मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

मर्दी हिमाल पर्यटनमा युवा मोह

मर्दी हिमाल पर्यटनमा युवा मोह


  • दिवस गुरुङ
  • कार्तिक ३० २०७८, मंगलबार

पछिल्लो समय प्रायः नेपालीहरुको रोजाइ बनेको गन्तव्य हो मर्दी पदयात्रा । दसैं ताका त मर्दी उक्लनेहरुको लर्को नै लागेको थियो । पोखरा शहरबाट सबैभन्दा छोटो समयमा हिमालको काखमा लडीबुडी खेलेर फर्कन मर्दी पदयात्राबाहेक अरु गन्तव्य को नै उपयुक्त होला र ? छोटो समयमै लोकप्रिय बनेको यस पदमार्ग पछाडिका भिन्न भिन्न प्रेरणादायी कथाहरु छन् । यसपालि सुनौं, यसैमा लागेका एक युवा पर्यटन यवसायीका कथा । उनका संघर्षका व्यथा । अनि आशाका कथा । अर्थात अमृत तामाङका कथा ।

मर्दी हिमालको काखमा अवस्थित सुन्दर गाउँ हो सिदिङ । यहीँ गाउँमा २८ वर्ष अघि जन्मेका थिए अमृत तामाङ । बाल्यकाल गाउँमै बित्यो । उनले सैदीघट्टामा दश कक्षा पढेर प्लस टु का लागि पोखरा झरे । मर्दी हिमाल कै काखमा जन्मे र हुर्केर पनि मर्दी हिमाल र मर्दी पर्यटनका बारेमा भने उनी अनविज्ञ नै थिए । पर्यटन रहरको विषय पनि त थिएन उनको त्यसबेला ।

पढ्दापढ्दै इन्डियन लाहुरे बन्ने भूत चढेको थियो उनमा । पहिलो गासमा ढुंगा भनेझै उनी छनोट प्रक्रियाबाटै बाहिरिए । त्यसपछि बन्यो विदेश जाने सपना । एक ठाउँमा हैन, दुई तीन ठाउँमा उनले ट्राइ मारे । तर हात लाग्यो शून्य । ऋण काढेर लगानी गरेको पैसा दलालले झ्वाम्मै खाइहाल्यो । त्यसपछि त उनले विदेश जाने सपना सदासदाका लागि त्यागिदिए । त्यसपछि गर्ने के त ? उनी आफ्नै गाउँठाउँमा केही फरक गर्न चाहन्थे । अनि तान्यो मर्दी पर्यटनले उनको मन ।
कहिलेकाहीँ साथीभाइसँग मर्दी हिमाल छेउ उक्लेका थिए उनी । उनलाई पहिलो यात्रामै मर्दीले मोहनी लगायो । मर्दीकै काखमा सधैं रमाइरहन पाए, अरुलाई मर्दीमा धीतमरुन्जेल घुमाउन पाए ? उनले सोचे । अनि बुन्यो मर्दीको काखमा होटल बनाउने सपना ।

साल २०७३ । भर्खर भूकम्पले थला परेको देशको पर्यटन बल्ल केही बामे सर्दै थियो । मर्दी पदयात्रा विस्तारै सबै माझ चिनिन थालेको थियो । त्यतिबेला त पदमार्ग भर पर्याप्त होटलहरु पनि बनेका थिएनन् । न थिए चिया कफी पिउनका लागि पर्याप्त टि सपहरु नै । पूरा पदमार्ग भर मात्र दस पन्ध्र वटा थिए । मर्दी पर्यटनमा हात हाल्ने यहीँ नै राम्रो मौका थियो, उनलाई लाग्यो । तर यति सजिलै त कहाँ सपना पूरा हुन्थ्यो र ?

मर्दी पदमार्ग अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्दछ । त्यसैले बिना अनुमति लगानी गर्ने मुडमा थिएनन् उनी । नियमविपरीत अघि बढ्ने त उनले सोचेका पनि थिएनन् । उनीसँगै त्यहीँ समय अन्य ८/१० जनाले पनि यस पदमार्गमा नयाँ होटलहरु र टी सपहरु बनाउने सोच बनाएका थिए । तत्काल एक्याप मुख्य कार्यालयमा पुगेर टेबल वार्तासमेत गराएका थिए टोलीले । मौखिक रुपमा होटल बनाउन अनुमति प्राप्त भयो । अनि सुरु भयो लो क्याम्प गेष्ट हाउसको संघर्षको कथा ।
मर्दी पदमार्ग भर सबैभन्दा उपयुक्त ठाउँ रोज्नु थियो उनलाई । ताकि धेरैभन्दा धेरै पर्यटकहरुलाई धेरै सुविधा दिन सकुँ । त्यसैले उनले रोजे लो क्याम्प । किनकि यो सेन्टर पोइन्ट पर्न जान्थ्यो । माथि उक्लनेहरु यहाँ थकान मार्थे, लन्च खान्थे, कोही यहीँ पनि बास बस्थे भने माथि मर्दी काखमा घुमेर फर्केकाहरु यहाँ कापेका खुट्टाहरु बिसाउँथे । तातो चिसो यहीँ पिउँथे । थकान बिसाउँथे । सबैलाई पायक गर्ने ठाउँ थियो लो क्याम्प ।

सोचेजति सजिलो त कहाँ थियो र उनको यो यात्रा ? प्रथमतः सानोतिनो रकमले केही हुनेवाला थिएन । अनकन्टार ठाउँ । लगानी राम्रै लाग्नेवाला थियो । त्यसैले उनले पनि ऋण काढेर नै आँट भरे । भिरालो जमिन सम्याउनै टन्नै समय लाग्यो । अनि त्यहीँ ठाउँ लो क्याम्प गेष्ट हाउसको जग बसाले उनले । बजारबाट गिट्टी, बालुवा र छटहरु सिडिङसम्म गाडीमै ल्याए । त्यसपछि महंगो मूल्य तिरेर खच्चरले यहाँसम्म ल्याइपु¥याए । ढुवानी खर्च नै आकाश जमिनको फरक । हरेक सामानको मूल्य करिब दोब्बर नै पर्न गएको सम्झना छ उनलाई । झ्यालमा हाल्ने सिसा, बाथरुपका सामानहरु त झन् मान्छेले नै बोकेर ल्याएका कठिन दिनहरु झल्झल्ती सम्झिन्छन् उनी ।

जेनतेन सबै कुराहरु जोह गरेर काम सुरु गरे । काम थालनी गरेको करिब ६ महिना पछि अर्थात २०७४ साल पुसतिर एक्यापले नै ३५ दिनभित्र यस क्षेत्रमा बनाएका घर टहराहरु खालि गर्न भनेर सूचना टास्यो । उनी छाँगाबाट खसेझैं भए । उनी लगायत अन्यले निकायसँग अनुमति लिएरै सुरु गरेका थिए । तर लिखित सहमति नभएकाले प्रक्रिया झन् जटिल जटिल बन्दै गयो । उनीजस्तै अन्य लगानीकर्ताहरुको एउटै आवाज थियो, हामीलाई कानुनी मान्यता दिइनुपर्यो । हामी सरकारले तोकेको वार्षिक कर तिर्न तयार छौ र अन्य कानुनी मान्यताहरु प्नि पालना गर्नेछौं । तर संरक्षण क्षेत्रभित्र अवैधानिक कार्य गरेको भन्दै उनी लगायत अन्यले जनही २५ हजार जरिवाना तिरे । केही समय त निमार्णाधीन काम पनि रोकियो ।

त्यसपछि उनीहरुले पनि कानुनी उपचार रोजे । ती सबै पीडितहरुले न्यायको माग गर्दै जिल्ला अदालत पोखरामा मुद्दा दर्ता गराए । धेरै पटक गरिएका वार्ताहरु निष्कर्ष विहीन बने । चार पाचँ वर्ष बितिसक्दा पनि ती मुद्दाहरु अझै विचाराधीन अवस्था मै रहेका छन् ।

न एक्याप केही निचोड निकाल्थ्यो न अदालत नै । केही वर्ष त उनको पनि काम रोकियो । लाखौं लगानी गरिसकेको व्यवसाय त्यसै अलपत्र छाड्ने कुरा पनि भएन, उनले भने, ‘त्यतिबेला अहिलेको जस्तो धेरै होटलहरु पनि थिएनन् । हामीसँग मौखिक सहमति पनि भएको थियो । जति बनेका थिए, त्यतिलाई दर्ता गराएर आधिकारिकता गराएको भए हामी पनि ढुक्कले अघि बढ्ने थियौं । हामी पनि सरकारलाई तोकिएको कर तिथ्र्यौ । हामी पनि आधिकारिक रुपमा दर्ता गर्न पाएकोमा अझ हौसिन्थ्यौं होला । गर्व गरेर दिन रात खटिएर सुविधा दिन्थ्यौं होला पर्यटकहरुलाई’ तर सोचेजस्तो केही भएन । जग बसालिसक्यो । सिमेन्ट, बालुवा थुप्रिसकेपछि यसलाई पुरा गर्ने नै उनले सोच । सामानहरु बिग्रिन थाले, काठका सामानहरु मक्किन थाले र उनले यसलाई पूरा गर्ने नै सोचे । केही वर्षमै उनको लो क्याम्प होटल सञ्चालनमा आयो ।

त्यसपछि कति होटलहरु बने, कुनै लेखाजोखा नै छैन । न एक्यापले तथ्यांक राखेको छ न स्थानीय सरकारले । कोरोनाले थलिएको समयमा झन् भटाभट टि हाउस र होटलहरु ह्वात्तै थपिए । उनले होटल बनाउने समयमा तीन वटा रहेका होटलहरु अहिले १२ पुगेको छ, लो क्याम्पमा मात्रै । मर्दी पदमार्गमा मात्र ५० कटेका छन् । हरेक ठाउँहरुमा पनि यहीँ अनुपातमा होटलहरु अव्यवस्थित रुपमा बनेका छन् ।
मर्दी हिमाल क्षेत्रमा बनेका होटलहरु नियन्त्रण बाहिर गइसकेका छन्, न्यास्रो मुहारमा उनी भन्छन्, ‘हरेक ठाउँको होल्डिङ क्यापसिटी वा लिमिट भन्ने हुन्छ । मर्दी क्षेत्र आसपास भने त्यो थ्रेसहोल्ड क्रस भइसकेको लाग्छ । मर्दीले त्यो क्षमता पार गरिसकेको छ । कुनै पनि पूर्वाधार निमार्ण गर्नु पूर्वः प्रारम्भिव वातावरणीय परिक्षण (आइ.इ.इ) र वातावरणीय प्रभाव मूलयाङ्कन (इ.आइ.ए) आवश्यक रहन्छ । यस क्षेत्रको मामिलामा त्यो आवश्यक नै छैन । वातावरणमा त नकारात्मक असरहरु परेकै छन्, सँगै यसले निम्ताएको अनावश्यक प्रतिस्पर्धाले सबै मारमा पर्ने देखिन्छ ।’

न एक्याप जिम्मेवार देखिन्छ न स्थानीय सरकार नै । दुवै आफैंले यसको स्वामित्व ग्रहण गर्न पाए भन्ने होडबाजीले मर्दी पर्यटनको भविष्य अन्धकार देखिन्छ । जति पूर्वधार निमार्णका कार्यहरु सम्पन्न भए, अब त्यसलाई आधिकारिकता दिएर नयाँलाई रोक्नुपर्ने देखिन्छ, उनले भने, ‘सबैले भएरै यहाँ व्यवसाय गर्न आँटेका हैनन् । प्रायले ऋण काढेरै केही गर्ने सोचले लगानी गरेका हुन् । सम्बन्धित निकायहरुले यस मुद्दालाई समयमै सुल्झाउनु पर्ने थियो । अब त धेरै नै ढिला भइसक्यो । अझै पनि यस मुद्दालाई सुल्झाउन पट्टी नलागे यसले कालान्तरमा ठूलो विपत्ति निम्त्याउन सक्छ । एक त यहाँका सबै ठाउँहरु होटल र टी सपहरुले भरिन्छन् भने अनावश्यक प्रतिस्पर्धाले व्यवसायी एवं पर्यटकहरु दुवै मारमा पर्नेछन् । अर्को अर्थमा मर्दी पर्यटनको भविष्य कहालीलाग्दो देखिन्छ ।’

अहिले उनले मर्दी लो क्याम्प गेष्ट सञ्चालन गरेको पनि वर्षले त ४ नाघिसकेको छ । ५ वटा कोठाहरु, डाइनिङ र किचन रहेका छन् । एकैपटक २०÷२५ जना पाहुनालाई सत्कार गर्न सक्छन् उनले । उनी, उनका भाई र बुबाले पालैपालो होटल चलाउँछन् । साथमा केही स्टाफहरु पनि छन् । आमा, श्रीमती, बुहारी लगायत परिवार तलै सिदिङ (गाउँ) मै बस्छन् । त्यहीँ खेतीपाती गर्छन् । त्यहीँ सागपात उमार्छन् । सिजन अनुसारका सागसब्जी उत्पादन गर्छन् । त्यही ताजा अर्गानिक खान्की लो क्याम्प उक्लन्छ । अनि उनी पाहुनालाई त्यहीं पस्कन्छन् । दुध, घिउ र दही घरबाटै पु¥याइरहेका छन् । यसले दोहोरो फाइदा भइरहेको छ, घरको उत्पादन पनि बिक्री हुने र अर्गानिक खान्कीको स्वादमा रम्न पाएका छन् पाहुनाले ।

कोरोना महामारीको समयमा त लगभग दुई वर्ष नै यहाँको पर्यटन ठप्प भयो । व्यापार शून्य । बैंकको किस्ता तिर्न नसक्दाको पीडा आफ्नो ठाउँमा थियो । यता अझै एक्यापले उनीहरुको व्यवसायलाई आधिकारिकता दिएको छैन । यसको पीडा अर्को ठाउँमा छ । तर पनि उनलाई आशा छ, अब मर्दी पर्यटन छिट्टै व्यवस्थित बन्ने छ र चल्नेछ आफ्नै पुरानो लयमा ।

युवाहरु देशमै केही गर्नुपर्छ र आर्जेको सीप, जाँगर र कलालाई देशमै खर्चिनु पर्छ, उनलाई लाग्छ । विदेश जाने चक्करमा उनले आफ्नो पैसा, उर्जा र समय र्बबाद गरेकोमा अहिले पछुतो लागेको छ । उतिबेला नै यस पर्यटन क्षेत्रमा लागेको भए अझै धेरै केही गर्न सकिन्थ्यो होला उनलाई लाग्छ ।
मर्दी क्षेत्रमा अझै विद्युतको सुविधा पुगेको छैन् । त्यसैले उनी र अर्को एक होटलको सामुहिक लगानीमा तल खोलाबाट १ किलोवाटको विद्युत उत्पादन गरेर होटल झलमल्ल पारेका छन् । पाहुनाहरु मज्जाले मोबाइल एवं क्यामरा चार्ज गर्न पाउँछन् । पच्चिस सय मिटर परबाट पिउने पानी लो क्याम्पसम्म ल्याउनलाई उनी लगायत त्यहाँका व्यवसायीहरुको अथक मिहिनेत सरहनीय रहेको छ । जतिसक्दो वातावरणलाई कम असर पुगोस् भन्ने उनलाई लाग्छ । फोहोर व्यवस्थापन देखि लिएर वातावरण संरक्षणमा सक्दो प्रयास गरिनै रहेका छन् उनले ।

उनी हामी जस्ता युवाहरुका लागि प्रेरणाका पात्र हुन् । सबैले एकै क्षेत्रमा हात हाल्नु पर्छ भन्ने छैन, केही न केही गरेर देशभित्रै केही गर्न खोज्नेहरुका लागि उनी गतिलो उदाहरण बन्न सक्छन् । छिट्टै उनले कोरेको व्यवसायको बाटो चक्लिएर राजमार्ग बनोस् । मर्दी क्षेत्रमा आएका धेरै भन्दा धेरै पर्यटकहरुलाई आतिथ्य सत्कार गर्न सकुन् । सञ्चालनमा रहेको यस गेष्ट हाउसले छिट्टै आधिकारिक मान्यता पाएर ढुक्कले उनले व्यवसाय सञ्चालन गर्न सकून् । अनगिन्ती शुभकामना उनलाई ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->