मौरिस हर्जोकको प्रेरणादायी, यादगार अनि चुनौतीपूर्ण अन्नपूर्ण आरोहणको यात्रा संस्मरण ‘अन्नपूर्ण’ ले एउटै कुराको निचोड दिन्छ, मानव जीवनमा आरोहण गर्नुपर्ने कैयौं अन्नपूर्णहरु छन् ।
अन्नपूर्ण ! विश्वकै एक आकर्षित र मनमोहक हिमाल । यसैको सुन्दरताले हरेक वर्ष विश्वका कैयौं आरोहीहरुलाई प्रलोभित पार्छ । अनि उनीहरु चुचुरो चुम्ने अभिलाषा बोकेर नेपाल आउँछन्। तर, दुःखद कुरा, थोरैले मात्र चुचुरो टेक्छन् अनि जीवित फर्कन्छन् । धेरै त्यहीँ अस्ताउँछन् । त्यसै भनिदैन, ‘अन्नपूर्ण द डेडलियस्ट माउन्टेन’ ।
२०२० को तथ्यांक अनुसार हालसम्म१ सय ५७ जनाले मात्र सफलतापूर्वक अन्नपूर्ण आरोहण गरेका छन् । तर, ६० जनाले अन्नपूर्णमा नै अन्तिम सास फेरे । त्यसैले अन्नपूर्णको मृत्युदर ३८ प्रतिशत रहेको छ, जुन विश्वकै हिमाल आरोहणहरुमध्येको सबैभन्दा बढी हो । तसर्थ ट्याग लगाइदिएको छ अन्नपूर्णलाई, ‘किलर माउन्टेन’ ।
अन्नपूर्ण किन खतरनाक ?
जति सुन्दर अनि आकर्षक अन्नपूर्ण देखिन्छ, त्यति नै खतरनाक । यसको भौगोलिक विकटता, चुनौतीपूर्ण हिमालको भूभाग अनि नियमित रुपमा आउने हिमपहिरोहरु चुचुरोमा पुग्नका लागि बाधा बनेर आउँछन् । त्यसमध्येका मुख्य कारणहरु यस प्रकारका छन् ।
नियमित हिमपहिरो :
अन्नपूर्णको विशेषता भनेकै आइरहने अनगिन्ती हिमपहिरोहरु हुन् । नियमित हिमपहिरो जाने कैयौं भूभागहरुले गर्दा चुचुरोसम्म पुग्न आरोहीहरुले थप फलामको च्यूरा चपाउनुपर्छ । आरोहीहरु यति चनाखो र दूरदर्शी हुनुपर्छ कि खस्न सक्ने चट्टान, हिउँ र आइसका ढिक्काहरुको सम्भाव्यताको बारे राम्रो ज्ञान हुनुपर्छ ।
हिमालको भूभागको प्राविधिक कठिनाइसँगै हिमपहिरो आरोहणको बाधक बन्न सक्छन् । ठाउँठाउँमा जुनैबेला खस्न सक्ने आइसका ढिक्काहरु र झुन्डिरहेका हिउँका थुप्रो रहेका छन् ।खरपासहरु छन् । जो मृत्यु डाकिरहेका हुन्छन् ।हिमालको फेदैमा छन् ठूल्ठूला हिउँको थुप्रो । कम्मर कम्मरसम्म आउने हिउँलाई छिचोल्दै माथि उक्लनुपर्छ । कति यहीँ हार मानिसकेका हुन्छन् । ज्यान त्यागिसकेका हुन्छन् । हिउँपहिरोले आरोहीलाई मात्र हैन, उसको शिखर चुम्ने सपनालाईसमेत एकै झट्कामा फेदमा पु¥याइदिएको हुन्छ ।
छिनछिनमा बदलिने मौसमः
अन्नपूर्णको मौसम छिनछिनमै बदलिरहन्छ । वर्षभरि हिउँ परिरहने यस क्षेत्रको तापक्रम ज्यादै न्युन हुन्छ । झन् तीव्र गतिमा बहने हिउँ हुरीले आरोहीलाई थप चुनौती थपिदिन्छ । खराब मौसमले जुनसुकै बेला आरोहीलाई मृत्युको मुखमा पु¥याउन सक्छ । हुरीले कैयौं फिट तल लछारिदिन बेर लाग्दैन ।
चुनौतीपूर्ण भूभागः
अन्नपूर्णको सतह धेरै नै भिरालो र एकदमै चुनौतीपूर्ण छ । कति ठाउँमा त आधुनिक उपकरणहरु आइस याक्स र क््रयाम्पनसमेत फेल खान्छ । के टु हिमालको जस्तो अत्याधिक भिरालो सतह नभएपनि यहाँको पनि कम भने छैन ।
भिरालो चट्टानबाट चिप्लिएर ज्यान गुमाउनेहरु धेरै छन् । कति त खरपासमा खसेर घाइते हुन्छन् त अभागीहरु अन्नपूर्णकै काँखमा अन्तिम सास फेर्छन् । त्यसैले अस्थिर भुगोल र भिरालो सतह आरोहणको अर्को बाधक बनेर आउँछ ।
भौगोलिक विकटताः
अन्नपूर्ण आरोहणको अर्को चुनौती पक्ष भनेकै भौगोलिक विकटता हो । आकस्मिक समयमा उद्धारका लागि न हवाई न जमिनबाट नै सजिलै सम्भव देखिन्छ । ६० कि.मी. लामो अन्नपूर्ण हिमश्रृंखलामा दर्जनौ ७ हजार र ६ हजारभन्दा बढी उचाइका चुचुराहरु रहेका छन् । त्यसैले त उद्धार प्रक्रिया थप कठिनाइ बनेर आउँछ ।
आधार शिविर वा नजिकै न कतै सुविधासम्पन्न हेल्थपोस्ट छ न हस्पिटल नै । घाइते वा बिरामी आरोहीलाई फेदसम्म ल्याउन सकिए पनि उपचारको पाटो अर्को चुनौती बन्न सक्छ ।
अपर्याप्त स्थानीय सहयोगः
एभरेष्ट र लोत्सेमा झैं यहाँ स्थानीयहरुको साथ र सहयोग पाउन मुस्किलै रहन्छ । न पर्याप्त सहयोगीहरु भेटिन्छन् न शेर्पाहरु नै बाटामा । यता स्थानीय गाइड र पोर्टरहरुमा पनि आरोहणबारे पर्याप्त जानकारी नै भेटिदैन ।
यता आधार शिविरबाटनजिकैको मानव बस्ती पुग्न पनि एक दिन कस्सिएर हिँड्नु पर्छ । कति टि हाउसहरु त आधार शिविरबाट पनि चार घण्टा टाढा रहेका छन् । त्यसैले फेदसम्म जेनतेन पुगेपनि बाच्ने चान्स न्यून नै रहन्छ ।
हाइट गेन र टर्न एराउन्ड टाइमः
हाइट गेन । अर्थात आधार शिविरदेखि चुचुरोसम्मको उचाइ । एभरेष्ट र खतरनाक हिमाल नांगा पर्वतभन्दा पनि अन्नपूर्णको आधार शिविरदेखि चुचुरोसम्मको उचाइको भिन्नता धेरै छ । त्यसैले आधार शिविरदेखि चुचुरोमा पुग्न र फर्कन त्यति नै बढी समय लाग्छ । जति धेरै आरोहणको समय, त्यति नै धेरै चुनौतीहरु पनि ।
अन्नपूर्ण आधार शिविरको उचाइ ४१३० मिटर छ भने चुचुरोको उचाइ ८०९१ मिटर । त्यसैले ३९६१ मिटर आधार शिविरबाट माथि उक्लिनुपर्छ । अनि त्यति नै ओर्लिनुपर्छ । यसको अर्थ ३९६१ मिटरको यात्राभर जोखिन मोल्नैपर्छ । जुनसुकै बेला जे पनि हुन सक्छ परिस्थिति । हरेक मिटरको उचाइले धेरै नै अर्थ राख्छ हिमालमा । त्यसैले धेरै आरोहीहरु असफल हुन्छन् मिसनमा ।
अन्नपूर्ण आरोहणको विगतको मृत्युदरः
अन्नपूर्ण हिमश्रृंखलामा जम्माजम्मी ११ वटा चुचुराहरु छन्,जसमध्ये ७ हजार २ सय भन्दा बढी उचाइका ६ चुचुराहरु छन् । अन्नपूर्ण प्रथम मात्र ८ हजारभन्दा बढी उचाइमा रहेको छ । त्यसैले अन्नपूर्णको आरोहण भन्नेबित्तिकै सबैले अड्कल गर्ने अन्नपूर्ण प्रथम नै हुन्छ ।
यो आफैंमा अचम्मको विषय हो, विश्वकै ८ हजारभन्दा बढी उचाइ रहेका हिमालहरुमध्ये सबैभन्दा पहिलो आरोहण पनि अन्नपूर्ण प्रथम नै हो । तर, आजको दिनसम्म अरु हिमाल आरोहणका क्रममा यहाँको जति मृत्यु भएका छैनन् । त्यसैले त विश्वका नामी र अनुभवी आरोहीमात्र चुचुरो चुम्न सक्छन् । अनि सपना साकार पार्छन् ।
जुन ३, १९५० को त्यो दिन । ‘फ्रेन्च अल्पाइन क्लब’ को टोलीमा थिए मौरिस हर्जोक र लुइस ल्याचनल । उनीहरु नै थिए, ८ हजारभन्दा उचाइमा रहेको शिखरमा पाइला टेक्ने पहिलो मानव । त्यति सजिलै सफलता हात पारेका भने थिएनन्, उनीहरुले । कैयौंपटक मृत्युको मुखमा पुगिसकेका थिए । उनीहरुले शीतदंशले हात र खुट्टाका औंलाहरु गुमाएका थिए तर हरेस गुमाएका थिएनन् । त्यसैले हर्जोकको प्रेरणादायी, यादगार अनि चुनौतीपूर्ण अन्नपूर्ण आरोहणको यात्रा संस्मरण ‘अन्नपूर्ण’ पढ्दा अन्तिममा एउटै कुराको निचोड दिन्छ, मानव जीवनमा आरोहण गर्नु पर्ने कैयौं अन्नपूर्णहरु छन् ।
विश्वका नामी आरोहीहरुमध्ये धेरैले अन्नपूर्णको काखमा अन्तिम सास फेरे । ल्यान क्लौफ, एनटोली बौकरेफ, क्रिस्टियन कुन्टनर र इनाकी ओकाया केही विश्वमा कहलिएका आरोहीहरु थिए, जो अन्नपूर्णमै बिलाए । केहीका लासहरु ल्याउन सम्भव भए पनि धेरै हिमालप्रेमीहरु सदासदाका लागि हिमालमै रहिरहे ।
अन्त्यमा,
अन्नपुर्ण, यसको चमत्कारिक सुन्दरता र चञ्चन्चताले जो कोही लालयित हुन्छन् । मोहित हुन्छन् । नजिकैबाट स्पर्श गर्ने सपना बुन्छन् अनि उक्लन्छन् माथि माथि चुचुरो चुम्ने अभिलाषाले । तर कति सफल हुन्छन, कति असफल । हुन त भन्छन् नि, ८ हजारभन्दा बढी उचाइमा रहेका हिमालहरुको आरोहणमा जाँदा मर्ने र बाँच्ने सम्भावना दुबै आधा आधा हुन्छन् । त्यसैले त दरो मुटु भएकाहरु मात्र उक्लन्छन् चुचुरोतिर ।





