बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बन्दीपुर पर्यटकले भरिभराउ

बन्दीपुर पर्यटकले भरिभराउ


  • बिनोद ढुंगाना
  • कार्तिक ५ २०७८, शुक्रबार

तनहुँ/पर्यटकीय नगरी बन्दीपुर दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि थला प¥यो । पाहुनाको स्वागतमा आतुर यहाँका होटल व्यवासीय कोरोना संक्रमणदर उच्च विन्दुमा पुगेपछि ढोकामा ताल्चा मारेर बस्न बाध्य भए । असारपछि निषेधाज्ञा केही खुकुलो भयो । त्यसपछि बन्दीपुरको पर्यटन पनि खुल्यो । कोरोनाको संक्रमण कायमै रहेकाले पहाडकी रानी बन्दीपुरमा अपेक्षित पर्यटक उक्लिएनन् ।

पछिल्लो समय कोरोना संक्रमणदर घटेको छ । नेपालीको महान पर्व दशैँ बेला छ । दशैँमा कार्यालय, विद्यालय, बैंक तथा वित्तीय संस्था, उद्योगधन्दा बन्द भएको मौका पारेर कोरोना कहरमा घरभित्रै थुनिएर बसेका धेरैजसो परिवार घुम्न निस्किएका छन् । त्यसैको प्रभावले बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ ।

दशैँको फुलपातीदेखि पर्यटकको संख्या बढेको क्षेत्रीय होटल संघ बन्दीपुर इकाइका अध्यक्ष विपिन प्रधानले बताए । बन्दीपुर आउनेमा बढी आन्तरिक पर्यटक रहेको उनले बताए । ‘आन्तरिक पर्यटकको चाप बढी छ । विदेशी पर्यटक पनि देखिन थालेका छन् । विदेशी पर्यटकमा भारतीय बढी छन्’, उनले भने । प्रधानका अनुसार विदेशी पर्यटकले पनि छिटफुट बन्दीपुरका होटल अग्रिम बुकिङ गर्न थालेका छन् ।
पहिलो चरणमा कोरोनाको जोखिम बढेपछि चैत २०७६ देखि बन्दीपुरको पर्यटन सुस्ताएको थियो । २०७७ सालको दशैँपछि बन्दीपुरको पर्यटन चलायमान हुँदैगर्दा दोस्रो लहरको कोरोना फैलिएर गत बैशाखदेखी फेरी बन्द गर्नुप¥यो । बिस्तारै तंग्रिदै गरेको बन्दीपुरमा दशैँको बेला बढेको पर्यटकको चहलपहल पर्यटनमा आशा जगाएको प्रधानले बताए । उनले अगाडी थप्दै भने,‘अब बन्दीपुरको पर्यटनले गति लिन्छ की भन्ने आशा जगाएको छ । हामीले पनि पर्यटकलाई कसरी आकर्षित गर्न सकिन्छ भनेर छलफल गरिरहेका छौँ ।’

दशैँको बेला बन्दीपुरमा देखिएको पर्यटकको चहलपहलले होटल व्यवसायीलाई उत्साहित बनाएको बन्दीपुरमा होटल डि बन्दीपुर र हिमालय एसेस होटल सञ्चालन गर्दै आएका वसन्तराज पौडेलले बताए । उनी भन्छन्, ‘यही तरिकाले चहलपहल कायम रहीरहे बन्दीपुरे पर्यटन व्यवसायीलाई राहत मिल्छ । क्षणिक भयो भने फेरी चिन्ता थपिन्छ ।’ कोरोनाको प्रभावले बन्दीपुरको पर्यटन थला पर्दा व्यवसायीलाई बैंकको ऋण र घरभाडा तिर्न धौँ भएको उनको भनाइ छ । बैंकको ऋण र घर भाडा तिर्न नसक्दा कतिपय होटल व्यवसायी पलायन भएको पौडेलले जानकारी दिए । अहिले देखिएको पर्यटकको चापले बैंकको ऋण र घरभाडा तिर्न केही सहज हुने उनले उल्लेख गरे । पर्यटक बढीरहेको समय
बन्दीपुर कोरोनाबाट सुरक्षित भएको प्रचासप्रसार गरेर घुम्न आउनलाई निम्तो बाँड्न आवश्यक रहेको उनले बताए ।

बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानका अनुसार पर्यटकलाई बन्दीपुर घुम्न आउँदा छुटको प्याकेज दिने योजना बनाइएको छ ।‘बन्दीपुरलाई कोरोना फ्रि घोषणा गर्दैै छुटको प्याकेज ल्याउने योजना छ । जसले गर्दा अझै पर्यटक बढ्ने अनुमान छ’, प्रधानले भने । बन्दीपुरमा साना ठुला गरेर ७० बढी होटल रेष्टुरेन्ट छन् । बन्दीपुर बजार आसपासमा झण्डै आधा दर्जन होमस्टे सञ्चालन गरिएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->