काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारूढ गठबन्धन पुरै समयसम्म चल्ने बताएका छन्। उनले आउँदो चुनावसम्मै यही गठबन्धन रहने संकेत गरेका छन्।
‘गठबन्धन पुरै समय रहन्छ,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले भने, ‘गठबन्धनमा कुनै किसिमको शंका नगर्नुभए हुन्छ।’ प्रधानमन्त्री देउवा बेलायत भ्रमण गरी स्वदेश फर्किएका हुन्।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जसपा र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन छ।
प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश प्रकरणबारे भने बोल्न चाहेनन् । पत्रकार सम्मेलनको सुरुमै देउवाले कोप–२६ सम्मेलनबाहेकका अरु प्रश्न नसोध्न आग्रह गरेका थिए ।
सम्मेलनको क्रममा धेरै देशका सरकार तथा राष्ट्र प्रमुखहरुसँग विभिन्न विषयमा कुराकानी गरेको बताउँदै उनले नेपालप्रति छिमेकी भारतको सदभाव देखिएको जानकारी दिए ।





