एक चिया पसलमा केही युवा गफिदै थिए । सन्दर्भ थियो– नेपाली कांग्रेसको चौधौं महाधिवेशन । उनीहरु भन्दै थिए–के गर्ने जिम्मेवारी दिन कनिष्ठ भन्ने, काम गर्न युवा जोश भन्ने । यस्तै भइरह्यो भने, भविष्यमा कांग्रेसलाई ठूलो चोट पुग्छ । चिया गफ यतिलेमात्र सकिँदैन । ‘हिजो नेपाल विद्यार्थी संघको राजनीति गर्दा धेरै परिवर्तनको आशा गरेका थियौं । हो अब पालो हाम्रो नै हो भन्ने लाग्थ्योतर आजसम्म आइपुग्दा पैसामा धेरै कुरा जोडिएको पाउँदा दुःख लाग्छ । बेकारमा राजनीति गरिएछ भन्ने भएको छ यार ।’
यो एउटा उदाहरणमात्र हो । चियाँसँगै २–४ जना युवाहरु थिए । उनीहरुले चियाँ खादै गर्दा पुराना पुस्ताका बुढा नेता पनि देखिए । उनले हो मा हो मिलाउँदै ‘मैले यति दुःख गरेको थिएँ कि, आज सम्झदा उदेक लागेर आउँछ । हेर्नुहोस भाइहरु म भन्दा पार्टीमा कम दुःख गरेको, खाली आर्थिक कलेक्सनमा जोड दिएको, पार्टीको काम भन्दा आफनो व्यापार व्यवसायमा तल्लिन ऊ मान्छेलाई ह्वात्त कुनै लाभ हुने ठाउँमा कार्यकारी नियुक्ति गरियो । मैले अब्जेक्सन जनाएँ । मेरो केही चलेन । उल्टो पार्टीमा म पछाडी पँरे । मलाई आगामी महाधिवेशनमा देखाइदिने पो भन्न भ्याए ।’
भाइहरु आत्तिन हुँदैन भन्दै सम्झाउने शैलीमा अर्को पार्टीको जिम्मेवारीबाट नेपाली कांग्रेसमा आएकालाई झन सम्मान र उच्च पदको जिम्मेवारी दिएको उनको भनाइको सार थियो ।सोही जमघटमा अर्का व्यक्ति ‘सानो कमाइले त राजनीति नहुँदो रहेछ साथी’ भन्दै थिए । उनको धारणामा कम्तिमा महिनामा २ लाख खुद आम्दानी नभए पार्टीमा हिड्नै नसक्ने कथन सुनाएका थिए ।
कांग्रेस महाधिवेशन एवं चुनावी गतिविधिमा तीव्रता देखिएपनि सैद्धान्तिक बहस हुन नसक्दा यी भनाई र टिप्पणीहरु मननयोग्य बनेको छ । कांग्रेसका युवा नेताबाट यस्तो बहस आवश्यक छ जो कांग्रेसमा शीर्ष पदाधिकारीमाथप सैद्धान्तिक चिन्तनमा देखिएको अपेक्षा भन्दा बढी होस् ।
युवालाई जोस्याउने मात्र होइन जिम्मेवारी दिएर आत्ममूल्यांकन गर्ने अवसर प्रदान गर्ने हो । महाधिवेशनमा भावी नीति र कार्यक्रम निर्धारण गर्ने बहस हुने बेलामा यस्तो पुरानो कुरा गर्न बाध्य युवाहरुलाई दुःख मान्नु स्वभाविक पनि हो ।
गुट उपगुट छोडेर जवसम्म कांग्रेस बन्दैन तबसम्म यस्तो रोग जस्ताकोतस्तै रहिरहन्छ । राजनीतिक दलले जनहित केन्द्रित विचार र योजना नपाउँदासम्म कुनै समस्याको समाधान हुँदैन । युवालाई साधनकोरुपमा प्रयोग गर्ने अनि केही गर्छु भन्दा भन्दै जिम्मेवारी नदिने परिपाटीले युवा पुस्ताको शाख खस्कँदो छ ।
हिजो सैद्धान्तिक बहसमा बीपीको मान्यता आजपनि अनुकरणीय छ । बीपी कोइरालाले भनेजस्तै ‘व्यवहार र सिद्धान्तबीच सन्तुलन राख्नु प्रजातन्त्रवादी नेपाली कांग्रेसको कार्य प्रणाली हो । उनले सिद्धान्त प्रतिपादन गरेसँगै त्यसको भूमिका निभाउन नसक्नु आजको नेतृत्वको कमजोरी हो । राजनीतिलाई सिद्धान्त र व्यवहारको सन्तुलनमा प्रस्तुत नगर्दासम्म यी चियापसलमा भएजस्तोगफ सधँै भइरहन्छ ।
नेपाली कांग्रेसमा वैचारिक बहस र निष्कर्ष दिन युवापुस्ता सक्षम छन तर व्यक्तिलाई जोडेर उनीहरुलाई सधै पछाडि पारिन्छ । युवामा इच्छाशक्तिको खाँचो छ । चिया पसलमा होइन, कांग्रेसको नीति र योजना बनाउने ठाउँमा हुन जरुरी छ । युवामा देखिाएको उदासीनता मेट्नु पर्छ । कांग्रेसमा देखिएको गुटलाई संरक्षण दिइरहेको व्यक्ति वा नेतृत्वलाई खबरदारी गरेरै छोडनु पर्छ । नेता रिसाउँला कि भन्ने डरबाट युवा पुस्ता मुक्त हुनु पर्छ । पुरानो पुस्ताबाट सैद्धान्तिक लक्ष्य प्राप्ति गर्न युवा पुस्ताले बहस चलाउने समय आएको छ । वर्तमान गतिविधिसँगैको डिजिटल युगमा युवाले साधन र स्रोतको माध्यमबाट अघि बढ्नुपर्छ ।
सैद्धान्तिक धरातल कमजोर हुँदा दलभित्र गुट, उपगुट र फुटको राजनीति हुँदै जान्छ । युवा पुस्ता विचारको बहसमा केन्द्रित हुन जरुरी छ । कांग्रेसको १४ औं महाधिवेशनको पूर्वसन्ध्यामा ढिला नगरी युवा नेतृत्वले नीति, सिद्धान्त, कार्ययोजना र कार्यसूचीलाई बहसमा ल्याउन सके आगामी दिनमा बलियो, सक्षम र भविष्य हेर्न लायक कांग्रेस बन्ने छ ।





