मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

सुनेको र देखेको ढोरपाटन

सुनेको र देखेको ढोरपाटन


  • दिवस गुरुङ
  • कार्तिक ८ २०७८, सोमबार

ढोरको फाँटमा घोडाहरुमा मात्र दौडिन्छन् होला मैले सोचेथें तर म गलत रहेछु । त्यहाँ त सँगै दौडिँदा रहेछन् मानिसका अनगिन्ती सुखदुःखका दैनिकीहरु । फाँटमा सुन्दर फूलहरु मात्र फुल्दा रहेनछन्, सँगै फुल्दा रहेछन् ढोरबासीका कैयौं दुःखैदुःखका गुच्छाहरु ।

देउराली रेञ्जपोष्ट । अर्थात् ढोरपाटनको प्रवेशद्धार । क्षितिजमा घाम ओझेल पर्दै थियो । यता म भने भर्खर झुल्किएको थिएँ–ढोरको काखमा । वरिपरि चारैतिर पहरा दिइरहेका बडेमानका अग्ला डाँडाहरु । अनि बीचमा भने लमतन्न फिँजरिएको सुन्दर ढोरको फाँट । अनि फाँटमा मस्त सन्ध्याकालीन इन्जोय गरिरहेका एक हुल घोडाहरु । देउरालीबाट एक तमासले सुन्दर फाँट हेरिरहें । हराइरहें सुन्दरतामा । अनि कौतुहलता जाग्यो, साँच्चै त्यो अग्लो डाँडा पछाडि के छ होला हगि ?हिमालहरु ? सुन्दर फाँटहरु ? वा केही ?

दसैंको आगमन व्यापक थियो चारैतिर । शहर छाडेर दसैं मनाउन घर फर्कनेहरुको लर्को थियो । रित्तिएको शहर अनि ठेलमठेलम अटसमटस शहर छाडेका गाडीहरुको भीडभाडले लाग्थ्यो, दसैं नजिकिसकेछ । साथीले फोनमा सोधेको थियो, ‘घर कहिले जाने त ?’ घुमिहिँड्ने मजस्तो फकिरलाई सिंगो देश नै घर, भेटिने सबै आफ्नाहरु । हामी कति सङ्कीण सोच्छौं है, जन्मेको मात्र घर । अरु त सबै अर्काको÷पराइको । हावामा कावा खाँदै उडिहिँड्ने चरालाई के देश, बगिरहने खोलालाई के सिमाना । यो जात, धर्म, देश र शासन त आखिर मानव भनौंदाले बनाएका क्षणिक वस्तुहरु न हुन् । आखिर सारा देश नै घर हैन र ? अझ यो सिंगो संसार वा ब्रह्माण्ड नै सिंगो घर हो । मात्र हाम्रो बुझाइ र सोचाइको परिधिमा न फरक पार्छ । देशै घर भनेर साथीलाई प्रतिउत्तर दिनुको अर्थ थियो, यसपालि दसैं मनाउन म कतै न कतै पुग्नेवाला थिएँ । कैयौं योजनाहरु नबुनेको हैन अनि अन्तिममा बन्यो, राइड टु ढोरपाटन ।

ढोरपाटन । त्यो पनि साइकलमा । एक्लै । त्यो पनि पहिलोपल्ट । मनमा कौतुहलता र उत्सुकताहरुका डेरा नै जमेका थिए । साइकल चेकजाँच गरें । साइकल पछाडि प्यानियर ब्याग थपें । अनि त्यसका कसें ढोरसम्म पुग्दा चाहिने ब्याकप्याकहरु । न्याना कपडा, औषधि,साइकल मर्मत टुलहरु अनि थिए बाटामा चाहिने बाटाखर्च ।

कतै भतभत पोल्ने गर्मी । कतै आँतै काप्ने चिसो बतास । यता ढोरमाकार्तिके वर्षाको रुझाइ । जीवनमा कुँदी हिँड्ने बाटाहरु जस्ता हुन्छन्, त्यस्तै थिए ढोरसम्मको बाटाहरु, उतारचढाव र उथलपुथल । कतै चढी नसक्नु उकालो, त कतै ब्रेकले नथेग्ने ओरालो अनि कतैकतै सलल खोलाझैं बग्ने तेर्पायँ बाटाहरु । केवल यो यात्रा मात्र थिएन, मलाई ढोरयात्राले जीवनको फरक परिभाषा सिकाइदिएको थियो । आफ्नै जीवन पढिरहेको थिएँ म त यात्राभर ।
वर्खाले बिथोलेको बाग्लुङ राजमार्गको बाटो । दसैंका लागि कुद्ने गाडीहरुको उस्तै भीडभाड । यात्रा अझ चुनौतिपूर्ण बन्नेवाला थियो । राजमार्गको यात्रा सुरक्षित तवरले गर्नु अत्यन्त आवश्यक थियो । बिस्तारै आफ्नै लेनमा कँुद्दा पनि ठुला सवारी साधनहरुले पेलेरै जान्थे । ठूलाले सानालाई पेल्नु र हेप्नु त देशको शासनदेखि तल्लो जनजीवनमा पनि व्याप्त तीतो यर्थाथ न हो । यसमा मैले गुनासो पोख्ने ठाउँ नै कहाँ थियो र ?‘आफ्नो ज्यान आफैं बचाइ केटो’ भन्दै अघि बढ्नुबाहेकको अरु विकल्पै थिएन ।

मलाई गन्तव्य जति प्रिय थियो, त्यति नै प्रिय थियो पोखरादेखि ढोर यात्रा । मलाई हतास कत्ति पनि थिएन, जति दिन लागेर पुगे पनि हुन्थ्यो । मलाई त हरेक पलको चुस्की लिँदै ढोर पुग्नु थियो । मन लागेमा म दुई घण्टा साइकल कुदाएरै बास मागेर बाटैमा रात काटिदिन्थेँ ।भेटेका मान्छेहरुसँग गफिन्थे, उनीहरुका कुरा सुन्थँे अनि बुझ्थेँ–उनीहरुले बाँचेका समयहरु । मलाई हरेक पल बाँच्नु थियो । हरेक पल इन्जोय गर्नु थियो ।

ढोर म गाडीमा पनि पुग्न सक्थँे वा बाइकमै । पैसा हुनेहरु त हेलीमै सरर घुमेर फर्कन्छन् एकदिनमै । तर, मलाई ढोरमात्र हैन, पोखरादेखि ढोरसम्म भेटिने मान्छेहरु, विषयवस्तुहरु बुझ्नु थियो । उनीहरुको कथामा भिझ्नुु थियो । त्यसको विकल्पहरु थिए कि पैदलयात्रा कि साइकलयात्रा । मैले पछिल्लो रोझें । छ दिनमा ढोरको फाँटमा पुग्दा लाग्यो, मैले धेरै प्रोडक्टिभ समय यात्रामा बिताएको रहेछु ।

ढोर पुग्नुअघि मलाई लागेको थियो, ढोरमात्र फाँट हो । घोडाहरु फाँटमा चर्छन्, त्यति मात्र रहेनछन् घोडासँगै फाँटमा कैयौं कथाहरु भेटिँदा रहेछन् । फूलेका फूलहरुसँगै कैयौं दुःख–सुखका कथाहरु सँगै फूल्दा रहेछन् । जति ढोर बुझ्दै गएँ, उति बृहत लाग्दै गयो । उति कौतुहलता र उत्सुकताको डेरा जम्यो हृदयमा । मैले पढेको, सुनेको र आफ्नै आँखाले देखेको ढोरको भिन्नता त आकाश र जमिनको ।

ढोरबासीहरुको जीवनशैली र रहनसहन झन् कति भिन्न आममानिसका भन्दा । उनीहरु चार महिनामाथि बुकी लेकमा बस्छन् । ढोर त मात्र दुई महिना । अनि कात्तिक लाग्दा–नलाग्दै उनीहरु औलो अर्थात् बोबाङ झर्दा रहेछन् । बाटामा औलो झर्दै रहेका मानिसहरु अनि गाईवस्तुको लाम देख्दा त पूरै गाउँनै उठेर अन्त बसाइँसराइ गर्न लागेको भान भएको थियो । म साइकल बिसाएर उनीहरुसँग बात मार्थँे । अनि गफिन्थेँ । उनीहरु आफ्नो ढोर मज्जाले घुमोस् भनेर पोल्टाभरि माया र शुभकामना दिन्थे ।

हरेक याममा ढोरको फरक रुपहरु देखिन्छन् । बर्खा याममा फाँटैभरि फूलेका अनेक रङका फूलले जीवनका रङहरुलाई अंकित गराउँछ । त्यो सुन्दर दृश्यमा कसको मन फुल्दैन र ? त्यहाँबाट देखिने खुलेको धौलागिरी झैं कसको हृदय खुल्दैन र ? यता जाडोयाममा फाँटैभरि सेता चाँदीका दानाजस्ता हिउँ नै हिउँको साम्राज्य । मानिसहरु त्यहीँ हिउँ खेल्न भनेर ढोर उक्लन्छन् । जाडो याम सकेपछि बोबाङबाट माथि ढोर फर्कनेहरुको लाम । अनि त्यहीँ भेटिन्छन् कैयौं सुखदुःखका कथाहरु । अनि बर्खामा माथि फाल्गुने खर्क र बुकी गोठ जानेहरुका जीवन कथाहरु । कति बृहत छ यहाँको जनजीवन । त्यसैले हर फरक याममा फरकपन भेटिन्छ ढोरमा ।

तिब्बती बस्तीहरुको कथा । जब करिब साठी वर्षअघि तिब्बतमा युद्ध भड्कियो तब त्यहाँका जनताहरु आफ्नो ज्यानको सुरक्षाका लागि त्यहाँबाट भागे । कति नेपाल आइपुगेका थिए । कति डोल्पो हुँदै त कति मनाङ हुँदै हजारौं संख्यामा तिब्बती शरणार्थीहरु नेपाल पसेका थिए । अनि उनीहरुको शरण क्षेत्र बनेको थियो ढोरपाटन । तिब्बतदेखि ढोरसम्मको कष्टकर यात्रा, ढोरमा आइपुगेपछि भाषा, संस्कृति र रहनसहन नमिल्दाका दुःख अनि अर्काको देशमा करिब छ दशक बिताउँदाका सुखदुखका पाटाहरु कसले खोज्ने ? कसले सुन्ने ? कसले लेख्ने ? आखिर युद्धले त कसैलाई हित गर्दैन रहेछ त । आखिर किन भइरहन्छ त यो संसारमा द्वन्द्व, हिंसा र युद्ध । केही हदसम्म तिब्बतमा चर्किएको युद्ध र यसका अनगिन्ती बाछिटा ढोरका कुनाकाप्चामा भेटिन्छन् । अनि म त्यहीँ खोज्दै तिब्बती क्याम्पतिर कैयौं घण्टा हराएको थिएँ ।

ढोरपाटन शिकार आरक्ष र ढोरबासीका कुरा । के आरक्षले ढोरबासीलाई न्यान दिएको छ ? कि अधिकारबाट वञ्चित गराएका छन्? खुसी छन् कि रुष्ट छन् त ढोरबासीहरु आरक्षप्रति । म यी यावत प्रश्नहरुका उत्तरहरु खोज्न गाउँगाउँ पस्छु । बुढाबुढीका कुरा सुन्छु, युवासँग बात मार्छु अनि आरक्षका कर्मचारीका विचारलाई पनि मनन गर्छु । कति आरक्षप्रति नकारात्मक छन् त कति सकारात्मक । हाम्रा पुर्खाहरुले छाडेर गएका स्रोत सम्पतिहरु आरक्षले हडप्यो । उल्टै हामीलाई आफ्नो सम्पति प्रयोग गर्दासमेत नियम कानुनलाद्यो, यो एक जमातको गुनासाहरु थिए । अर्का एक जमात थिए, आरक्षले यहाँको वनजंगल संरक्षण गरेको छ । आरक्ष नहुँदो हो त यहाँका नाउर र घोरलहरु उहिले नै हराएर जान्थे । हाम्रा भावी सन्ततिहरुले त मात्र फोटामा देख्न पाउँथे ती सुन्दर जीवहरु । आरक्षले संरक्षणलाई मात्र नभई यहाँ रहेका स्रोतसाधनको उपयोगितालाई पनि ध्यानमा राखेर लचिलो नीतिनियम बनाउनु आवश्यक छ । स्थानीयको मन दुखाएर आरक्षले कहिल्यै आफ्नो गर्विलो इतिहास कोर्न सक्दैन, मनमा लाग्यो ।

ढोरमा कुनै समय विदेशी पर्यटकहरुको त ओइरो नै लाग्थ्यो । यही बाटो हुँदै बेनी, मुस्ताङ, डोल्पो र रुकुम निस्कने पर्यटकहरुको त भीड नै हुन्थ्यो । अनि एकाएक कसरी यहाँको पर्यटन खस्कियो, मनमा कौतुहलता जाग्यो । धेरै पहिले एक जना विदेशी पर्यटकलाई ढोरमाथिको लेकमा तीनजना स्थानीयहरुले मारेर फालिदिएका रहेछन् । कैयौं महिना बितिसक्दा पनि त्यस पर्यटकको लाससमेत भेटिएन । पछि ती मार्नेहरुबीच विवाद भएपछि यो केश आफै बाहिरियो । महिनौंपछि लास भेटिएको थियो ती पर्यटकको । त्यसपछि विदेशीहरु यहाँ आउन हच्किएको धेरैको मत छ । यहाँको चरम गरिबी, अशिक्षा र निम्म जनजीवनले पनि धेरथोर यहाँको पर्यटनमा असर पु¥याएको भेटिन्छ । यहाँको विमानस्थल सञ्चालनमा नआउनु, मिसन अस्पताल पाल्पा सर्नुका साथसाथै यहाँको कमजोर भौतिक पुर्वाधारहरु विकासका कारणले पनि ढोरले विकासमा बामे सर्न सकेन । जति एभरेष्ट र मुस्ताङ भनेर घुम्नेहरु मच्चिन्छन्, किन ढोरपाटनमा त्यो भेटिदैन् । अझै ढोर गुमनाम छ । यसलाई सबैमाझ चिनाउन नितान्त जरुरी छ । ढोर सरर बाइकमा घुमेर भोलिपल्ट फर्कने गन्तव्य हो भन्ने जुन धारणा बसेको छ आम मानिसको मनमा, यो चिर्नु छ । ढोर हप्तौं घुम्दा पनि बुझ्न नसकिने रहस्यमयी जादू हो ।

दुई हप्ताको यात्रामा ढोरको छेउटुप्पो बुझ्न र सिक्न सकिन् । सुत्तिबाङ उक्लेर ढोरको प्यानोरामिक दृश्य नियाल्नु, फाल्गुने भञ्ज्याङ कटेर सुनदहको सुन्दरतामा डुबुल्की मार्नु, माथि लेक उक्लनु, रुकमको तक्सेरको रहनसहन बुझ्नु आदि इत्यादि सपनाहरु अझै बाँकी नै रहें । आखिर समय नै बाधक बनेर आयो ।

ढोरको फाँटमा घोडाहरुमा मात्र दौडिन्छन् होला मैले सोचेथें तर म गलत रहेछु । त्यहाँ त सँगै दौडिँदा रहेछन् मानिसका अनगिन्ती सुखदुःखका दैनिकीहरु । फाँटमा सुन्दर फूलहरु मात्र फुल्दा रहेनछन्, सँगै फुल्दा रहेछन् ढोरबासीका
कैयौं दुःखैदुःखका गुच्छाहरु । कहाँ मैले कल्पेको त्यो साँघुरो ढोर ! अनि कहाँ आफ्नै आँखाले नियालेको यो बृहत ढोर । माफ गर ढोर मैले तिमीलाई कम आँकलन गरेको रहेछु । तिम्रो काखमा धीतमरुन्जेल खेल्ने रहर अझै मेटेको छैन । जाडोयाममा चाँदीका दानाजस्ता हिउँहरुसँग खेल्न तिम्रो आँगनमा फेरि आउँछु हुन्न ?

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->