बागलुङ/ रोटरी क्लब बागलुङको आतिथ्यता र रोटरीको ३२९२ डिस्ट्रिकको आयोजनामा बुधबारदेखि शनिबारसम्म बागलुङमा ‘रोटरी युथ लिडरसिप अवार्ड’ राइला कार्यक्रम सञ्चालन हुने भएको छ ।
रोटरी क्लब गठन भएर सञ्चालनमा आएको १५ वर्षमा यो कार्यक्रम बागलुङमा पहिलोपटक हुन लागेको क्लबका अध्यक्ष सञ्जयकुमार श्रेष्ठले बताए । यो कार्यक्रमका लागि गण्डकी प्रदेशका १० जिल्लाका १५ वटा क्लब र ती क्लबले सिफारिस गरेका कम्तिमा ६० बिद्यार्थी गरी १ सयबढीको सहभागिता हुने बताइएको छ ।
१४ देखि १४ बर्षका बालबालिकाको क्षमता प्रर्दशन गरिने कार्यक्रममा विभिन्न प्रतियोगिता समेत हुनेछन् । विशेषगरी उनीहरुको ट्यालेन्ट शो, बोल्ने कला र नयाँ कुराको खोजी जस्ता बिषय समावेश हुने राइला कार्यक्रम आयोजनाका मुल संयोजक भवनराज बरालले जानकारी दिए । संसारमा रोटरी क्लबहरु स्थापना भएको १ सय १६ बर्ष पुगेको छ । सन् १९७२ मा अष्ट्रेलियाबाट सुरु भएको राइला कार्यक्रम बालबालिका तथा युवाहरुको क्षमता बिकासको महत्वपूर्ण कडि हुने बताइएको छ ।
क्लबले सोमबार पत्रकार सम्मेलन गरेर उक्त जानकारी गराएको हो । राइला सम्पन्न गर्नकालागि क्लबले ११ वटा उपसमिति समेत गठन गरेको छ । चार दिन सम्म चल्ने कार्यक्रममा केन्द्रीय तहबाटै प्रशिक्षकहरु समेत आउनेछन् । उनीहरुले विभिन्न बिषयमा प्रशिक्षण गर्ने र बालबालिकाको क्षमताको प्रर्दशनी समेत गरिनेछ ।
५ लाख ३ हजार खर्च हुने अनुमान गरिएको यो कार्यक्रममा विभिन्न क्षेत्रबाट ६ लाख ९५ हजार रकम संकलन गर्ने र बचेको रकमबाट अन्य सामाजिक सेवाका क्रियाकलाप गर्ने लक्ष राखिएको क्लबका आर्थिक संयोजक दयाराम पौडेलले जानकारी दिए । क्लबका अध्यक्ष संजयकुमार श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष रामकृष्ण शर्माको संचालनमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका उपाध्यक्ष नविन शिसिर बिकले पनि मन्तव्य राखेका थिए ।
कार्यक्रम अवधिमा क्लबहरुका पदाधिकारी र बिद्यार्थीले मार्चपास, बागलुङ कालीका दर्शन, पञ्चकोट, लामो पुल र शालीग्राम संग्राहलय भ्रमण गर्नेछन् । यो अभियानकालागि रोटरी क्लबका राष्ट्रिय उपाध्यक्ष भरतकुमार श्रेष्ठले ५० हजारका टिसर्ट समेत सहयोग गरेका छन् ।





