विक दम्पत्तिको १६ महिने जेठा छोरा प्रकाशको स्वास्थ्यमा पनि समस्या छ । टाउको औषतभन्दा ठूलो छ । हिँडडुल गर्न सक्दैनन् ।
तनहुँ/शान्ता विकले गएको १६ भदौमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दोस्रो सन्तान छोरा जन्माइन् । २३ वर्षीया शान्ताले सन्तान प्राप्तिको खुशी साट्न नपाउँदैछोरा बिरामी भए ।
जन्मिएको भोलिपल्टै भिडियो एक्सरे गर्दा पिसाब नली साँघुरो भएर एकातिरको मृगौला सुन्निएको चिकित्सकले सुनाए । दैलेखको ठाटीकाँध गाउँपालिका४, गैरागाउँ घर भई हाल तनहुँको शुक्लागण्डकी नगरपालिका४, दुलेगौँडामा डेरा गरी बस्दै आएकी शान्ता र श्रीमान तपेन्द्रले छोराको उपचारमा करिब एक लाख रुपैयाँ खर्च गरे ।
घर निर्माणमा ज्याला मजदुरी गर्ने तपेन्द्रले आफूसँग रकम नभएपछि २ महिने बिरामी प्रशान्तको उपचार गराउन सकेका छैनन् । सुत्केरी शान्ता दुई महिने बिरामी सन्तान काखमा च्यापेर डेरामै पिरोलिएर बस्न बाध्य छिन् ।
डेढ महिनामा छोरालाई फेरि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेर चेकजाँच गर्दा पिसाब नली साँघुरो भएकाले दुबै मृगौला सुन्निएको चिकित्सकले बताएको शान्ता बताउँछिन् । उनी भन्छिन्, ‘डेढ महिनामा दुई वटै मृगौला सुन्निएको थियो । अप्रेसन भएन, पिसाब नली साँघुरो भएको कारण पाइप राखियो । १३ दिनमा पाइप फुस्कियो ।’
दसैंको भोलिपल्ट अस्पताल लैजाँदादुईवटै पिसाब नली साँघुरो भएकाले यथाशीघ्र रकम जम्मा गर्न भनिएको तर, आफूहरुसँग नभएकोविकले गुनासो गरिन् । ‘उपचार हुन्छ कि हुन्न ?भन्दा ग्यारेन्टी लिन्नौँ हामी, कोशिस गछौं, पाइप हाल्न भनेर जवाफ दिनुभो,’ उनले भनिन् ।
अस्पतालका चिकित्सकाले राम्रो उपचार हुने भएकाले काठमाडौं लैजान सुझाएका छन् । त्यसका लागि दुईदेखि तीन लाख रुपैयाँ खर्च लाग्ने अनुमान छ । ज्याला मजदुरी गरेर जीवन गुजारा चलाउने शान्ता र तपेन्द्र दम्पत्तिको गोजीमा दाम छैन। मनकारी दाता भेटिए छोरालाई निको बनाउँला भन्ने आशमा छन्, उनीहरु ।
‘छिटो उपचार नभए मृगौला नै ड्यामेज नै हुन सक्छ रे ! पैसा नभएर काठमाडौंको हस्पिटल लान सकिएन,’ शान्ताले बिलौना गर्दै भनिन्, ‘मेरो छोरालाई बचाइदिनुस् । उपचारमा सहयोग गर्दिनुस ।’
विक दम्पत्तिको १६ महिने जेठा छोरा प्रकाशको स्वास्थ्यमा पनि समस्या छ । टाउको औषतभन्दा ठूलो छ । हिँडडुल गर्न सक्दैनन् । आर्थिक अभावले प्रकाशको पनि उपचार गर्न सकेका छैनन् । निको हुने आश भएर पनि विक दम्पत्तिसँग गोजीमा दाम छैन। दुई छोरालाई निको बनाउन विक दम्पत्तीले मनकारी दाताको हात र साथ पर्खिरहेका छन् ।





