पोखरा/
‘भिलिमिली झिल्का, तातो रोटी मिल्का …’
भैलो खेल्दा अधिकांश बालबालिकाहरुले फलाक्ने वाक्याशं हो,यो । तिहार वास्तवै फूल र रोटीको चाड हो । दशैंमाजस्तो तिहारमा मारकाट हुँदैन । तिहारमा थरिथरीका रोटी बनाइन्छ । र, तिहारको सबैभन्दा लोकप्रिय परिकार हो–सेलरोटी । सेलरोटी तिहारबाहेक अन्य चाडबाडमाप पनि प्रयोगमा आउँछ । सेलरोटी सुपरमार्केटदेखि सामान्य चियापसलमा पनि पाइन्छ । त्यसैले सेलरोटी पकाउने तरिका सिकाउनै पर्दैन ।
१.अनरसा
तिहारमा पकाइने अर्को लोकप्रिय रोटीको नाम हो अनरसा । अनरसा गुलियो मिठाई हो । चामलको पिठो र चिनीको समिश्रणबाट बनाइने यो परिकार छिटो बिग्रदैन ।लक्ष्मीको प्रसादको रुपमा पनि अनरसालाई लिने गरिन्छ ।
कसरी बन्छ ?
अनरसा बनाउन सबैभन्दा पहिला चामललाई भिजाइन्छ र पिसिन्छ ।पहिलापहिला भिजाएको चामललाई ढिकीमै कुटिने गरिएपनि आजकल त्यस्तो हुँदैन । पिठोमा चिनी,घ्यू मिसाएर राखिन्छ । भोलिपल्ट त्यसलाई पकाइन्छ । सामान्यतयाः अनरसा घ्यूमै पकाइन्छ ।
२. खिउनी
खिउनी कम गुलियो हुने तर स्वादिष्ट रोटीमध्येको एक हो । तिहार र चाडबाडको बेला बनाइने यो परिकार गुरुङ समुदायममा बिहान वा अन्य समयमा खाजाको रुपमा पनि प्रयोगमा आउँछ ।
कसरी बनाउने ?
खिउनी बनाउँदा चामलको पिठोलाई काँचो दूध हालेर मुछिन्छ । आवश्यकता अनुसारको दाउन (घ्यू) मिसाइन्छ । स्वाद अनुसार गुलियो राख्न सकिन्छ । मुछेको पिठोलाई खिउनी बनाउने साँचो (मसिना प्वाल भएको भाँडो) मा राखेर हातले माड्दा मसिनो लहरा निस्कन्छ । त्यसलाई आवश्यकता अनुुसार मिलाएर गोलो आकार दिइन्छ । सामान्यतयाः केराको पातमा खिउनी झारिन्छ । नटाँस्सिने भएकाले केराको पात प्रयोगमा ल्याइएको हो । गोलो बनाइएको खिउनीलाई तेल वा घ्यूमा फुराइन्छ । रातो देखिएपछि निकालिन्छ । खिउनी लामो समयसम्म नबिग्रने रोटीमध्येको एक हो ।
३.बलबारा
बलबारा नेवारी समुदायमा प्रचलित रोटी हो । चास्नीमा डुबाएर बनाइने याचे रोटी गुलियो हुन्छ । मैदाबाट बनाइने रोटी पकाइसकेपछि चास्नीमा घोल्नुपर्छ ।
कसरी बनाउने ?
मैदा र आँटामा घ्यू हालेर राम्रोसँग मुछ्ने । केहीबेर त्यत्तिकै रहन दिने । सुख्खा रोटी पकाएजस्तै बेल्नाले बेलेर गोलो बनाउने र घ्यू वा तेलमा पकाउने । पकाइसकेपछि चास्नीमा घोल्ने ।
४. फिनी
फिनी पनि मैदाबाट बनाइने मीठो रोटी हो । आजकल स्वास्थ्यलाई ध्यानमा राख्दै मैदाबाट बनाइएका परिकार कम खाने प्रचलन बढेको छ तर तिहारको बेला फिनी पकाउन भने छाडिएको छैन ।
कसरी बनाउने ?
मैदामा घ्यू हालेर राम्रोसँग मुछ्ने । फिनीमा सामान्यतयाः गुलियो राखिँदैन तर हल्ला गुलियो राख्दा फरक पर्दैन । पिठोलाई डल्लो बनाउने र बेल्ने । बेलेपछि त्यसलाई पुनः चारपाटे बनाउने र पकाउने । हल्का रातो भएपछि फिनी खानको लागि तयार हुन्छ ।
होस पु¥याउनुहोस्
तिहारमा खाइने रोटीहरुमा गुलियो र चिल्लोको मात्रा बढी हुन्छ । विभिन्न अध्ययनहरुबाट परम्परागत रुपले उत्पादित शुद्ध चिल्लोले शरीरलाई खासै बेफाइदा नगर्ने निष्कर्ष निकाले पनि मधुमेहलगायतका समस्या भएकाहरुले गुलियो र चिल्लोबाट परै रहेको रामो हुन्छ । गुलियोले शरीरमा ग्लुकोजको मात्रा बढाउँछ । चिल्लोले ग्याष्ट्रिकको समस्या निम्त्याउँछ । अतः मैदा, चिनी आदिको मिश्रणबाट बन्ने मिठाईले धेरै फाइदा गर्दैन । आजकल बजारमा चिनीरहित मिठाई पाइन्छन् तर बजारबाट किनिएका मिठाईहरुमा प्रयोग भएको चिल्लो र गुणस्तरबारे सचेत हुनु जरुरी हुन्छ ।





