मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

पर्यटनमा ध्यान दिन आवश्यक

पर्यटनमा ध्यान दिन आवश्यक


  • केदार धमला
  • कार्तिक २३ २०७८, मंगलबार

कोरोना कहरले थिलथिलिएको विश्व बिस्तारै उकासिन थालेको छ । मानिसको दैनिकी विगतभन्दा फरक बन्दै गएको छ । महामारीबाट अछुतो नरहेको नेपाल अनि पोखरा त्यत्तिकै समस्यामा छ । आन्तरिक तथा वाह्य पर्यटनबाट धानिएको पोखराको पर्यटन विकासमा अब नयाँ पनको खोजी अपरिहार्य बनेको छ ।

नेपालको पर्यटन निजी क्षेत्रको भरमा यहाँसम्म आइपुगेकोमा कुनै द्धिविधा छैन । महामारीले कोमामा पु¥याएको पर्यटन उद्योग उकास्न अब स्थानीय सरकार र संघीय सरकारले ध्यान दिन आवश्यक भइसकेको छ । सबैभन्दा पूर्वाधारलाई जोड दिँदै आएको नेपाली पर्यटन क्षेत्रले फरक स्वादमा मनोरञ्जन लिन र दिन सक्ने स्थानको पहिचानखोज्नु अनिवार्य बनेको छ । पर्यटन भन्ने बित्तिकै मानिसले घुम्ने, रमाउने, खाने, पिउनेमात्र बुझनु हुँदैन । यसले भविष्यमा पार्ने प्रभाव र सुदुर भविष्यको कल्पनासमेत गर्नुपर्छ । नेपाल बहुधार्मिक, बहुसांकृतिक, बहुआयामिक मुलुक हो । यहाँको संस्कृति अन्यत्रको भन्दा पृथक छ । संस्कृति पर्यटनको अपरिहार्य तत्व हो । संस्कृतिको तादाम्यता पर्यटनसँग जोड्दै त्यसलाई बिकाउ बनाउनेतर्फ सोच्न सके यसले पर्यटन उद्योगमा नयाँपन थप्नेछ । यो आफैमा नूतन उत्पादन बन्नेछ ।पर्यटनलाई मसिनोसँग केलाउँदै आएका पोखरेली पर्यटन व्यवसायी तथा समाजसेवी गणेशबहादुर भट्टराई यस्तै कुरामा सहमत छन । उनको भनाईमा धर्म, संस्कृति, परंम्परा बचाउन नलाग्ने हो भने पर्यटन क्षेत्र बिस्तारै कमजोर बन्दै जान्छ । नेपालले सजिलै बेच्न सक्ने प्रकृतिले दिएको उपहार हो । योबाहेक स्थानीय स्तरबाट त्यस्तो कुनै उपहार ब्राण्डकोरुपमा बन्न सकेको छैन ।

यतिखेर पोखरामा आन्तरिक पर्यटनको बाक्लो उपस्थिति छ । उपस्थितिलेमात्र पर्यटन क्षेत्र धानिने होइन । झन्डै ७ देखि १० लाखको हाराहारीमा रहेको सिंगो पोखरामा रहनेहरुको चहलपहल पनि पर्यटनमा देखिने आशा हुन् । स्थानीय सरकारले संघीय सरकारसँगको सहकार्यमा यस्ता विषयमा ध्यान दिन जरुरी छ । सबैभन्दा पहिला सुरक्षित बन्न सक्नु नै मानिसको भविष्य हो । रोगले आक्रान्त व्यक्ति घुमफिर गर्न सक्दैन अर्थात् घुम्दैन । दशैं र तिहारकोबीचको जस्तै पर्यटनलाई सधैँ चलायमान बनाउन लोकल मार्केटलाई बलियो बनाउनेतर्फ व्यवसायीले सोच्नुपर्ने समय आएको छ ।

विश्व बजारलाई सरकारले नियाल्नुपर्ने बेला भएको छ । पर्यटनबाट भएको आम्दानीले देशलाई भएको फाइदा, दक्ष श्रम शक्ति र पर्यटन व्यवसायीको हितमा सरकार नै बोल्नुपर्ने समय रहेको छ । आन्तरिक पर्यटनलाई चलायमान बनाउन ट्रेकिङरुटको राम्रो प्रबन्ध मिलाउनु पर्छ । पारिवारिक बातावरणमा सुरक्षित महशुस गर्दै यात्रा तय गर्नसक्ने बनाउनु दायित्व स्थानीय सरकारको रहन्छ ।

यसतर्फ पोखराको स्थानीय सरकारले ध्यान दिन सक्नुपर्छ । कुन तहमा उचित यात्रा राम्रो हुन्छ, यात्रा कता सुरक्षित छ, खानपानको राम्रो व्यवस्था कता छ, थोरै खर्चमा भरपुर मनोरञ्जन यात्रा कुन हो ?लगायत विषयमा पर्यटन बोर्ड तथा सरोकार निकायले सवैसामु योजनाहरु पु¥याउन आवश्यक छ । वर्तमान अवस्थाको जस्तै चल्दै जाला भन्ने मानसिकताको यात्राले पर्यटन क्षेत्र अघिबढ्न सक्दैन । भिन्नरुपले हिँड्न सकेमात्र पर्यटन क्षेत्रको विकास र फाइदा हुने देखिन्छ ।
यतिखेर पर्यटन क्षेत्रमा आईसीयूमा राखेको बिरामीलाई वार्डमा सारेको जस्तो अनुभव गरेका व्यवसायी गणेशबहादुर भट्टराईले सुरक्षित देशको पहिचान गरी पर्यटकलाई नेपाल ल्याउन नसके नेपाली व्यवसायी थप जटिलतामा धकेलिने अनुमान गर्छन । हुन पनि सरकारले यो अवस्थामा त्यस्तो देखिने गरी योजना ल्याएको छैन । खोप लगाई सुरक्षित बनेका, घुम्न सक्ने क्षमता भएका, आम्दानीको हिसावले उच्च कमाई गर्ने देशबाट पर्यटक ल्याउन नेपाली बजारमा देखिएको समस्या हल गर्नु सरकारको दायित्व हो । नेपाली बजारप्रति फैलिएको नकारात्मक सन्देश परिवर्तन गर्दै विश्व बजार कतातर्फ जाँदैछ भन्ने अध्ययन सरकारबाट हुनुपर्छ ।

यस्ता विचार र धारणा पर्यटन व्यवसायीबाट आएपनि त्यसको समाधान र उचित प्रकारको सम्बोधन हुन नसक्नु दुःखदायी अवस्था हो । पर्यटन मन्त्रायल, परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डले गहन भएर छलफल चलाउनुपर्ने समय आएको छ । यसले नेपाल र नेपालीको भविष्यलाई थप चुनौतिपूर्ण हुनबाट बचाउनसघाउ पु¥याउँदछ । पर्यटन क्षेत्रमात्र जोगाएर हुँदैन, यस क्षेत्रमा लागेको दक्ष जनशक्तिको पहिचान पनि महत्वपूर्ण बन्दै गएको छ । मजदुर रोक्न सक्ने क्षेत्र पर्यटन पनि हो । यस विषयमा सरकारको ध्यान पुग्नुपर्छ । पर्यटन विकासका पूर्वाधारलाई,शाहसिक खेललाई, ट्रेकिङ रुटलाई संरक्षण गर्दै जानुपर्छ । पर्यटन क्षेत्रलाई ध्यान दिन सक्ने हो भने देशको आर्थिक गतिविधिसँगै अनेकन विषयमा नेपालप्रति सकारात्मक सन्देश फैलँदै जान्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->