बागलुङ/हावापानीको हिसाबले बागलुङ चिसो स्थानमा पर्छ । त्यसमा पनि बागलुङको काठेखोला झनै चिसो र कतिपय स्थानमा हिउँ पर्ने अबस्थाको पनि छ ।
घोडाबाँधेमा त धेरै पटक हिउँ पर्ने गरेको छ । घोडाबाँधेको तल्लो स्थान लेखानीमा गरिएको एक परीक्षणमा एक युवामा मलेरियाको पोजेटिभ भेटिएको छ । ती युवाको आरडिटी पोजेटिभ देखिएपछि तत्काल अन्य परीक्षण समेत भयो । दुइ दिन सम्म मामान्य ज्वरो आएका ती युवा अहिले सञ्चो भैसकेकोले उनमा मलेरिया भने नभएको हुन सक्ने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए ।
तर शंकास्पद भएकोले ती युवाको सम्पर्कमा आएकाहरुको खोजी गरेर स्वास्थ्य परीक्षण भने गरिने भएको छ । ती युवा सामान्य मजदुरी गरेर बिताएका हुन् । ‘दुइ दिन सम्म ज्वरो आएछ, परीक्षण गर्न आउनु भएको थियो, आरडिटी गर्दा पोजेटिभ देखियो’ स्वास्थ्य चौकी प्रमुख लक्ष्मी प्रसाद निउरेले भने, ‘त्यसपछि हामीले उहाँको थप परीक्षण गर्दा नेगेटिभ देखिएको छ ।’ तर एकपटक पोजेटिभ देखिएकोले त्यसको नमूना जिल्ला तहमा पठाएको र इपिडिमियोलोजी तथा सरुवा रोग महाशाखामा पनि जानकारी गराएको उनले बताए । दुइ तीन दिन भित्रै महाशाखाबाट पनि चिकित्सकको टोली आएर अध्ययन गर्ने उनले जानकारी दिए ।
स्वास्थ्य कार्यालय बागलुङकी जनस्वास्थ्य निरिक्षक लक्ष्मीदेवी शर्माले उक्त बिषय गम्भिर भएकोले सबैको चासो भएको बताइन् । ‘आरडिटी मात्रै भएकोले समस्या नहुन पनि सक्छ, तर उनको सम्पर्कमा आएकाहरु सबैको रगत परीक्षणको तयारी छ’ उनले भनिन्, ‘त्यसपछि उक्त क्षेत्रलाई सुरक्षित स्थानको रुपमा राख्छौं, अहिले परीक्षण भने गर्ने योजना छ ।’ ती युवाको सम्पर्कमा आएका मानिसलाई सुरक्षित बस्न लगाएको उनले बताइन् । नेपाल सरकारले सन् २०२५ र गण्डकी प्रदेश सरकारले सन् २०२२ सम्ममा औलो रोग निवारण कार्यक्रम राखेको छ । त्यसकालागि कार्यालयले नियमित परीक्षण अभियान समेत चलाएको हो । सबै स्वास्थ्य चौकी मार्फत परीक्षण अभियान चलिरहेकै बेला ज्वरो आएकोले उपचारमा आएका ती बिरामीमा आरडिटी पोजेटिभ देखिएको थियो ।
लामखुट्टेबाट सर्ने भएकोले यो जुनसुकै स्थानमा हुन सक्ने आशंका भने स्वास्थ्यकर्मीले बताएका छन् । बिशेषगरी भारत आउजाउ गर्ने वा अत्याधिक गर्मी हुने तराइ क्षेत्रमा बस्ने र आउजाउ गर्नेमा यो रोग देखिन सक्ने स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले बताए । ‘रक्त परीक्षणमा नेगेटिभ आइसकेकोले हल्लाखल्ला गर्नु पर्ने बिषय होइन, तर सम्पर्कमा आएका सबैको स्वास्थ्य परीक्षण भने गरौं भनेका हौ’ गुरौले भने, ‘यो हावापानीमा औलोको समस्या देखिंदैन ।’ भारत गएर आएका तथा तराइमा आउजाउ हुनेलाई भने मलेरिया हुने संभावना रहने गुरौले जानवकारी दिए । पछिल्लो समय हावापानीमा आएको परिवर्तन र जतासुकै गर्मी बढेकोले मलेरिया लगायतका रोग सार्ने लामखुट्टे भेटिने समेत उनले बताए ।





