मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

दशैंमा सधैं अपेक्षा तर उस्तै उपेक्षा

दशैंमा सधैं अपेक्षा तर उस्तै उपेक्षा


  • केदार धमला
  • असोज २६ २०७८, मंगलबार

आज फूलपातीको दिन हो । सप्तमी तिथिको अवसरमा हिन्दु धर्मावलम्बीले आ–आफ्नो धर्म परंम्परा अनुरुप फूलपाती घरघरमा भित्र्याउँदै पर्व मनाउँछन् । नेपालीको महान चाड दशैं मानिन्छ । देशमात्र नभएर विदेशमा रहेका पनि घर फर्कने उचित बेला हो,दशैं । दशैंसँगै आउने तिहारको पनि रौनकले मानिसलाई भेटघाटको, आर्शिवादको, पारिवारिक जमघटको, लेनदेनको, विकासलगायत कयौं विषय मिलाउने पर्व पनि हो दशैं । विशेष गरी केटाकेटीलाई सवैभन्दा मन पर्ने पर्व नै दशैं हो । उनीहरुलाई नयाँ नाना लगाउने, मिठो खाने, पिङ खेल्ने, टीका लगाउने अनि पाएको दक्षिणाले मने परेको काम गर्ने अवसर पनि हो ।

वर्ष दिनमै घुमिफिरी आएको चाडलाई मानव सभ्यताको रुप पनि मानिन्छ । घर आँगन लिपिएको, सधैं हिडने बाटो मर्मत गरिएको, आगामी दिन मंगलमय होस भन्ने कामना गरिएकोलगायत कारणले दशैं वास्तवमा राम्रो अवसरको रुपमा नेपाली समाजले लिँदै आएका छन् । शुभकामना आदान प्रदानले हामीलाई दिने उर्जा वास्तविक जीवनको उर्जा हो । तर, हार्न नजानेको नेपाली पनले दशैं दशासमेत बन्ने गरेको छ । समग्रमा सुखद भएपनि केही विषयमा दुःखद पनि भन्न सकिन्छ ।

नेपालीहरुका चाडपर्व संस्कृति र राष्ट्रिय पहिचानको माध्यम बन्दै आएको छ । संस्कृति र परम्परासँग जोडिएको चाड पर्व सबैका पर्वको रुपमा अघोषित तवरबाट आ–आफ्नै विशेषता र व्याख्याका आधारमा संस्कृतिको पहिचान बन्दै गएको छ ।

कृषि पेशामा अलिक फुर्सद मिलेपछि दशैंको अवसरमा आफन्तजनसँग सामूहिक भेटघाट र खानपिनसँगै रमाइलो गर्ने अवसरमा विकसित भएको पर्वबाट नेपालीले सधैँ भन्ने गरेको अर्को दसैंसम्म पुग्दा यस्तो नहोस । आउन जान कठीन भयो, चोरीले सतायो । सामान छुटयो । पछि पाइएन । महंगी बढयो । सोचेजस्तो हुन सकेन आदिआदि ।

बहुआयामिक प्रभाव बोकेको नेपालीपन र शैली, राज्यको अपरिवर्तनशील योजना, अपरिपक्व विकास, आलाकाँचो शैली, भष्ट्राचारमा लिप्त योजना, संगठित अपराधलगायतका विषयले अनेकन समस्या पैदा भएको छ । धर्म र आस्थाले जोडिएको पर्व समाज विकासको नामसँगै व्यापारिक र उपभोगको संस्कृति हावी हुँदै गएको अनुमान गर्न सकिन्छ । आजको दशैं पर्वलाई हिजोको जस्तै वास्तविक र आर्शिवाद थाप्ने अवसरको रुपमा ग्रहणयोग्य बनाउनु पर्छ । यस्ता पर्वहरुमा सुरुमा सकारात्मक बने पनि अन्त्यसम्म पुग्दा नकारात्मक दृश्य देखिन थालेको छ । यसतर्फ सवैले ध्यान दिन जरुरी छ ।

तामझाम र आडम्बरले सामाजिक मर्यादा विपरीत कार्यहरु भएका छन । धनीहरुको लागि दशैं भएपनि गरीब र निमुखाहरुकालागि अभिसाप बनेको छ यस्ता पर्वहरु । कतिले नआओस् भन्दाभन्दै आयो, कसरी टार्ने होला भन्ने भावनाले छटपटी भएको पनि देखिन्छ समाजमा । छोरोछोरीको खाली पेट, च्यातिएको कपडा देख्दा दूरदरामा रम्नेहरुलाई चाडवाडको कुनै रङ्ग छैन, रस छैन । पैसा नहुने बाआमाले सम्झाउनसमेत सक्दैनन ।

नेपाली समाजमा रहेको निम्नमध्यम वर्गलाई यस्ता चाड पर्व मनाउन धौधौ परेको हुन्छ भने मध्यम वर्गलाई ध्वाँस लगाउन पनि जोहो गरेरै भएपनि आडम्बरी देखाउनेतर्फ लम्केको अवस्था छ । धनी वर्गलाई खर्च गर्ने ठाउँको अभाव छ । नेपालीको औषत आर्थिकलाई सामाजिक दृश्यमा नियाल्दा राजनीतिक दृश्यले सवै प्रभाप पारेको देखिन्छ । धमिलो र फोहोरी राजनीतिले नेपालीको बानी नै बिगारेको छ । सुध्रिन्छ अब सुध्रिन्छ भन्दाभन्दै वर्षमात्र खेर गएको अवस्था छ ।

असीमित मानिसको खुसीलाई राज्यले एकाकार बनाएर संस्कृतिको जगेर्ना गर्दै जानुपर्छ । गाउँ नै गाउँले भरिएको हाम्रो मुलुकलाई विकासको माध्यमबाट नै सबैभन्दा खुसी दिन सकिन्छ । समाज, व्यक्ति वा समूहलाई उन्नत वा सुसंस्कृत संस्कारतिर लाग्न प्रेरित गर्दैै लैजाने हो तर नेपाली समाज यस्तो अवस्थाबाट टाढा हुँदै गएको भान हुन्छ । वर्तमान अवस्थामा सकारात्मक भन्दा नकारात्मक उद्देश्यमाथि बहस भएको अवस्था छ ।

राजनीति र नेताहरुले जुटाउन नसकेको नेपाली मन र पनलाई चिन्तन गर्नु पर्ने समय आएको छ । हाम्रो संविधानले नै दिएको बहु धर्म, बहु संस्कृति र अवसरलाई सहि सदुपयोगको खाँचो छ । दशैं जस्तो पर्वले मानिसलाई सम्मान, आत्मबल बढाउनेतर्फ स्थानीय सरकार, विभिन्न समूह तथा सरोकार राख्नेले ध्यान दिन जरुरी छ ।

दशैंको सन्देश नै विकास र समतामूलक राज्यको पूर्ण विकासमा ध्यान दिन सकोस् भन्ने मान्यता हो । आपसी मेलमिलाप, माता पिता, आफन्तजन र प्रियजनको माया र ममता, शुभकामना, आर्शिवाद आदि ग्रहण गर्ने पर्वको अवसरमा ग्रहण गर्नु आजको दायित्व हो । हुनेखाने र हुँदाखानेबीचको खाडल पुर्नु पनि दशैंको उपहार हो । जुन राज्यले पुरा गर्नु पर्छ । वर्षको एक पटक आउने दसैंमामात्र सवै अपेक्षा पुरा हुँदैनन । पूरा नभएको अपेक्षालाई पूरा गराउन आजकै दिनदेखि लाग्नु पर्छ ।

गत वर्ष हिलाम्मे हुँदै आएको सडकको स्थिति आजपनि उस्तै हुनु नेपाल र नेपालीको दुःखद पक्ष हो । स्थानीय निकायले समानुपातिक बजेट वितरण र स्पस्ट खाका नभएको विकासे योजनाले गति लिँदा दिनानुदिन समस्या थपिएको छ । गर्नु पर्ने काम नगर्ने, नगर्नु पर्ने काम गर्ने परिपाटीले यस्तो भएको हो । दशैं पर्वको अवसरमा एक स्थानीय तहले कमसेकम यो–यो काम गरोस, नागरिको चाहना अनुरुपको काम सम्पन्न होस, सहरबाट गाउँजानेहरुले पनि उचित सल्लाह दिँदै समाज परिवर्तन र विकासको सम्वाहक बनोस् सबैमा सकारात्मक शुभकामना सन्देश दिन सकियोस् । नागरिकका अपेक्षामाथि कतैबाट पनि उपेक्षा नहोस, यो नै दशैंको आगमन र विकास हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->