पूर्वीय समाजको लागि ‘ब्रत’ र ‘निराहार’ बस्नु नौलो कुरा हैन । पौराणिक कालदेखि नै पूर्वीय समाजले देह र आत्मा शुद्धीको लागि ब्रतको सहारा लिने गरेको छ । पछिल्लो समयमा ब्रतलाई रुढीवादी संस्कार मान्नेहरु बढेका छन् । यद्यपि,ब्रत र निराहारको महत्व घटेको छैन । अमेरिकन अनुसन्धानदातासँगको समन्वयमा लेखहरु प्रकाशित गर्ने इन्डोक्राइन रिभ्यूमा छापिएको डाक्टर सच्चिदानन्द पाण्डाको लेख अनुसार केही दिनको फरकमा ‘निराहार’ बस्नु स्वास्थ्यको लागि फलदायीमात्रै छैन,मोटोपन घटाउन,मधुमेह र मुटुको रोगबाट बँच्न पनि सहायक हुन्छ । लेखमा पूर्वीय दर्शन अनुसार एकादशी,औंशी,पूर्णिमाजस्ता तिथिमा लिइने ब्रतको उल्लेख त छैन तर ब्रत बस्नु लाभदायी हुने उल्लेख गरिएको छ ।
‘केही दिनको अन्तरालमा गरिने निराहारले व्यक्तिको निद्रा सन्तुलित बनाउनेदेखि जीवन नै सुखमय बनाउँछ’,आलेखमा भनिएको छ,‘यसले मधुमेह र मुटुरोगको समस्या पनि घटाउँछ ।’
साल्क इन्स्टिच्यूट अफ बायोलोजिकल स्टडीमा रहेका पाण्डासहितका टोलीको अध्ययनको निष्कर्ष अनुसार मान्छेको शरीरको जिन,हार्मोन र पाचन प्रणाली २४ घण्टामा फरक–फरक हुनेगर्छ । व्यक्तिले खाने खाना र समयलाई शरीरभित्र रहेको जैविक घडीसँग समन्वय गर्न सके रोगबाट छुटकारा पाइन्छ । जतिबेला पायो त्यतिबेला खाने प्रवृत्तिले रोग बढाउने पनि अध्ययनको ठहर छ ।
उपवासका प्रकार :
१.प्रातः उपवासः बिहान र साँझको भोजन मात्र गरिन्छ ।
२.अद्धोपवासः यो उपवास गर्नेहरुको लागि साँझको भोजन त्यज्य हुन्छ ।
३.एकाहारोपवासः एकपटकको भोजनमा एउटा चिजमात्रै खाइन्छ ।
४.रसोपवासः फलफूलको रसमात्रै खाइन्छ ।
५.फलोपवासः फलफूल मात्रै खाने उपवास ।
६.दूधधोपवासः दूधमात्रै खाइन्छ ।
६.तक्रोपवासः ‘मठाकल्प’ पनि भनिने उपवासमा अमिलो र घिउ खाइँदैन ।
७.पूर्णोपवासः पानीमात्रै खाएर गरिने उपवास ।
८.लघु उपवासः तीन दिनदेखि सात दिनसम्म भोकै बसिन्छ ।
९.साप्ताहिक उपवासः एक साता भोजन लिइन्न ।
१०. कठोर उपवासः कठोर उपवासमा लामो समयसम्म भोजन लिइन्न । सन् २०१६ मा एक जापानी वैज्ञानिकले लामो उपवासले कसरी विभिन्न प्रतिक्रिया भएर विषालु तत्वहरू निकाल्ने प्रक्रिया हुन्छ र यसले शरीर स्वस्थ राख्न मद्दत गर्छ भन्ने प्रमाणित गरेर नोबेल पुरस्कार प्राप्त गरेका छन् ।
व्रतको प्रकार:
पूर्वीय दर्शनमा तीन प्रकारका उपवासको चर्चा गरिएको छ । ती हुन्–नित्य, नैमित्तिक तथा काम्य । नित्य ब्रतमा आचरण र भक्तिलाई जोड दिइन्छ भने नैमित्तिक ब्रत विशेष तिथिमा तथा कुनै कुरा प्राप्तिको लागि काम्य ब्रतको सहारा लिइन्छ ।





