पोखरा/ गण्डकीका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेको जीवनशैली तडक भड्कपूर्ण तथा गतिविधिहरु रहश्यमयी नै छन् । आपराधिक पृष्ठभूमिबाट राजनीतिमा आएका उनीमाथि २०७० सालमा सम्पत्ति शुद्धीकरण विभागले छानविन नै गरेको थियो । भला, उनले २०७४ सालमा विशेष अदालतबाट सफाइ पाए । काठमाडौंको ठमेलमा हप्ता उठाउने, अवैध कारोबार गर्ने तथा ठेक्कापट्टामा समेत ‘भाग’खोज्ने गरेको अभियोगमा उनी पटक–पटक पक्राउ परेका थिए ।
मन्त्री नै बनेपनि मनाङ ‘ख’बाट स्वतन्त्र सांसद बनेका उनका गतिविधि पारदर्शी नभएको आरोप लाग्दै आएको छ । भयो पनि त्यस्तै ! गण्डकीमा तेस्रोपटक खेलकुदमन्त्री बनेका उनले समयमै सम्पत्ति विवरण बुझाएनन् । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीसहितका मन्त्रीहरुले गएको भदौ ९ गते सम्पत्ति विवरण बुझाउँदा उनले ‘आफूसँग कति सम्पत्ति छ भन्ने थाहै नभएको’प्रतिक्रिया दिए ।
आफ्नो पैसा ‘केटाहरु’ ले चलाएको बताउने मन्त्री मनाङेले असोज १८ गते बुझाएको सम्पत्ति विवरणमा भने आफूलाई कृषकको रुपमा प्रस्तुत गरेका छन् ।गण्डकीको मुख्यमन्त्री कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणलाई पत्याउने हो भने मन्त्री मनाङे यतिबेला विशुद्ध राजनीतिज्ञ र किसान हुन् । उनको पोखरा–१४ मा संघर्ष गाईभैंसी फार्म रहेको छ । २० भैंसी र ५ वटा गाई रहेको सो फार्ममा ४० प्रतिशत शेयर आफ्नो भएको मनाङेको जिकिर छ ।
पैत्रिक सम्पत्तिको रुपमा ८३ तोला मुगाको माला एवं आफैले आर्जन गरेको २२ तोला सुन र ४५ तोला चाँदीलाई पनि उनले सम्पत्तिको रुपमा देखाएका छन् । सुन वैदेशिक रोजगार र व्यवसायबाट जोडेको बताएका उनले एभरेष्ट बैंकको खातामा रहेको १० लाख १० लाख ४९ हजार ५३६ रुपैयाँचाहिँ सांसद र मन्त्रीको तलब–भत्ताको रुपमा आम्दानी भएको जनाएका छन् ।
काठमाडौंको धर्मस्थलीमा प्रकाश महर्जन, श्याम महर्जन र कृष्ण महर्जनसँगको संयुक्त लगानीमा क्रमशः १ रोपनी ९ आना ४ दाम र १२ आना २ दाम एवं ४ आना जग्गामा प्रति आना ९ लाख रुपैयाँको दरले बैनापट्टा गरिएको पनि उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । यसैगरी,मकवानपुरमा मालती महतरासँगको संयुक्त लगानीमा १ रोपनी ९ आना २ दाम एवं दिरव्य गुरुङको नाममा १५ आना जग्गा रहेको छ । दिरव्य दीपक मनाङेका छोरा हुन् । यसैगरी गण्डकी एग्रोगेटको नाममा २ रोपनी ६ आना जग्गालाई पनि उनले सम्मत्तिको रुपमा देखाएका छन् । तर, ती सबै जग्गा बैनापट्टामात्रै गरिएको सम्पत्ति विवरणमा उल्लेख छ । उनले विभिन्न ४ जना व्यक्तिसँग फरक समयमा ६ करोड १० लाख रुपैयाँ ऋण लिएको र त्योमध्ये ४ करोड ७० लाख रुपैयाँ तिरिसकेको जानकारी गराएका छन् ।
कृषिमन्त्रीसँगै न ऋण न धन !
गण्डकीका भूमि व्यवस्था,कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर बुढाले गएको भदौ २१ गते मुख्यमन्त्री कार्यालयमा बुझाएको सम्पत्ति विवरणमा न जग्गा न घर नै उल्लेख गरिएको छ ।
माओवादी केन्द्रबाट सांसद र मन्त्री बनेका चन्द्रबहादुरको पुख्र्यौली घर बागलुङको ताराखोला–५,नाङी हो । सम्पत्ति विवरण अनुसार नाङीमा संगोलमा रहेको तथा पिता धनप्रसाद बुढाको नाममा रहेको घर र सो घरले चर्चेको जग्गा तथा सोही ठाउँमा रहेको जनएकता सहकारी संस्थामा १० हजार बचतबाहेक उनीसँग थप सम्पत्ति छैन । एभरेष्ट बैंकमा खाता भएपनि उनले खातामा कति पैसा छ भन्ने खुलाएका छैनन् । सम्पत्ति विवरणमा उनले लिनु र दिनु दुबै नभएको जिकिर गरेका छन् । सादगी जीवन जिउने चन्द्रबहादुर मन्त्री हुनुभन्दा अघि पोखरामामा भाडामै बस्दै आएका थिए ।





