बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

धानलाई क्षति, तारोमा हिउँदे बाली !

धानलाई क्षति, तारोमा हिउँदे बाली !


  • खगेन्द्र पराजुली
  • कार्तिक ६ २०७८, शनिबार

‘सबैले एकैनासको र एकै समयमा पाक्ने धान लगाएका थियौं । एकैसाथ काटियो । सोत्तर हुने गरी डुबायो । सबै धान बिगा¥यो ।’

नवलपुर/ कात्तिकमा बेमौसमी वर्षा नभइदिएको भए नवलपुरका अधिकांश कृषकले यतिबेला भकारीमा धान थन्क्याइसकेका हुन्थे । धान थन्क्याउँदै तोरी, मसुरो, आलस, केराउलगायतका नगदे तथा तेलहन, दालबालीका लागि खनजोत गरेर जमिन तयार गर्दथे ।

तर, अहिले किसानहरु बेमौसमी झरीले सखाप पारेको धानखेत हेरेरै मुर्छित छन् । खेतमै भिजेको–डुबेको, बालामै उम्रिएको धानको पानी तर्काउने, सुकाउने, पाँजा फर्काउने कार्यमा व्यस्त छन् । खेतमै नष्ट भएको धान हेरेरै रनाहामा परेका किसान वर्षाले हिउँदे बालीलाईसमेत प्रभावित पार्ने चिन्तामा पनि छन् ।

कावासोती नगरपालिका १५ का देवनारायण महतो यतिबेला दिनभर खेतमा छन् । अघिल्ला वर्षहरुमा वर्षभरिलाई खान र बढी भएको धान बेचेर घरखर्च जोड्ने गरेका महतोले यसपटक एकदाना धान भित्राउन नमिल्ने भएपछि चिन्तित छन् । उनीमात्रै हैन, उनको वडाको करिब ५० बिगाहा क्षेत्रफलमा काटिएको धान कामै नलाग्ने गरी बिग्रिएपछि सबैको अवस्था यस्तै रहेको बताए ।
‘यो वडा बढी नै पानी जम्ने जमिन बनोटको हो । आकासे पानी छिट्टै खेत र गह्रामा जमिहाल्छ,’ महतो भन्छन्, ‘सबैले एकैनासको र एकै समयमा पाक्ने धान लगाएका थियौं । एकैसाथ काटियो । सोत्तर हुने गरी डुबायो । सबै धान बिगा¥यो ।’

त्यतिमात्रै होइन, अब लगाउने बेला भएको हिउँदे खेती कहिले लगाउन पाइन्छ भन्नेमा पनि किसान चिन्तित छन् । धान काटेलगत्तै खेत जोताएर तोरी, मुसुरो, आलु, आलसलगायत हिउँदे खेती गर्ने यहाँका किसान खेतमा जमेको पानी अझै नसुक्दा थप चिन्तामा परेका हुन् ।

बिस्तारै चिसो बढ्ने हुँदा पानी सुकेर जमिन ओभाउन २ हप्ता जति लाग्ने हुँदा पनि उनीहरुको चिन्ता थपिएको हो । २ हप्तापछि हिउँदै बाली लगाउँदा त्यसले राम्रो उत्पादन नदिने उनीहरुको भनाइ छ ।
किसानहरुका अनुसार बीउ उम्रन उपयुक्त तापक्रमको आद्रता आवश्यक पर्छ । खेत जमिन ओभानो छैन । हिउँदे खेतीलाई धुलौटे माटो चाहिन्छ । उपयुक्त माटो बनाउन अझै ३ हप्तादेखि एक महिनासम्म पनि लाग्न सक्छ । तराईमा त्यतिबेलासम्ममा फूल खेल्न सुरु गरिसक्नुपर्ने तोरीबाली बल्ल लगाउँदा हिउँदे बालीको उत्पादनमा समेत असर पर्ने उनीहरुको भनाइ छ ।

वर्षातका कारण धानवालीमा परेको असरले पशुपालनमा समेत असर पर्ने देखिएको पशुपालक कृषकको भनाइ छ । गाईभंैसीको प्रमुख आहाराका रुपमा प्रयोग हुने परालसमेत काम नलाग्ने गरी कुहिँदा यसको प्रत्यक्ष असर पशुपालनमा पर्ने देवचुली १४ को इन्टिग्रेटेड पशुपालन प्रालिका सञ्चालक नवराज बसेलले बताए ।

बेमौसमी वर्षाको असर माहुरीमा पनि देखिने भएको छ । देवचुली १५ का मौरीपालक शोभाकान्त रेग्मीका अनुसार माहुरीबाट मुख्य उत्पादन लिने तोरी फुल्दा नै हो तर तोरी लगाउन ढिलो हुँदा र मध्य–जाडोको महिना पुसमा तोरी फुल्दा अपेक्षित मह उत्पादन हुँदैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->