मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

ढोरका चौकीनी आमा र बाको कथा

ढोरका चौकीनी आमा र बाको कथा


  • दिवस गुरुङ
  • कार्तिक १५ २०७८, सोमबार

पाँच महिना सिंगो ढोर गाउँ दुईजनाको जिम्मामा हुन्छ । बदलामा हरेक घरकाले पाँच पाथी आलु र दुई पाथी मकै वा जौ दिन्छन् । आलु नहुनुले पाँचवटा सयका नोट दिन्छन् । त्यही आलुले जाडो कटाउँछन् ।

ढोरपाटन यात्राको पाचौं दिन । चौथो दिन साइखोलाको घुङ्गरे गाउँमा रात कटाएको थिएँ । बिहानै घरघरमा दुर्गा भित्रिएको दमहा बजाएर दुईजना युवाले संकेत दिएका थिए । अनि हरेक घरकाले चामल र पैसा दिन्थे, उनीहरुलाई । अनि उनीहरु लाग्थे, अन्य गाउँभरका घरहरुमा । यो यतातिरको भिन्न चलन रहेछ । सम्झनाका लागि म फोटो र भिडियो खिच्थे– उनीहरुका ।

खाजा खाइवरी बास बसेको घरबाट निस्कँदा घडीले आठ बजाएको थियो बिहानको । मज्जाले कस्सिए तत्यही साँझसम्म पुगिन्थ्यो होला ढोरपाटन । किनकि मात्र ३० किमी पर न थियो– ढोरपाटन । तर, मलाई कत्ति पनि हतास थिएन । हतार पनि किन ? बिस्तारै घुम्दै, बुझ्दै र सिक्दै ढोरपाटन पुग्ने मेरो रहर ।आफ्नै पारामा धीतमरुन्जेल घुम्ने मनको चाहना । त्यसैले त एक्लै ढोरसम्मको यात्रा आँटेको थिएँ, त्यो पनि साइकलमा । एकल यात्राको मिठास न यही हो, न यात्रामा कसैलाई कुर्नुपर्ने न कसैले छाडेर गए भन्ने गुनासो पोख्नुपर्ने । आफ्नै मन्द गतिमा बाटो छोट्याउँदै गएँ, बिस्तारै–बिस्तारै ।

सुप्राङ खोला बेजोडले बग्दै थियो तलतल । म भने खोलाकै छेउछेउ खोलाको बहाव विपरीत माथिमाथि उक्लदै थिएँ । कतै साइकलले थामिनसक्नु उकालो आउँथ्यो । ओर्लेर ठेल्नुबाहेकको विकल्प पनि त थिएन । कहिले साइकल धकेल्दै त कहिले ठेल्दै, थोरै चलाउँदै म मध्यान्न बाह्र बजे बोबाङ पुगेको थिए ।

बोबाङ । चिटिक्क परेको सानो गाउँ । गुजुमुचुक्क परेका घरै घरहरु । अनि उस्तै चहलपहल व्याप्त थियो गाउँमा । गराभरि गाइवस्तुहरु थिए । बाटैभरि । चौरभरि । जताततै । यति धेरै भैसीं, गोरुहरु देख्दा म त अचम्म मै परँे, यति धेरै पशुपालन गर्ने यहाँका मानिसहरुले ?

बोबाङ छाडेर बिस्तारै उकालो लाग्दा बाटैभरि गाईभैंसी नै गाईभैंसी । तल बोबाङ गाउँमा देखिएकाभन्दा अझ धेरै । धपाउँदै ल्याइरहेका थिए मानिसहरु । कोही डोकाभरि सरसामान बोकेर घुमले छोपेका थिए त कोही ठेकी, मदानी अनि दही राख्ने भाडो बोकेका बूढापाकाहरु । कोही भैसींका पाडापाडी घिसार्दै थिए । केटाकेटी ससाना बाख्राका पाठापाठी काखीमा च्यापेका देखिन्थे ।

कौतुहलताले उकुसमुकुस भयो मनमा । कहाँबाट यति धेरै मानिसहरु आए होलान् है? केका लागि आए होलान् ? लाग्यो सिंगो गाउँ नै उर्लेर आएको थियो । यी यावत प्रश्नहरुको उत्तर जान्न मन लाग्यो । अनि म लागे मनका प्रश्नहरुको उत्तर खोज्न ।

बाटैमा भेटिए हिमाल वि.क. । उमेरले मात्र २२ लागेका । उनी आज बिहानै बा आमासँग ढोरपाटनको स्यालपाखे गाउँबाट औलो झरेका । अर्थात बोबाङ गाउँ । गाइवस्तु धपाउँदै ५ घण्टामा बोबाङ नजिक आइपुगेका थिए उनीहरु । बोबाङमा पनि उनीहरुको आफ्नै घर रहेछ । पछि बुझ्दै जाँदा थाहा भयो, बाटाभर भेटिएका सबै आज औलो झरेका रहेछन् । अर्थात जाडो छल्न औलो झरेका रहेछन् ।

कार्तिक लागेसँगै ढोरपाटनमा जाडो ह्वात्तै बढ्छ । मंसिरबाट त हिउँ नै पर्छ ढोर फाँटमा । जाडोयम भर सेताम्य हिउँ नै हिउँ फाँटैभरि । कम्मर–कम्मर हिउँको थुप्रो । गाईवस्तु एवं मानव जनजीवन कष्टकर बन्छ त्यहाँ । त्यसैले उनीहरु जाडो छल्न जाडो सुरु हुनु अगावै झर्दा रहेछन् तल औलोमा ।

उनीहरु मान्छन्, बुधवार र शुक्रबार औलो झर्ने शुभ साइत । यी दिनमा औलो झरे साइत जुराउनु नपर्ने । त्यसैले त्यस दिन शुक्रवार प्रायः गाउँका सबै एकैपटक बोबाङ झरेका रहेछन् । मनमा अर्को कौतुहलता जाग्यो, अनि गाउँ चाहिँ कसले रेखदेख गर्ने त ?‘गाउँ कुर्ने चौकी र चौकीनी हुन्छन् । अबको ५ महिना त हाम्रो गाउँ गौसरी आमा र हिमलाल बाले रेखदेख गर्नेछन् । ढोर पुगेपछि त्यता पस्न नभुल्नुहोला नि सर,’ हिमालले मनमा अझ उत्कुसता थपिदियो ।

º º º º ºº

दसैंको टीकाको दिन । म बिहानै ढोर फाँट अघाउन्जेल नियालेर गाउँ घुम्न निस्केको थिएँ । बाटैमा भेट भयो गणेश सर । आरक्षमा रेन्जर हुन् उनी । उनलाई पछ्याउँदै म लागे उनको घर । अर्थात स्यालपाखे गाउँ । चौकीनी बा आमाको गाउँ । बा आमासँग भेट्ने उत्सुकता ह्वात्तै बढेर आयो । म त्यसै रमाएँ ।

गणेश सरको घरमा ११ बजेको साइतमा दसैंको टीका थापियो । बा आमाबाट अनगिन्ती आशिष थापें। त्यही दिन उनका स–परिवार बोबाङ झर्नुपर्ने । दुई भाईहरु अघिअघि भंैसी र गोरुहरु धपाउँदै देउराली कटे । अनि घरको धन्दा सबै भ्याइवरी बा र आमा घोडा धपाउँदै फाँट लागे । म पनि उहाँहरुलाई पछ्याउँदै पर क्षितिजसम्म पुगेको थिए । बाटैमा देखें चौकीनी बा आमाको घर । एकछिन थकान बिसाएँ त्यहाँ ।
टीकाको दिन । मैले अन्य घरमा पनि टिका थाप्न निम्ता पाएको थिएँ । त्यसैले अर्को दिन सखारै भेट्ने बाचासहित म लागे गाउँतिर ।

º º º º ºº

सखारै अर्को दिन । म उत्तर गंगा बाराही मन्दिर दर्शन गरेर नबी गाउँ पुगें । बाटैमा बा आमालाई केही कोसेली किनें पसलमा । अनि झोलुंगे पुल तरेर लागें बा आमाको घर । स्यालपाखेमा पाखामा पारिलो घाम लागिसकेको थियो । बिहानको खाना खाइवरी घाम ताप्दै थिए बा आमा । अनि आँगनको छेउमा पलेटी कसेरी हामी गफिन थाल्यौं ।

उमेरले सत्तरी टेक्न लागिन् गौसरी आमाले । सत्तरी टेकेसँगै लठ्ठीको टेकोमा भर परेकी छिन् उनी । यहीँ फाँट र लेकबेसीँमा ८ दशक उमेर कटिसकेको पत्तै भएन बालाई । कति चाडै समय बितिगएछ, दुबैलाई यस्तै लाग्दो हो ।छोरा बुहारी नातिनातिना लिएर टीकाको दिन बिहानै बोबाङ झरेका रहेछन् । अनि घर कुर्ने जिम्मा दुई जनाको । घर मात्र हैन, सिंगो गाउँ नै दुवैको भरमा ।

गाउँ प्रायः सुनसान थियो । घरमा साथी बनेका छन् दुई बाख्रा अनि चल्ला कोरालेका कुखुराहरु । स्यालपाखे गाउँमा मात्र ४५ घरधुरी रहेका छन् । पहिला त गाउँका सबै घरका मानिसहरु यी दुईलाई जिम्मा सुम्पिएर बोबाङ झर्थे । तर, उमेर ढल्किएसँगै साँझ बिहान सबै घरहरु पुग्न शरीरले सक्दैन । त्यसैले खोला वारिका करिव बीस पच्चीस घरहरु हेर्ने र कुर्ने जिम्मा उनीहरुले निभाएका छन् ।

‘अहिले त धेरै सजिलो छ । मौसम नि ठीकै छ,’ जाडो यामको त्यो कष्टकर दिनहरु सम्झदैँ उनले भने, ‘पहिला त जाडोमा कम्मर कम्मरसम्म हिउँ थुप्रिन्थ्यो नानी ढोरमा । नजिकैको घर समेत आँखाले भेउ पाइँदैनथ्यो । बिहानबेलुका बाटाका हिउँहरु पन्छ्याउँदै गाउँ डुलेर फर्कदा एघार बजिसक्थ्यो । चुनौती चाहिँ हुन्थ्यो नि नानी एकदमै तर मलाई कहिल्यै यो सकसको विषय भएन किनकि म त यहीँ हिउँमै हुर्केको मान्छे । मलाई त प्यारो लाग्छ ढोरको हिउँ ।’
साँझ बिहान बूढाबूढी आलोपालो गाउँ घुम्छन् । घरघर पुग्छन् । ताल्चा फोडे नफोडेको राम्ररी हेर्छन् । चोरी डकैती कतै भएछ कि चेकजाँच गर्छन् । कतै त्यस्ता घटना घटेमा तुरुन्त तल बोबाङमा खबर पु¥याउनुपर्छ घरधनीलाई । आमा सम्झिन्छिन्, ‘पोहोर त यहाँ नजिकै घरमा दिउँसै तीन जना अर्को गाउँका केटाहरुले घर फोडेर घिउका डब्बाहरु चोरेर भागेका थिए । धन्न त्यतिबेला मेरो नाति केटो पनि घरै थियो । चोरेका सामानहरु नजिकै झाडीमा मिल्काएर भागे तर उनीहरु को को थिए, चिनिहालेछ नातिले । पछि उनीहरुलाई तीस हजारको कारवाही भएको थियो ।’

चोरीको खबर तल बोबाङसम्म पु¥याउन पहिला त केही दिन नै लाग्थ्यो । फोनको सुविधा थिएन न इन्टरनेट कै । आजकल त कोही कसैको फोनबाट समाचार छिनभरमै पु¥याइहाल्छन् तल । अनि तुरुन्तै घरधनी गाउँ आइपुग्छन् । चोर पत्ता लगाए, चोरीको प्रकृति हेरेर कारवाही हुन्छ । रातको समय चोरी गरे चौकीनी आमा र बाको के दोष ? उनीहरु घरमा ताला लगाएर फेरि बोबाङ झर्छन् ।

जाडोमा गाउँ रुघेको ठ्याक्कै दश वर्ष भयो दुवैको । अब त उमेरले पनि त्यति साथ दिदैन । चौकी र चौकीनी भएर गाउँ कुर्न नसकेपनि उनीहरु जाडोमा बोबाङ झर्न मनले मान्दैन । ‘हामीलाई त के जाडो हुनु । बरु बोबाङ झरेकाहरु कहिलेकाहीँ गाउँ फर्कँदा जाडोले काप्छन्,’ खिमलालले आफ्नो जन्मभूमिप्रतिको माया यसरी पोखे, ‘असी वसन्त यहीँ वनपाखा, फाँटमा बित्यो । कतै तल बजारसम्म एकदिनका लागि जाँदा पनि न्यास्रो छाउँछ मनमा । तलै बोबाङमा जाडोभरि बस्ने त सोच्न पनि सक्दिन । मलाई त जाडो प्रिय लाग्छ । मन पर्छ हिउँले फाँटहरु सेताम्य हुँदा ।’ तर आजकल धेरै वर्ष भो, मज्जाले हिउँ नपरेको । हिउँ नपर्नु सर्खाको बाली नसप्रिनु हो । त्यसैले उनी चाहन्छन्, यस वर्ष कम्मर कम्मरसम्म हिउँ परोस् । खेतबारी मज्जाले भिजोस् हिउँले । अनि उब्जनी होस् मज्जाले अर्को साल ।

साँझ बिहान गाउँ घुमेर दिनभर खेतबारीमा काम गर्छन् दुवै । ससाना दाउराका झिजाहरु बटुल्छन् । त्यहीँ झिजाले साँझ चुलो बाल्छन् । आराम गर्नु, त्यसै बस्नु आलास्य हुनु हो ठान्छन् । त्यसैले केही न केही गरेर समय कटाउँछन् दुवै । नजिकै स्याउको बोटमा हिउँ पर्दा बाख्रालाई हाल्न भनेर घाँसहरु सुकाएर राखेका छन् । गोठ छेवैमा छ जौ को नलको टौका । औलोबाट ढोर फर्किएपछि खेत जोत्दा गोरु र भैंसीका लागि बन्दोबस्त पारेका छन् ।
पाँच महिना सिंगो गाउँ उनीहरु दुई जनाको जिम्मामा । बदलामा हरेक घरकाले पाँच पाथी आलु र दुई पाथी मकै वा जौ दिन्छन् । आलु नहुनुले पाँचवटा सयका नोट दिन्छन् । त्यहीआलुले जाडो कटाउँछन् उनीहरु । मकै जौ कति घोडाका लागि दाना बनाउँछन् त कति भैँसीलाई कुडो ।

दुई घण्टा गफिएपछि भोकाएका बाख्राहरु म्या म्या कराउन थालेका थिए । उनीहरु त पारि पाखामा चर्ने समय भएछ । म साइकल लिएर ढोरपाटन कार्यालय लागेँ । बा आमा भने दुइटा बाख्रालाई डोहो¥याएर पाखातिर लागे । अबको जाडोमा हिउँ पर्दा फेरि ढोरपाटन पुग्नु छ । चौकीनी आमा र बासँग एक रात धीतमरुन्जेल बात मार्नु छ । अनि बिहानै बासँगै गाउँ पनि घुम्नु छ । ढोरपाटन घुम्नु छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->