
तनहुँ/ गण्डकी प्रदेशको ‘लाइफलाइन’पृथ्वी राजमार्गको मुग्लिन पोखरा खण्ड ४ लेनको बन्दैछ । २०२६ सालमा रेखांकन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक ४ लेनको बन्न लागेको हो ।
८० किलोमिटर सडकलाई २ खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ । आँबुखैरेनी–जामुने पूर्वी खण्डको ४१.४५ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । जामुने–पोखरा पश्चिम खण्डको ३९ किलोमिटरको ठेक्का चिनियाँ कम्पनी यनहुई काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको होे ।
हाल आँबुखैरेनी–जामुने पूर्वीखण्डको काम सुरु भएको छ । जामुने–पोखरा पश्चिम खण्डमा भने काम सुरु हुने चरणमा छ । निर्माण कम्पनीफिल्डमा आएरकाम थालेको मुग्लिन पोखरा सडक योजना ‐आँबुखैरेनी–जामुने) पुर्वी खण्डका योजना प्रमुख नरेन्द्र सुवेदीले बताए ।
सर्भे डिजाइन सकाएर फाइनल गर्ने चरणमा रहेको सुवेदीले बताए । ‘बर्खाको बेला हाम्रो सेड्युलमा नै थिएन कन्सट्रक्सनको काम । दसैंअगाडि खाल्डाखुल्डी पुर्ने काम सुरु गर्छौं । कन्सट्रक्सनको काम दसैंपछाडि सुरु हुन्छ,’ उनले भने । ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा यो खण्डको ठेक्का सम्झौता भएको हो ।
मुग्लिन पोखरा सडक योजना पश्चिम ‐जामुने–पोखरा) खण्डको ठेक्का पाएको यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सन कम्पनीका प्रतिनिधि भने कोरोनाको कारण भदौ दोस्रो सातामात्रै नेपाल आइपुगे । १३ भदौमा यनहुईका प्रतिनिधिले निर्माण प्रतिबद्धता जनाएको योजना प्रमुख प्रेमप्रकाश खत्रीले जानकारी दिए ।
२७ भदौमा निर्माण कम्पनीलाई कार्यक्षेत्र हस्तान्तरण गरेको उनले बताए । कार्यक्षेत्र हस्तान्तरण भएपनि मर्मत सम्भारको कामका लागि भनेसडक डिभिजन कार्यालयलाई अनुरोध गरेको खत्रीले बताए । निर्माण कम्पनीका प्रतिनिधि आएपनि कामदार भने आइनपुगेको उनको भनाई छ ।
‘कामदार ल्याउनलाई भिसा प्रक्रियामा छन् । नेपाल आएका प्रतिनिधिले अस्थायी कार्यालय खडा गरेका छन्,’ खत्रीले भने,‘कार्यालय बनाउनलाई डिजाइन गर्ने, निर्माणस्थलको निरीक्षण, बिमा र पेश्की लिनका लागि कागजात तयार पार्ने काम प्रतिनिधिले गरिरहेका छन्।’ यो प्याकेजको सात अर्ब ४० करोड ४६ लाख रुपैयाँमा ठेक्का लगाइएको हो ।
चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५÷२५ मिटर हुनेछ । बाक्लो बस्ती भएको स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइन अनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौँडादेखी खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्रर कास्कीको गगनगौँडादेखि पोखरासम्म सडकको चौडाइ४६ मिटरको हुनेछ ।
सडक चार लेनको बन्दा अहिले भएका पुलको ठाउँमा नयाँ बनाउनुपर्ने हुन्छ । आँबुखैरेनीदेखि पोखरासम्मको ८० किलोमिटर दूरीमा सडक ४ लेन भएसँगै ३१ नयाँ मोटरेबल पुल निर्माण गर्नुपर्नेमुग्लिन पोखरा सडक योजना पश्चिम ‐जामुने–पोखरा) खण्डका योजना प्रमुखअधिकारीले जानकारी दिए ।
३१मध्ये दमौलीस्थित मादी नदी र पोखरास्थिती सेती नदीमा पुल निर्माणको ठेक्का लगाउन बाँकी रहेको उनले बताए । अरु २९ पुल दुई प्याकेजमा लगाइएको ठेक्का अन्तर्गत नै निर्माण हुने उनले जनाए । २९ मध्ये पनि७ पुल ठूला हुनेछन् ।
सडक ४ लेन बनाउँदा दायाँबायाँका८ हजार रुख काटिनेछन् । तनहुँ खण्डमामात्रै ६ हजार ७ सय ५० रुख काटिनेछ । यो खण्डमा रुख काट्नलाई वन विभागले स्विकृति दिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले बताए । काफ्लेका अनुसार योजनाले रुख काटेर वन कार्यालयलाई बुझाउनुपर्ने हुन्छ । कास्की खण्डमा १ हजार २५० रुख कटानका लागि विभागबाट स्वीकृत लिने प्रक्रियामा रहेको जनाइएको छ ।८० किलोमिटरमध्ये हालसम्म
तनहुँको गुणादी क्षेत्रको ८ किलोमिटर दूरीमा सडक आसपासको बिजुलीको पोल सार्ने काम सकिएको छ ।
आँबुखैरेनी देखी मुग्लिनखण्डको ८किलोमिटर दूरीको भने डिजाइन हुँदैछ । यो खण्डमा हाल पृथ्वीराजमार्गको भएको स्थानमा मस्र्याङ्दी जलविद्युत गृह रहेको छ। जलविद्युत गृह र सडक फराकिलो बनाउन सकस हुने भएपछि सडकको रेखांकन नै परिवर्तन गर्नुपरेको छ ।
चालु आर्थिक वर्षमा संघीय सरकारले मुग्लिन पोखरा ४ लेन सडक योजनाका लागि चार अर्ब ४३ करोड ४३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । गत आर्थिक वर्षमा २ अर्ब ९ करोड ५४ लाख ४ हजार रुपैयाँ विनियोजन भएको थियो । चालु तर्फ विनियोजन भएको ४२ लाख ७ हजार रुपैयाँ मध्ये १८ लाख २६ हजार ६ सय ८५ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँले जानकारी दिएको छ ।
कार्यालयका अनुसार पुँजीगततर्फ दुई अर्ब नौ करोड ११ लाख ९७ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा ३६ करोड ७५ लाख ६९ हजार ८ सय ७३ रुपैयाँ मात्र खर्च गर्न सफल भएको छ ।





