‘म महानगरकै प्रतिनिधि हुँ । तर, मेरो ठाउँमा ल्यान्डफिल साइट बनाउने मलाई नै कुनै जानकारी छैन । स्थानीयको सहमति बिना काम कसरी अघि बढाउने हो ? यहाँ ल्यान्डफिल साइट बनाउन दिइयो भने त म पितृ भइसकेपछि मलाई थुक्छन् ।’
पोखरा/ पोखरामा निर्माणाधीन ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल’को लामो ताकेतापछि महानगरले ल्यान्डफिल साइट स्थानान्तरण गर्ने भएको छ । हाल पोखरा १४ मा रहेको स्यानिटरी ल्यान्डफिल साइट पोखरा १६ र २० सीमाना पस्मराङमा राख्ने महानगरको ५२ औं कार्यपालिका बैठकले निर्णय गरेको हो ।
आगामी जनवरीदेखि नयाँ विमानस्थलबाट उडान सञ्चालन गर्ने प्राधिकरणको योजना छ । हालको ल्यान्डफिल साइट विमानस्थलको नजिकै रहेको र त्यहाँ उड्ने चराका कारण ‘बर्ड हाजार्ड’ हुने भन्दै विमानस्थल आयोजनाले सुरुदेखि नै ल्यान्डफिल साइटको विकल्प खोज्न आग्रह गर्दै आइरहेको थियो ।
ल्यान्डफिल साइट सार्न विमानस्थल आयोजनाले धेरै पटक पत्राचार गर्दा पनि महानगरले बेवास्ता गर्दै आइरहेको विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले पटकपटक दोहो¥याउँदै आएका छन् । तर, महानगरले भने विमानस्थल सञ्चालन हुने दिन नजिकिँदै गर्दामात्रै नयाँ विकल्प कार्यपालिका बैठकमा पेश गरिएको हो ।
यद्यपि, त्यसभन्दा अघि पनि नयाँ ल्यान्डफिल साइट खोज्न पटकपटक समिति गठन भएका थिए । तर, ती समितिले पनि उचित सुझाव पेश गर्न नसकेपछि पछिल्लो पटक पोखरा १६ का वडाध्यक्ष जीवन आचार्यको संयोजकत्वमा समिति गठन गरिएको थियो । असार १८ गते गठित सोही समितिको सिफारिसमा पस्मराङमा पोखराको फोहोर फाल्ने स्थान बनाउने निर्णय भएको हो ।
पस्मराङमा मानवबस्ती पनि नभएको र निर्माणाधीन विमानस्थलको दूरीबाट पनि टाढा पर्ने भएकाले सोही क्षेत्र नै ल्यान्डफिल साइटका लागि उपयुक्त हुने महानगरको दाबी छ । पस्मराङ पुग्न पोखरा, भलामभन्दा करिब ५ किलोमिटर टाढा छ ।
ल्यान्डफिल साइटका लागि करिब २ सय ५० रोपनी जग्गा आवश्यक पर्ने र सो जमिन पस्मराङमा उपयुक्त भएको महानगर प्रवक्ता धनबहादुर नेपालीले बताए । उक्त स्थानमा अधिकांश व्यक्तिको जग्गासमेत पर्छ । ‘त्यहाँ करिब पौने २ सय रोपनी जग्गा व्यक्तिको नाममा छ । सरकारी करिब ७० रोपनी छ । त्यति भए हामीलाई प्रशस्तै हुन्छ भन्ने हो,’ प्रवक्ता नेपालीले भने ।
पहिले निर्णय बल्ल छलफल !
पस्मराङमा ल्यान्डफिल साइट बनाउने कार्यपालिकाको निर्णयपछि सरोकारवाला, स्थानीयबासीसँग छलफल गर्न सहजीकरण समिति गठन गरिएको छ । ५२ औं कार्यपालिका बैठकमै पोखरा १९ का वडाध्यक्ष शोभामोहन काफ्लेको संयोजकत्वमा ६ सदस्यीय सहजीकरण समिति गठन गरिएको हो ।
समितिले एकहप्ताभित्र सरोकारवाला निकाय र स्थानीयसँग छलफल गर्ने र त्यसपछि आएको प्रतिवेदनका आधारमा अन्य प्रक्रिया अघि बढाउने निर्णय भएको प्रवक्ता नेपालीले जानकारी दिए । ‘समितिले प्रस्तावित आयोजना कार्यान्वयनको खाका, वातावरण तथा सामाजिक प्रभावको न्यूनीकरण तथा स्थानीयसँग छलफल गर्नेछ,’ उनले भने, ‘समितिले एकहप्तामा सक्छौं भनेको छ । त्यसपछि आएको प्रतिवेदनका आधारमा अन्य कारवाही अघि बढ्छ ।’
प्रस्तावित ल्यान्डफिल साइट क्षेत्रमा पर्ने व्यक्तिको जग्गालाई मुआब्जा महानगरले नै व्यहोर्नेसमेत निर्णय भएको छ । जग्गा प्राप्तिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमाफर्त नेपाल सरकारलाई अनुरोध गर्ने तयारी भइरहेको प्रवक्ता नेपालीले जानकारी दिए ।
मुहान मासेर फोहोर थुपार्न दिँदैनौंः स्थानीय
नयाँ ल्यान्डफिल साइटका लागि तोकिएको पस्मराङ क्षेत्र काहुँ तथा काली खोलाको मुहान क्षेत्र पनि हो । त्यहाँको मुहानको पानी अहिले करिब ५ सय परिवारले पिउँदै आएका छन् । त्यहाँको २ वटा मुहानबाट भलाम, ¥यालेचोर, काहुँ लगायतका बासिन्दाले खानेपानी तथा सिंचाइ प्रयोग गर्दै आएका छन् ।
महानगरले स्थानीयसँग छलफल र वार्ता नगरी ल्यान्डफिल साइट बनाउने एकलौंटी निर्णय गरेको भन्दै उनीहरुले विरोध जनाएका छन् । आफूहरुले पानीको स्रोतका रुपमा पस्माङलाई प्रयोग गर्दै आइरहेको र पानीको मूल मासेर फोहोर थुपार्न नदिने बताएका छन् ।
‘यहाँको पानी पस्मराङलेमात्रै खाने होइन, पोखरा बजारसम्म पुग्छ । विकास हुनै नदिने भन्ने होइन । तर, कम्तिमा स्थानीयको पीरमर्का त बुझिदिनुपर्छ, छलफल सहमति गर्नुपर्छ,’ स्थानीय शिवप्रकाश अधिकारी भन्छन््, ‘पानीको मूल दूषितमात्रै होइन, सुक्ने गरी हामी कसरी सहमति दिने ?’
अधिकारीले पस्मराङ पोखराको माथिल्लो भेग भएकाले बर्षात्को समयमा सम्पूर्ण बस्तीलाई नै असर गर्ने दाबी गरे । ‘अहिले पो खोला सानो छ । बर्खामा उर्लिन्छ । यहाँ फोहोर थुपा¥यो भने बगेर जाने पोखरा नै हो । खानेपानीमात्रै होइन, यहाँका बचेखुचेका जमिन पनि सुख्खा पल्टिन्छ,’ उनले भने ।
करिब ४ वर्षअघि पनि पस्मराङ क्षेत्रमा महानगरले छाडाचौपाया व्यवस्थापन गर्न पस्मराङमा लगिएको थियो । तर, पछि महानगरले नै वेवास्ता गरेको भन्दै स्थानीय आन्दोलित भएपछि पोखरा १४ मा सारिएको थियो । स्थानीय छाडाचौपायालाई बेवास्ता गरेजस्तै फोहोर थुपारेपछि पनि त्यस्तै वेवास्ता हुने हो कि ! भन्नेमा सशंकित छन् ।
‘पहिले पनि छाडाचौपाया राख्ने भनेर यही क्षेत्रलाई चुनियो । व्यवस्थित तरिकाले राख्छौं भनेर हामीसँग झूठ कुरा गरियो । छाडा चौपाया जम्मै भीरमा लडेर मरे,’ स्थानीय गुरुप्रसाद आचार्यले भने, ‘त्यसको दुर्गन्ध गाउँभरि फैलियो । छाडा गाई सम्हाल्न नसक्नेले फोहोर कसरी व्यवस्थापन गर्छन् ?’
पोखरा २० का वडाध्यक्ष सीम गुरुङलेसमेत आफ्नो वडामा बनाउने निर्णय भएको ल्यान्डफिल साइटको विरोध गरेका छन् । उनले वडालाई कुनै पनि जानकारी नदिई एकलौंटी महानगरले निर्णय गरेको दाबी गरे ।
‘म महानगरकै प्रतिनिधि हुँ । तर, मेरो ठाउँमा ल्यान्डफिल साइट बनाउने मलाई नै कुनै जानकारी छैन । स्थानीयको सहमति बिना काम कसरी अघि बढाउने हो ?’ वडाध्यक्ष गुरुङले भने, ‘यहाँ ल्यान्डफिल साइट बनाउन दिइयो भने त म पितृ भइसकेपछि मलाई थुक्छन् ।’
पस्मराङमा ल्यान्डफिल साइट बन्न नदिन त्यहाँका स्थानीयले संघर्ष समिति नै बनाएका छन् । स्थानीय क्लब, आमा समूह, खानेपानी उपभोक्तासहित लगायतले मंगलबारबाट आन्दोलनको कार्यक्रम गर्ने तयारी गरेका छन् ।
हालको पोखरा १४ स्थित सेती किनारको ल्यान्डफिल साइट महानगरले २०६१ सालदेखि प्रयोग गर्दै आइरहेको छ । १५ वर्षका लागि स्थानीयसँग सहमति गरेर प्रयोग गरिँदै आइएको उक्त सहमति अवधिसमेत २ वर्षअघि नै सकिइसकेको छ ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो चरणमा जनवरी एकदेखि आन्तरिक उडान सञ्चालन गर्ने र त्यसको एक वर्षभित्र अन्तर्राष्ट्रिय उडान सुरु गर्ने नागरिक उड्ययन प्राधिकरणको योजना छ ।
असोज दोस्रो साता विमानस्थल स्थानान्तरण तथा सञ्चालन तयारी गर्न गठन गरिएको कार्यदल संयोजक विक्रम गौतमले पनि विमानस्थल अवलोकनमा गएका प्रदेश मुख्यमन्त्रीसहितको टोलीलाई पहिले आन्तरिक उडान खोलेर ‘वार्मअप’ गर्ने र त्यसपछिमात्रै अन्तर्राष्ट्रिय उडान खुला गर्न सिफारिस गरेको बताएका थिए ।





