नवलपुर/ कोरोना संक्रमणपछिको करिब २ वर्षपछि पहिलो पटक यहाको थारु गाउँमा रहेका होटलमा छपक्कै पर्यटक आएका छन् । कावासोतीको दक्षिणी गोडारमा महिलाहरुको व्यवस्थापनमा सञ्चालित थारु कम्युनिटी लजमा शनिबार र आइतबार इजरायलबाट ५२ जना पर्यटक आएका हुन । उनीहरु थारु लज र टेम्पल टाइगरमा बाँडिएर बसे ।
इजरायलबाट आएका पर्यटक सबै ६५ वर्षभन्दा माथि उमेर समूहका दम्पत्ति हुन् । फोटोग्राफीमा रुचि भएका उनीहरु विपन्न बस्तिमा स्थानीयबाट सञ्चालित होटलहरुमा अग्रीम बुकिङ गरेर बसेका हुन । थारु लजमा साँझ महिलाहरुले देखाएको सांस्कृतिक कार्यक्रमबाट उनीहरु छक्क पर्दै रमाइलो माने । थारु जलमा देखाइने सास्कृतिक कार्यक्रममा महिलाहरुले मात्र पस्किने गरेका छन ।
‘शनिबार बिहानै पैदल हिँडेर थारु गाउँ चहारेका थिए । खुब रमाइलो मानेरडुले,’ स्थानीय सन्तोष महतो भन्छन,‘सडकभरि विदेशी पर्यटक देख्न पाउदा अर्कै रमाइलो अनुभूति भयो ।’ शनिबार गोडार चोकमा भेटिएका फोटोग्राफीमा खास रुचि भएका ती पर्यटकले पाहार तपाउन घाममा बाँधिएका चौपाया र खेतमा काम गरेका किसानका फोटा बाक्लै खिचेका थिए । खेतमा काम गरिहेका ठाउँमा पर्यटक पुग्दा गाउँलेहरु ती पर्यटकलाई हेर्न झुम्मिएका थिए ।
पर्यटकको आगमनसँगै गाउँमा उत्साह जागेको स्थानीयले सुनाए । गाउँको बस्ती, रहनसहन, खेतीपाती, चौपाया पालन र नेपालीहरुको जीवनस्तरका बारेमा अभिरुचिपूर्वक सोधखोज गरेका थिए । कोरोना कहरपछि पहिलो पटक गाउँमा विदेशी पर्यटकहरु देखेपछि स्थानीय पर्यटन व्यवसायी उत्साहित भएको थारु लजका अर्का सञ्चालक जनक चौधरी बताउँछन ।
पर्यटकको आगमनले उत्साह जगाएको छ । होटलहरुमा पाहुनाको स्वागत गरिएको छ । गाउँको तरकारी फलफुल बिक्न सुरु भएको छ । दुई रातको प्याकेजमा आएका ती पर्यटकले करिब ३ लाख खर्च गरेका छन् । होटलका सञ्चालक महिला छन ।
आम्दानी महिलाद्वारा नै सञ्चालित खातामा जम्मा हुने यो लजको फरक विशेषता हो । महिलाकै व्यवस्थापनमा सञ्चालित भएकाले सबै जिम्मा महिलाहरुकै छ । यसले स्थानीय महिलाहरुमा उत्साह जगाएको अनुभव बुद्धिसेन थारुको छ । उनीहरुले थारु समुदायको लोकप्रिय खाना चिच्चर र घोँगी खाएका थिए ।
२ बिगाह क्षेत्रफलमा फैलिएको थारु जलमा ४५ पर्यटक बस्न मिल्ने व्यवस्था छ । आफ्नै अर्गानिक तरकारी उत्पादन, थारु महिलाले बुनेका हेन्डिक्राफ्टका सामान बिक्री यहाँका फरक विशेषता हुन् ।
थारु लजका सञ्चालक बुद्धिसेन थारुले इजरायली पर्यटकहरु छठ पर्वलाई लक्षित गरेर नेपाल आएको सुनाए । उनीहरु यसअघि जनकपुरधाममा छठ पर्व हेरेका थिए । यो पटक नेपाल आएका ती इजराइलीहरु नेपालको ग्रामीण भेगकोे सांस्कृतिक चलनबारे अध्ययन गर्न रुचाउने समूह परेको उनले सुनाए ।
यहाँका नाम चलेका होटलभन्दा धेरै समुदायमा महिलाद्वारा सञ्चालित होटललाई पर्यटकले प्राथामिकतामा राखेको थारुको दाबी छ । थारुले यो जलको मार्केटिङको व्यवस्थापन हेर्छन् । ती पर्यटकका गाइड सुवास खत्रीले ती पर्यटकहरुले थारु लजमा महिलाहरुले पस्केको रात्रीकालीन सांस्कृतिक कार्यक्रम औधि रुचाएको सुनाए । खत्रीका अनुसार यो पटक आएका इजरायली पर्यटक नेपालको विपन्न बस्तिमा घुम्ने र फोटो खिच्ने शौखिन पर्यटक हुन् ।
पर्यटकहरु आएको थारु कम्युनिटी लज महेन्द्रराजमार्गको कावासोती बजारबाट ७ किलोमिटर दक्षिणमा छ । दसैंपछि ती होटलमा आन्तरिक पर्यटकहरु छपक्कै आउने गरेको नन्दराम महतो बताउँछन् ।





