पोखरा – नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत कास्कीमा हुने विभिन्न तहको अधिवेशनका लागि मतदानस्थल तोकिएको छ । कास्कीका निर्वाचन अधिकृतका रामचन्द्र पौडेल९आरसी पौडेल०का अनुसार सोमबार कास्की कांग्रेसका पदाधिकारी, क्षेत्र र प्रदेश सभाका सभापतिहरुसँगको संयुक्त बैठकले मतदानस्थल तोकिएको हो ।
बैठकले मंसिर ६ गते हुने कास्की क्षेत्र नं १ को क्षेत्रीय अधिवेशनको मतदानका लागि तालचोकस्थित सुभम पार्टी प्यालेस, मंसिर ३ गते हुने १ (क) को मतदानका लागि सोही सुभम पार्टी प्यालेस र १ (ख) को मतदानका लागि माटेपानीस्थित एसआर केसी क्याटरिङ तोकेको छ ।
त्यस्तै, क्षेत्र नं २ को क्षेत्रीय अधिवेशनको मतदान नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा हुनेछ । २ (क) को पोखरा विरौटा र २ (ख) को पोखरा चिप्लेढुङ्गामा रहेको पार्टी कार्यालयलाई मतदानस्थल तोकिएको छ ।
क्षेत्र नं ३ को अधिवेशनको मतदानस्थल हेमजास्थित पार्टी कार्यालयलाई तोकिएको छ । ३ (क) को लागि हेमजास्थित पार्टी कार्यालय र ३ (ख) को लागि नागडाडाँस्थित पार्टी कार्यालयलाई तोकिएको छ ।
मंसिर १० गते हुने जिल्ला अधिवेशनको मतदान पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने छ ।
कास्की कांग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको बैंठकले जिल्ला, क्षेत्र र प्रेदश सभा अधिवेशनको अघिल्लो दिन उम्मेदवार मनोनयन दर्ता गर्ने निर्णय गरेको छ ।
मंसिर ३ गते हुने प्रदेश सभा अधिवेशनका लागि २ गते, ६ गते हुने क्षेत्रीय अधिवेशनका लागि ५ गते र १० गतेको जिल्ला अधिवेशनका लागि ९ गते उम्मेदवार मनोनयन दर्ता गर्नुपर्ने छ ।





