँस !

कतै जग्गा छैन, कतै खाल्डोमा घाँस !


  • विनोद ढुंगाना
  • असोज १९ २०७८, मंगलबार
 भिमाद नगरपालिका–६ भिमाद प्राथामिक स्वास्थ्य चौकी परिसरमा १५ शैड्ढयाको अस्पताल बनाउन शिलन्यास गरिएको खाल्डो । तस्वीर : विनोद ढुंगाना

तनहुँ/ त वर्ष १५ मंसिरको दिन, शुक्लागण्डकी नगरपालिका११, राईपुर बिसौनामा बाजागाजासहित हर्ष बढ्याइँ थियो । गाउँमा १५ शैड्ढयाको नगरस्तरीय अस्पताल शिलान्यास हुने भएकाले खुशीको माहोल थियो, त्यो ।
गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले तामझामका बीच अस्पतालको शिलान्यास गरिन् । सबै नगरबासीलाई पायक नपर्ने ठाउँमा एक्लौटी ढंगले अस्पताल शिलान्यास भएको भन्दै नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी कोही कार्यक्रममा सहभागी भएनन् । वडाका जनप्रतिनिधि र कर्मचारीमात्रै सहभागी थिए ।

स्थानीयको निरन्तर दवाब, लामो समयको छलफलपछि शिलान्यास भएकै ठाउँमा १५ शैड्ढयाको अस्पताल बनाउन २६ जेठमा बसेको शुक्लागण्डकीको नगर कार्यपालिका बैठकले निर्णय गरेको छ । तर, शिलान्यास भएको उक्त अस्पताल खाल्डोमै सीमित छ । ‘अस्पताल शिलान्यासको खाल्डोमात्र छ । खाल्डोमा पनि घाँसपात उम्रेर भरिएको छ । काम सुरु होला भनेर जग्गामा खेती लगाइएको छैन। अब विस्तारै काम होला !’ निर्माण उपभोक्ता समितिका सचिव जीवन पोखरेलले भन्छन् ।

अस्पताल निर्माण गर्न टेन्डर आह्वान गर्नै बाँकी रहेको नगर उपप्रमुख सविता रसाइलीले बताइन् । संघीय सरकारले बजेट पठाएपछि टेन्डर आह्वान हुने उनको भनाइछ । उनले भनिन्, ‘डिपिआर बनाएका छौं । माथिबाट बजेट आएपछि काम सुरु हुन्छ ।’ गत वर्ष संघबाट आएको एक करोड रुपैयाँमध्ये डिपिआर निर्माणमा मात्रै १२ लाख रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ ।

शुक्लागण्डकीसँगै सोही दिन भिमाद नगरपालिका, ऋषिङ गाउँपालिका, म्याग्दे र देवघाट गाउँपालिकाले पनि अस्पताल शिलान्यास गरेका थिए । पालिकास्तरीय अस्पतालको काम कुनैपनि स्थानिय तहमा सन्तोषजनक भएको छैन।शिलान्यासको १० महिने अवधिमा जग्गा सम्याउने र जग राख्ने काम बाहेक अरु देखिँदैन।जगसमेत ठडिएको छैन्। कुनै स्थानीय तहले अझै जग्गासमेत व्यवस्थापन गर्न सकेका छैनन् । नगरपालिकाले १५ र गाउँपालिकाले १० शैड्ढयाको अस्पताल बनाउने गरी शिलान्यास गरेका थिए ।

भिमाद नगरपालिकामा शिलान्यास गरिएकोे अस्पताल पनि खाल्डोबाट माथि उठ्न सकेको छैन । भीमाद ६, भिमाद बजारको भिमाद प्राथमिक स्वास्थ्य चौकी परिसरमा शिलान्यास गरिएको अस्पतालको काम सुरु भएको छैन । यहाँ पनि शिलान्यास गरेको खाल्डोमा घाँसपातले भरिँदैछ ।

११ करोड ५२ लाख ९ हजार ९ सय ६३ रुपैयाँमा ठेक्का लागेको अस्पतालको काम अगाडी बढेको छैन। पेश्की स्वरुप १० प्रतिशत रकम भने भुक्तानी गरिसकिएको छ ।‘कोरोनाको कारणले काम हुन पाएन । केही दिन अघि निर्माण कम्पनी फिल्डमा आएको थियो । अब छिट्टै काम सुरु हुन्छ होला !’ जनस्वास्थ्य अधिकृत मुनिराज बरालले भने ।

ऋषिङ गाउँपालिका४,भीरकोट स्वास्थ्यचौकीमा शिलान्यास गरिएको अस्पतालको जग्गा सम्याउने काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत चण्डिका पोखरेलले बताए । पोखरेलका अनुसार ओम बुद्ध हरितारा जेभीले अस्पताल निर्माणको ठेक्का लिएको हो । ७ करोड ७७ लाख रुपैयाँमा ठेक्का लगाइएकोमा ८० लाख रुपैयाँ भुक्तानी गरिएको पोखरेलले जानकारी दिए ।
देवघाट गाउँपालिका५, घिनाटारमा बन्ने अस्पतालको काम जग्गा सम्मयाएर सकिएको छ । गाउँपालिकाका सिनियर अहेव प्रदीपकुमार बुढाथोकीले दिएको जानकारी अनुसार अस्पतालको जग राख्ने काम सुरु भएको छ । ७ करोड ६५ लाख रुपैयाँमा अस्पताल निर्माणको ठेक्का लागेको हो ।

म्याग्दे गाउँपालिका४, थर्पुमा बन्ने अस्पतालको पनि जग समेत उठेको छैन। यहाँ पनि अस्पताल शिलान्यासकै खाल्डोमा सीमित छ । यतिबेला कामदार निर्माणस्थलमा आएर काम सुरु गरेको गाउँपालिकाका इञ्जिनियर शिवप्रसाद ढुंगानाले बताए ।

शिलान्यास नै ढिला भएको भानु नगरपालिकामा बन्ने १५ शैड्ढयाको अस्पतालमको भने काम सुरु भएको छ । सुरुमा भानुमा कस्ले शिलान्यास गर्ने विवाद सिर्जना हुँदा १५ मंसिरमा शिलान्यास हुन सकेको थिएन।झन्डै साढे दुई महिनापछि भानु५, पुरनडिहीमा बन्ने नगर अस्पतालको गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २६ माघमा शिलान्यास गरेका थिए ।

ठेक्का सम्झौता भएर काम सुरु भएको नगरपालिकाका सूचना अधिकारी सुनिल पाण्डेले बताए । अस्पताल बन्ने ठाउँको जग्गा सम्याउने काम भइरहेको उनले उल्लेख गरे । ‘हाम्रोमा शिलान्यास नै ढिला भएको हो । ठेक्का सम्झौताको प्रक्रिया नै लामो भएकाले काममा ढिलाइभएको छ,’ उनको दाबी छ ।

घिरिङ गाउँपालिकामा अझै जग्गाको व्यवस्थापन हुन सकेको छैन। घिरिङ३,सुन्धारामा बन्ने १० शैड्ढयाको अस्पताललाई आवश्यक९ रोपनी जग्गा प्र्राप्तिको प्रक्रियामा रहेको स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद रिमालले बताए ।
आँबुखैरेनी गाउँपालिकामा जग्गा अभाव अस्पताल निर्माणमा तड्कारो बनेको छ । स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्याय भन्छन्, ‘ऐलानी जग्गामा अस्पताल बनाउनलाई स्वास्थ्य मन्त्रालय प्रस्ताव पठाएको स्वीकृत भएन। दर्तावाला जग्गा खोज्यो । अहिले जग्गा दर्ताको प्रक्रियामा छौं ।’

बन्दीपुरमा पालिकास्तरीय अस्पताल बनाउन संघीय सरकारबाट बजेट नपरेको गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले बताए । उनका अनुसार गाउँपालिकाले आफ्नै बलबुताँले बन्दीपुर अस्पताललाई ५० शैड्ढयाको बनाउन लागिएको छ । भवन निर्माणीन अवस्थामा रहेको अध्यक्ष थापाले जानकारी दिए ।व्यासलाई पनि गत वर्ष संघीय सरकार अन्तर्गतको स्वास्थ्य मन्त्रालयले अस्पताल निर्माणका लागी बजेट नपठाएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->