‘यस्तो ठूलो बजारमा एउटा पनि सार्वजनिक ठाउँ छैन । भोलि भूकम्प जाला ! केही होला ! यो ठाउँ पुरानो महत्व बोकेको ठाउँ पनि हो । यहाँ महानगरले भवन होइन, पार्क बनाउनुपर्छ ।’
पोखरा. स्थानीय तहको चुनावसँगै पोखरा महानगरको पहिलो कार्यपालिका बैठकले महानगरको प्रशासकीय भवन नयाँ बनाउने निर्णय गरेको थियो । तत्कालीन पोखरा उपमहानगर र लेखनाथ नगरपालिका एक भएर महानगर भएसँगै चाप बढ्ने र त्यसको सहजताका लागि भन्दै नयाँ ठाउँमा कार्यालय सार्ने बैठकको पहिलो निर्णय थियो ।
हाल महानगरले पोखरा ८, न्युरोडमा रहेको तत्कालीन पोखरा उपमहानगरकै भवन प्रयोग गर्दै आइरहेको छ । योजना कार्यान्वयन गर्न पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारीको ३ सदस्यीय जग्गा खोजबिन समितिसमेत बनायो ।
उक्त समितिको सिफारिसका आधारमा महानगरले पोखरा १२, माटेपानी पशु सेवा कार्यालयको जग्गा महानगरको नयाँ प्रशासकीय भवनका लागि छनोट भयो । तर, पहिलो बैठकमै निर्णय भइसकेको उक्त योजना भने अहिलेसम्म पूरा हुन सकेको छैन ।
जग्गा प्राप्तिमा अड्चन र संघीय सरकारको बेवास्ताका कारण महानगरले नयाँ प्रशासकीय भवन बनाउन ढिलाइ भइरहेको महानगर सूचना अधिकारी भरतराज पौडेल बताउँछन् । ‘त्यो जग्गा महानगरको नाममा छैन । महानगरको नाममा ल्याउन हामीले ठूलो प्रयास ग¥यौं । तर, फाइल कहिले प्रदेशमा अड्कियो कहिले संघमा,’ उनले भने । अब मुख्य प्रशासकीय कहिले बन्छ टुंगो छैन ।
निर्णय भएको ४ वर्ष बितिसक्दा पनि प्रमुख कार्यालय बनाउने योजना, योजनामै सीमित हुन थालेपछि महानगरले अन्य महाशाखा भवन बनाउने निर्णय भने गरेको छ । महानगरले गत भदौमा पोखरा ८, नयाँबजार दलकलमार्गस्थित हाल सहरी स्वास्थ्य प्रर्वद्धन केन्द्रमा महाशाखा भवन बनाउने निर्णय गरेको हो । उक्त भवन बनाउन २२ करोड रुपैयाँ रुपैयाँ विनियोजन गरेको थियो ।
निर्णय भएको करिब एक वर्षपछि महानगरले असोज १० गते भूमिबुद्ध, ओमबुद्ध जेभीसँग १४ करोड रुपैयाँमा सम्झौता गरेको छ । सम्झौताअनुसार उक्त योजना १८ महिनाभित्र भवन बनाइसक्नुपर्नेछ । भवन ४ तले बन्ने महानगरले जनाएको छ ।
‘अहिलेको यो भवन साह्रै साँघुरो भो । नयाँ कर्मचारी थपिए, उनीहरुको व्यवस्थापन गर्नै ३, ४ महिना लाग्छ । ठाउँ साँघुरो भएकै कारण पार्किङको पनि ठूलो समस्या छ,’ महानगर सूचना अधिकारी पौडेलले भने, ‘नयाँ ठाउँमा अन्डरग्राउन्ड पार्किङसहित महाशाखा बनाउने निर्णय भएको हो । त्यहाँ भवन बनाउँदा सेवाग्राहीलाई नै सहज हुने हो ।’
सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा हाल एउटा एकतले भवन र अर्को टिनले छाएको सभाहल छ । तत्कालीन समयमा दमकल कार्यालय रहेको ती भवनलाई मर्मत गरेर ०७५ अन्तिमदेखि स्वास्थ्य केन्द्र बनाइएको हो ।
५० लाख खर्चेर मर्मत, नसकिँदै भत्काउन सुरु !
पोखरा ९ नयाँबजारमा रहेको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा पहिले महानगरले दमकल लगायतका अत्यावश्यक सवारीसाधन राख्ने गरेको गरेको थियो । सुरुमा दमकल राख्नै उक्त ठाउँ चुनिएकाले बाटोको नामसमेत ‘दमकलमार्ग’ कै रुपमा परिचित छ ।
मुख्यबजार र पायक क्षेत्र भएकाले दमकल राख्न उक्त ठाउँ प्रयोग गरिँदै आइएको थियो । तर, अहिले त्यहाँ दमकल छैनन् । त्यहाँ रहेका दमकल लगायत अत्यावश्यक सवारीसाधन नयाँबजारस्थित शान्तिवनमा सारिएको छ ।
महानगरले करिब ३ वर्षअघि दमकल सारेर त्यहाँ रहेका भवनको मर्मत गर्दै स्वास्थ्य केन्द्र बनाएको थियो । भवनको मर्मत गर्नमात्रै महानगरले करिब ५० लाख रुपैयाँ खर्चेको महानगर सूचना अधिकारी भरतराज पौडेल बताउँछन् ।
योग तथा ध्यान शिविर बनाउने भन्दै महानगरले ट्रस हलको जीर्णोद्धार गरेको थियो । तर, लाखौं रुपैयाँ खर्चेर मर्मत गरिएको उक्त ट्रस मर्मत कम्पनीले महानगरलाई हस्तान्तरण गरिनसक्दै पुनः भत्काउन सुरु गरेको छ । लाखौं खर्चेर मर्मत गरिएको एउटा भवन र ट्रस्टमा कोरोना महामारीको समयमा खोप केन्द्र पनि बनाइएको थियो ।
स्वास्थ्य प्रवद्र्धन केन्द्रमा रहेको ट्रस मर्मत गर्दागर्दै पनि छानोमा क्षति पुगेको थियो । ट्रस नजिकै रहेको रुखको हाँगा काट्नेबेला ०७६ फागुनमा रुखको हाँगा ढलेर क्षति पुगेको थियो । त्यहाँ रहेको समीको रुख काट्नेबेला क्षति पुगेको छानोको पुनः मर्मतसमेत गरेको थिएन ।
छानामा क्षति पुगेपछि बिनामर्मत नै महानगरले प्रयोग गरेपछि अहिले नयाँ भवन बनाउने भन्दै ट्रस नै भत्काउन थालिएको हो । ‘बुढो समीको रुख थियो । ढलेर टिनलाई असर पु¥याउला भनेर हाँगा काट्नेबला ‘मिसम्यानेज’ भएर छानामाथि खस्न पुग्यो,’ सूचना अधिकारी पौडेलले भने ।
स्थानीयले विरोध गरे, महानगर घेरे
स्वास्थ्य प्रवद्र्धन विकास केन्द्रमा महानगरले अत्याधुनिक भवन बनाउने भएपछि स्थानीयले विरोध गरेका छन् । पुरानो सार्वजनिक चौर र चौतारा मास्न लागेको भन्दै उनीहरुले विरोध गरेका हुन् । उनीहरुले त्यस ठाउँको संरक्षण गर्दै पार्क बनाउन माग गरेका छन् ।
पोखराको व्यस्त बजार क्षेत्र भएको र त्यसबाहेक अन्य ठाउँमा सार्वजनिक ठाउँ पनि नभएको भन्दै स्थानीयले गत असोजमा ११ गते महानगर घेराउसमेत गरेका थिए । ‘यस्तो ठूलो बजारमा एउटा पनि सार्वजनिक ठाउँ छैन । भोलि भूकम्प जाला ! केही होला ! यो ठाउँ पुरानो महत्व बोकेको ठाउँ पनि हो,’ स्थानीय गोमा प्रधान भन्छिन्, ‘यहाँ महानगरले भवन होइन, पार्क बनाउनुपर्छ ।’
विभिन्न प्राकृतिक विपत्तिबाट बच्न एक वडा एक सार्वजनिक चौरको अवधारणामा रहेर पनि उक्त ठाउँको संरक्षण गर्नुपर्ने स्थानीय श्याम थापाले बताए । ७२ सालको महाभूकम्पमा आफूहरु खुला ठाउँको खोज्दै हिँड्नु परेको स्मरण गर्दै उनले भने, ‘नगरपालिकाकै जग्गा हो, हामीलाई देऊ भनेको होइन । तर, हामी बच्ने ठाउँ पनि त हुनुप¥यो नि !’
महानगर भन्छ : अर्को उपयुक्त ठाउँ छैन
महानगरले भने अन्यत्र आफ्नो नाममा जग्गा नभएकाले सोही ठाउँ नै उपयुक्त हुने दाबी गरेको छ । बजारको केन्द्रविन्दु र खाली ठाउँ पनि भएकाले भवन निर्माणका लागि अन्यत्र उपयुक्त ठाउँ नरहेको सूचना अधिकारी भरतराज पौडेलले बताए ।
‘अरु ठाउँमा महानगरको आफ्नो जग्गा छैन । अरु ठाउँ माग्दा पनि नदिने, आफ्नै जग्गा भवन बनाउन पनि विरोध आइरहने हो भने महानगर कहिले व्यवस्थित हुने ?’ पौडेलले भने, ‘भवन कार्यविधि अनुसार नै बन्ने हो । महानगर आफू व्यवस्थित नभई पार्क बनाउन सक्दैन ।’ उक्त ठाउँमा महाशाखा भवन भने स्थानीयलाई नै सजिलो हुने भएकाले विरोध गर्नुको अर्थ नरहेको दाबी गरे ।





